Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
काठमाडौंको स्वयम्भू सानो भ¥याङस्थित यातायात कार्यालयमा कर बुझाउने सेवाग्राहीको भिड । सामाजिक दूरी कायम नहुँदा सरकारी कार्यालयहरू नै संक्रमण विस्तारको केन्द्र बन्ने जोखिम छ । तस्बिर : ज्ञानेन्द्र कार्की
तस्बिर : ज्ञानेन्द्र कार्की
२०७७ असार २५ बिहीबार ०४:०९:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सरकारी अड्डामै संक्रमणको जोखिम (फोटो फिचर)

Read Time : > 3 मिनेट
तस्बिर : ज्ञानेन्द्र कार्की
२०७७ असार २५ बिहीबार ०४:०९:००

कार्यालयको साँघुरो प्रांगणमा सेवाग्राही ठेलमठेल गरिरहेका हुन्छन् । आपसमा कम्तीमा दुई मिटरको दूरी कायम राख्नुपर्ने नियम भने बेवास्तामा परेको छ । 

सुरक्षाकर्मी भन्छन्, ‘सम्भव भएसम्म प्रयास गर्ने हो । हामीले थेग्नै नसक्ने भिड छ । सुरक्षित रहने आफ्नै लागि हो । हामीले भनिरहेका छौँ, तर मान्दैनन् ।’


असार मसान्त नजिकिँदै गर्दा सरकारी अड्डामा कर तिर्ने सेवाग्राही बढेका छन् । यही वेला काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर पनि बढ्दो छ । लकडाउन खुकुलो भएयता केही सरकारी कार्यालयमा देखिने सर्वसाधारणको भिडले संक्रमणलाई बेवास्ता गरिरहेको छ ।

स्वयम्भू सानो भ¥याङस्थित यातायात कार्यालय त्यसको उदाहरण हो । सवारी (मोटरसाइकल) कर बुझ्ने यो कार्यालयमा दैनिक ठूलो संख्याका सेवाग्राही जम्मा हुन्छन् । असार मसान्तपछि जरिवाना बेहोर्नुको साटो वेलैमा सवारीसाधनको कर तिर्न हतारो छ । कार्यालयको साँघुरो प्रांगणमा सेवाग्राही ठेलमठेल गर्दै कर तिर्न हतारिएका हुन्छन् । आपसमा कम्तीमा दुई मिटरको दूरी कायम राख्नुपर्ने नियम बेवास्तामा परेको छ ।

कतिपय सेवाग्राही त मास्कसमेत प्रयोग गर्दैनन् । मास्क लगाएकाहरूले पनि वेलावेलामा हात धुन र ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न भुलिरहेका छन् । कार्यालयको बार, टेबल, कुर्सी र झ्यालमा उनीहरू निष्फिक्री बस्ने र छुने गर्छन् । तर, घण्टौँ त्यहाँ बिताउँदा पनि न्यूनतम सतर्कता अपनाउँदैनन् ।

कार्यालय परिसरमा तैनाथ सुरक्षाकर्मीले ती सबै दृश्य टुलुटुलु हेरिरहेका हुन्छन् । तर, भिड घटाउने र भौतिक दूरीमा बस्न लगाउने गर्दैनन् । ‘सम्भव भएसम्म प्रयास गर्ने हो । हामीले थेग्नै नसक्ने भिड छ,’ कार्यालय परिसरमा तैनाथ महिला सुरक्षाकर्मी भन्दै थिइन्, ‘सुरक्षित रहने आफ्नै लागि हो । हामीले भनिरहेका छौँ, तर मान्दैनन् ।’

मंगलबार मध्याह्न ती सुरक्षाकर्मीसँग कुरा गरिरहँदा केही युवा ठूलो स्वरमा कराउन थाले । कर बुझाउन लाइनमै रहँदा कर्मचारीले टोकन सकिएको बताएपछि उनीहरू त्यसको विरोध गर्दै थिए । उनीहरू समूह बाँधेरै कार्यालय प्रमुखको कार्यकक्षतिर लम्किए । ती सबै दृश्य देखेपछि तनहुँका दिलबहादुर पुन कर नतिरी फर्किए । उनी भन्दै थिए, ‘यो महामारीबाट सुरक्षित रहे कर फेरि पनि तिर्न पाइन्छ ।’

कोरोना प्रसार रोक्न लकडाउन लागू भएपछि करिब तीन महिना सरकारी कार्यालय बन्द रहे । २५ जेठपछि लकडाउन खुकुलो भयो । यही मौकामा करदाता कर तिर्ने सरकारी अड्डा धाइरहेका छन् ।

भिड जम्मा हुन नदिन सरकारले कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने नबताएको पनि होइन । तर, त्यसको पालना भएको पाइँदैन । अधिकांश सरकारी कार्यालय १० देखि ५ बजेको एकै सिफ्टमा सञ्चालित छन् । सोही कारण सरकारी अड्डामा अनियन्त्रित भिड बढ्दो छ ।

‘अहिले नतिर्दा ट्राफिक प्रहरीले भेटेपिच्छे जरिवाना तिराउँछ । त्यसमाथि सवारीकरमै जरिवाना थपिन्छ,’ सानो भ¥याङस्थित यातायात कार्यालयको भिडमा भेटिएका काठमाडौं नयाँ बजारका दीपक महत भन्छन्, ‘त्यसैले जोखिम मोलेरै लाइन बसेको छु । कर तिर्छु भन्दा पनि यत्रो जोखिम उठाउनुपरेको छ ।’

ललितपुर एकान्तकुनास्थित यातायात कार्यालयमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) वितरण भइरहेको छ । एक वर्षअघि परीक्षामा सहभागी भएर नयाँ लाइसेन्स वितरण र पुरानो नवीकरण भइरहेको छ । दुई वर्षदेखि स्मार्ट लाइसेन्स कुरिरहेकाहरू त्यहाँको भिडमा भेटिन्छन् । लामो लाइनमा भौतिक दूरी भने हराएको छ ।

लाइन व्यवस्थापनका लागि एक–एक मिटरमा सेतो धर्सोमा गोलाकार नबनाएको पनि होइन । तर, सेवाग्राहीले त्यो गोलाकारमा मात्र उभिन आवश्यक ठानेकै छैनन् । गोलाकारमा मात्र उभिन आग्रह गर्ने सुरक्षाकर्मीलाई उनीहरू आँखा तरेर हेर्छन् । उनीहरूको अनुरोध त्यत्तिकै खेर जान्छ । नयाँ लाइसेन्स वितरण र नवीकरण गर्ने शाखामा पनि भिड उस्तै छ । न सेवाग्राही शारीरिक दूरीमा बस्छन्, न त कर्मचारीले त्यसमा जोड गर्छन् ।

लाइसेन्ससम्बन्धी काम गरिरहेका ठूलो भ¥याङ र सुकेधारास्थित यातायात कार्यालयको अवस्था पनि अस्तव्यस्त छ । ठूलो भ¥याङस्थित कार्यालयको गेटमा सुरक्षाकर्मीले सेवाग्राहीको तापक्रम हेर्छन् । हातमा स्यानिटाइजर लगाइदिएपछि मात्र भित्र छिर्न अनुमति दिन्छन् । कार्यालयभित्र भने पाइला टेक्न नपाइनेजस्तो भिड छ ।

सुकेधारास्थित यातायात कार्यालयमा पनि नवीकरण र नयाँ लाइसेन्सको परीक्षा चलिरहेको छ । यसअघि नै प्रक्रिया पूरा भएका लाइसेन्स वितरण भइरहेको छ । ३ असारदेखि खुलेको यो कार्यालयमा दुई सिफ्टमा सेवा दिइने सूचना टाँसिएकै छ । तर, केही दिनयता एक सिफ्टमा मात्र सेवा प्रवाह भइरहेको छ ।

चाबहिलस्थित आन्तरिक राजस्व कार्यालयमा पनि सेवाग्राहीको चहलपहल बाक्लै छ । यो कार्यालयले व्यवसायसम्बन्धी कर लिन्छ । कार्यालय प्रवेशअघि गेटमा सुरक्षाकर्मीले थर्मल गनमार्फत शरीरको ताप नाप्छन् । तापक्रम सामान्य रहेका व्यक्तिले मात्रै प्रवेश पाउँछन् । मास्क लगाउनेले मात्र भित्र प्रवेश पाउने सूचना गेटमै टाँगिएको छ । तर, प्रवेश गरेपछि मास्क लगाउने कमै भेटिन्छन् । कार्यालय परिसरको बैंक काउन्टरमा रकम भुक्तानी गर्दा मात्रै होइन, अन्य शाखामा कागजात बुझाउँदा पनि शारीरिक दूरी कायम गरेको देखिँदैन ।

 

स्वयम्भू सानो भर्‍याङस्थित यातायात कार्यालयमा कर तिर्ने सेवाग्राहीको भीड

तस्बिर : ज्ञानेन्द्र कार्की

काठमाडौं बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयबाहिर सेवाग्राही

तस्बिर : संजित परियार

डिल्लीबजारस्थित मालमोत कार्यालयमा सेवाग्राही

तस्बिर : संजित परियार