मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
केदार दाहाल काठमाडाैं
२०७७ असार २५ बिहीबार ०६:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोरोना संक्रमित निगमका पाइलट र कर्मचारीको उपचारमा लापरबाही गरेको आरोप

पाइलटले उडान नै नगर्ने चेतावनी दिएपछि निगम व्यवस्थापनद्वारा सशस्त्रको अस्पतालबाट ह्याम्स अस्पतालमा सार्ने तयारी

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडाैं
२०७७ असार २५ बिहीबार ०६:४३:००

कोरोना संक्रमित पाइलटसहित चालकदलका सदस्यहरूको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा खराब खानेकुरा र बेड नराम्रो राखिएको भन्दै आलोचना भएपछि निगम व्यवस्थापनले ह्याम्स अस्पतालमा सार्ने भएको छ ।  

निगममा चार पाइलट र नौजना अन्य क्रू मेम्बरसहित १३ जनालाई कोरोना संक्रमण भएको छ । १३ जनालाई उडानका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । आइसोलेसनमा खानेकुरा प्लास्टिकमा दिएको, सुत्ने बेड तथा तन्नाहरू पुरानो र थोत्रो भएको तथा एकै रुममा १२ जना राखिएको थियो । क्रूहरूले फोटो तथा भिडियो व्यवस्थापनमा पठाएपछि नेतृत्वलाई बिहीबार बिहान ह्याम्स अस्पतालमा सार्ने सहमति भएको छ । 

निजी अस्पतालमा आइसोलेसनमा राख्न सरकारले हालसम्म अनुमति नदिए पनि निगम व्यवस्थापन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको विशेष आग्रहमा ह्याम्समा राख्न स्वास्थ्य मन्त्रालयले समेत सहमति दिएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको थियो । 

उपचार राम्रो नभएको गुनासो आएपछि स्वास्थ्यकै सहमतिमा ह्याम्स अस्पताल लैजाने तयारी गरेको निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले जानकारी दिए । खानेकुरादेखि बस्ने र सुत्ने व्यवस्थासमेत खराब रहेको रिपोर्टिङ भएपछि ह्याम्समा राख्न लागिएको घिमिरेले बताए । निगम व्यवस्थापनले मंगलबार आफैँ बेड सिट तथा खानेकुरा किनेर लगेको थियो ।

संक्रमितहरूले आफ्नै खर्चमा भए पनि अन्यत्र लैजान निगम व्यवस्थापनलाई आग्रह गरेका थिए । ‘आइसोलेसनमा राखिएपछि न कुनै डाक्टर चेकिङमा आएका छन्, न खान–बस्नको राम्रो व्यस्था छ,’ एक बिरामीले नयाँ पत्रिकासँग भने । निगमका सबै क्रूहरू यतिवेला सोल्टी होटेलको क्वरेन्टाइनमा बस्दै आएका छन् ।

सोही क्रममा गरिएको पिसिआर चेकजाँचका क्रममा १३ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । निगमले चार उडानपछि प्रत्येकलाई पिसिआर परीक्षण गरेर घर पठाउने गरेको छ । हाल सोल्टी होटेलमा ७० वटा रुममा पाइलट तथा एयरहोस्टेज राखिएको छ । निगमले एक टोलीमा २५ जनाको टिम बनाएर होटेलमा क्वारेन्टाइनमा राख्ने गरेको छ । १४ दिनको क्वारेन्टाइनपछि पिसिआर परीक्षण गरेर घर पठाइने गरेको छ । 

अन्तर्राष्ट्रिय उडानमा रहेका ४ जहाजका ४० पाइलट तथा दुईभन्दा बढी एयरहोस्टेजहरूले निगम नेतृत्वसँग संक्रमितको उपचारमा लापरबाही गरिए उडान नगर्ने चेतावनी दिएका थिए ।