मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ असार २५ बिहीबार ०७:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिन्धुपाल्चोकमा बाढीले जम्बु बजार बगायो, दुईको मृत्यु, १८ बेपत्ता

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ असार २५ बिहीबार ०७:०५:००

सिन्धुपाल्चोकको ठाडो सिंगार्चे खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिका- ५ को जम्बु बजार बगाएको छ । भारी वर्षासँगै गएराति ११ बजे आएको बाढीले भोटेकोसी नदीलाई थुनेपछि पानीको बहाब बढेकाले जम्बु  बजार बगाएको हो । 

बाढीको वितण्डामा परेर यो समाचार तयार पार्दासम्म १८ जना बेपत्ता छन् । दुईजनाको शव फेला परेको छ ।

बाह्रबिसे नगरपालिका- ५ निवासी २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव स्थानीयले बिहान पाँच बजे नै फेला पारेका छन् । बेपत्ता भएकाहरूको खोजीकार्य जारी रहेको बाह्रबिसे नगरपालिकाका मेयर निम्फुञ्जो शेर्पाले जानकारी दिए । 

उद्धार कार्यमा सबै सुरक्षा निकायलाई परिचालन गरिएको शेर्पाले बताए । बाढीले जम्बु बजार, खाकदल बजारका १० वटा टहरा र दर्जनौँ ठाउँमा सडक बगाएको उनले बताए । जुरेमा पहिरो आएकाले अरनिको राजमार्गसमेत अवरुद्ध छ । 

साथै बाढीले मध्यभोटेकोसी जलविद्युत् आयोजनाको लजिष्टिक गोदाम बगाएको छ । कोदारी राजमार्गको जम्बुखण्ड बगाएकाले आवत-जावत बन्द छ । बाढीले सडक बगाएपछि बाह्रबिसे र तातोपानीको सम्बन्ध विच्छेद भएको छ । बाढीबाट बाँच्न सफल भएका स्थानीय गाउँभन्दा पाँच सय मिटरमाथि खेतमा गएर बसेका छन् । 

यसैगरी बाह्रबिसेका युधीर पौडेलले दिएको जानकारीअनुसार भोटेकोसी गाउँपालिकाको मार्मिङस्थित बुल्कोटे खोलाले एक घर बगाएको छ । बाह्रबिसेछेउमै रहेको खाकदल खोलामा बाढी आउँदा राति नै स्थानीय खाकदल बजार छोडेर भागेका छन् । 

भोटेकोसीमा आएको ठूलो बाढीले बाह्रबिसे तल्लो बजारकाे एक घर बगाएको छ । बाढीले मोटरेबल पुलको एक भागलाई धक्का दिइरहेकोले पुलमा पनि क्षति पुगेको छ । 

जम्बु बजार बगाएर गाउँ नै भोटेकोसीमा मिसिएपछि बाह्रबिसे बजारवासी घर छोडेर राति नै सुरक्षित ठाउँतर्फ भागेका छन् । बाढीको त्रासले लिपिङदेखि खाडीचौरसम्म रहेका तटीय क्षेत्रका स्थानीय घर छोडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।  कोदारी र अरनिको राजमार्ग ठाउँठाउँमा बगाएकोले उद्धार कार्यमा कठिनाइ भइरहेको छ । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ ।