मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार २५ बिहीबार ०७:००:००
Read Time : > 1 मिनेट
अर्थ

रसुवामा ढुवानी व्यवसायीको सिन्डिकेट

Read Time : > 1 मिनेट
२०७७ असार २५ बिहीबार ०७:००:००

नेपालमा यातायात क्षेत्रमा सिन्डिकेट हटेको सरकारले घोषणा गरे पनि रसुवामा भने संस्थागत रूपमै संरक्षण गरिएको छ । कोरोना महामारीबीच खुलेको रसुवागढी नाकाबाट रसुवाका कन्टेनर तथा ट्रकलाई मात्र ढुवानी गर्न दिने निर्णय उद्योग वाणिज्य संघ र रसुवा चेम्बर अफ कमर्सको रोहबरमा भएको छ । असार १५ गते कन्टेनर व्यवसायीहरूको भेलाले कोभिड–१९ को संक्रमण जोखिम रहेसम्म रसुवाका कन्टेनर र चालकले मात्र सामान ढुवानी गर्न पाउने निर्णय गरेको हो । रसुवाका २ सय ८० भन्दा बढी कन्टेनर रहेका छन् । 

नाका सञ्चालनमा आएसँगै रसुवागढी जान जिल्ला प्रवेश गरेका करिब एक दर्जन कन्टेनरलाई सामान ढुवानी गर्न नपाउने भन्दै बेत्रावतीबाटै फर्काइएको छ । अन्तर्राष्ट्रिय नाकाबाट सबैले सामान ढुवानी गर्न पाउनुपर्ने व्यवसायी सुवास तिमल्सिनाले बताए । ‘अन्तर्राष्ट्रिय नाका भनेपछि यसअघि लामो समयदेखि व्यवसाय गरिरहेका हामीले पनि ढुवानी गर्न पाउनुपर्छ,’ उनले भने, ‘रसुवाको कन्टेनर र चालक सामान पुर्‍याउन वीरगन्ज, काठमाडौंलगायतका अन्य ठाउँमा जान मिल्ने, तर अन्य जिल्लाका रसुवा जान नपाइने भन्ने कस्तो निर्णय ?’ अर्का व्यवसायी सुरेश तामाङले लामो समयदेखि व्यवसाय गर्दै आएका कन्टेनर व्यवसायीलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए । अन्तर्राष्ट्रिय नाकामा जिल्लाभन्दा बाहिरका व्यवसायीलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने रसुवाका कन्टेनर व्यवसायी टेम्पानुर्पु तामाङले बताए ।  

तर, रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले कोरोना संक्रमणमा कमी नआउन्जेलसम्म जिल्लाका कन्टेनर र चालकले मात्र सामान ढुवानी गर्न पाउने बताए । उनले भने, ‘रसुवाबाहेक बाहिरका गाडी अनि मानिसहरू यहाँ राख्न दिने अवस्था छैन, रसुवाको सकिएपछि क्रमशः नुवाकोट हँुदै अन्य जिल्लाले पनि प्राथमिकता पाउँछन् ।’  

सोमबारबाट नाका सञ्चालनमा आएसँगै बुधबारसम्म चिनियाँ पक्षका १२ वटा गाडीमा आएको सामान नेपाल भित्रिएको छ । तर, नाकासम्म व्यापारी जान नपाउँदा भन्सार जाँचपास प्रक्रिया अघि बढ्न सकेको छैन । सम्बन्धित ठाउँमा व्यवसायीहरू पुग्न नसक्दा समस्या भएको व्यवसायी धर्म पौडेलले बताए । ‘सामानहरू पुलमा ल्याएर झारिदिएको छ, त्यहाँसम्म पुग्न पनि सकिरहेको छैन, बर्सातको समय छ, पानी पर्दा सबै सामान बिग्रिन्छ,’ उनले भने । सामान सुरक्षित तरिकाले ल्याउन स्थानीय प्रशासनले पहल गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ ।  

चिनियाँ पक्षले दैनिक ४ वटा गाडीमा रसुवागढी नाकाको मितेरीपुलसम्म सामान ल्याई झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको छ । चिनियाँ पक्षले एउटा गाडीमा ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राख्ने व्यवस्था मिलाइएको छ । नेपाली पक्षले सामान लोड तथा अनलोड गर्न १५ कामदार र ढुवानी गर्न १५ जना चालक खटाएको छ । चालक र कामदारको दैनिक स्वास्थ्य परीक्षण गरिनेछ ।

मितेरीपुलसम्म आइपुगेको सामान १५ जना कन्टेनर चालकले पालैपालो पुनः ढुवानी गरेर भन्सार यार्डसम्म पुर्‍याउने काम गर्छन् । सामानको जाँचपासपछि अन्य चालकले सामान सम्बन्धित ठाउँसम्म लैजानेछन् । टिमुरेभन्दा माथि कन्टेनर चालक, कामदार, सुरक्षाकर्मी र कर्मचारीबाहेक अन्यलाई जान रोक लगाइएको छ ।

गत माघ १५ देखि नै रसुवागढी नाका बन्द रहेको थियो । चीनको केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खसेर दुर्घटनाको सम्भावना भएपछि माघ १५ गतेदेखि नै रसुवागढी नाकाबाट आवतजावत तथा आयात–निर्यात ठप्प भएको थियो । त्यसयता कोरोना संक्रमण तथा ल्होसार पर्वमा परेको लामो सार्वजनिक बिदालगायतका कारण नाका सुनसान बन्न पुगेको थियो ।