मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ असार २४ बुधबार २१:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृह मन्त्रालयले नै प्रहरीलाई कमजोर बनाएको महानिरीक्षक ज्ञवालीको आरोप 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ असार २४ बुधबार २१:५८:००

बिहीबार अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरीलाई राज्यकै विभिन्न निकायबाट हस्तक्षेप गरी कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् । केही समूह प्रहरीलाई कमजोर बनाउने खेलमा लागेको र त्यसबाट प्रहरी अधिकृतहरू प्रताडित भइरहेकाले संगठनलाई बलियो बनाउन नवनियुक्त महानिरीक्षकलाई साथ दिन उनले आग्रह गरेका छन् । 

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित बिदाइ कार्यक्रममा उनले भने, ‘आज बिदाइको यस घडीमा मैले किन पनि यस तथ्यमा जोड दिइरहेको छु भने नेपाल प्रहरीलाई एक ढिक्का र मजबुत  भएको देख्न नचाहने समूह र शक्तिहरूले सदैव यो संगठनलाई यसै गरी अनिर्णयको बन्दी बनाएर रजगज गर्न प्रयासरत रहने गरेका छन् । सरुवाका लागि, बढुवाका लागि, काजका लागि, तालिमका लागि हाम्रा कर्मचारीहरू घाइते मृगजस्तै रनवन बरालिनुपरेमा त्यो जनशक्तिको आफ्नो संगठन र नेतृत्वप्रतिको श्रद्धाभाव क्षीण हुँदै जान्छ र त्यसको पीडा अन्ततः सेवा प्रवाहमा देखिने अकर्मण्यताका कारण आमनागरिकले व्यहोर्नुपर्ने हुन्छ ।’  यसमा केही प्रहरीको पनि गल्ती भएको उनको भनाइ छ । ‘केही दोष हाम्रो पनि छ,’ उनले भने, ‘हाम्रो जनशक्तिको समस्या हामीले सम्बोधन नगरेमा उसले अनेक बाटो खोज्दै हिँड्नु स्वाभाविक पनि हो, तर केवल व्यक्तिगत हित र लाभका लागि संगठनलाई अनिर्णयको बन्दी बनाउने प्रवृत्ति र सोचले गर्दा आउने दबाबले संगठनलाई कदापि भलो गर्दैन र संगठनको कुभलो हुँदा एउटा व्यक्ति वा पात्र लाभान्वित हुनुको म कुनै ठूलो अर्थ पनि देख्दिनँ ।’ 
कुनै पनि मुलुकको शान्तिसुरक्षाको अवस्था राजनीतिक सबलतासँग जोडिएको हुने भएकाले राज्यको सुरक्षा प्रबन्धप्रति नागरिकले विश्वास गर्न छोड्नु राज्यका लागि सबैभन्दा ठूलो नैतिक चुनौती भएको ज्ञवालीले बताए । 

प्रहरीकै अभिभावकत्व गर्ने निकायबाट समेत हस्तक्षेप भइरहेको ज्ञवालीको आरोप छ । गृह मन्त्रालयतर्फ संकेत गर्नै उनले भने, ‘ नागरिक  सुरक्षा संयन्त्रको महत्त्वका बारेमा यहाँ विश्लेषण गरिरहँदा नेपाल प्रहरी भने आन्तरिक र बाह्य स्वार्थको संयोजन गर्ने निहुँमा विगतका गलत नजिरलाई पछ्याउँदा सांगठनिक मर्यादा जोगाउने अनेकौँ अवसरबाट वञ्चित हुन पुगेको छ । त्यसमा पनि हाम्रो अभिभावकत्व निर्वाह गर्नुपर्ने संस्थाले आफ्नो भूमिका बिर्सिदिनाले नेपाल प्रहरी संगठनलाई स्वार्थ समूहले कमजोर बनाउने निरन्तर प्रयास गरी रहेका हुन्छन् ।’ संगठनको व्यावसायिक निष्पक्षतासँगै कानुनी राज्यका आधारहरू मजबुत हुँदै जाने हुने र त्यसबाट राज्यकै हित हुने, तर प्रहरीका प्रशासनिक निर्णयहरूमा प्रभाव र दबाब कायम रहेमा त्यसले प्रहरीलाई आलोचनाको सिकार बनाउने र त्यो आलोचनाले अन्ततोगत्वा राज्यको विश्वसनीयता सखाप पार्ने उनको भनाइ छ । 

आफूले थोरै भए पनि प्रहरीलाई योगदान दिएको उनले बताए । ‘नेपाल प्रहरीको इतिहासको सानो कालखण्डमा यस संगठनको नेतृत्व सम्हाल्ने अवसर पाएको हुँदा मैले संगठनमा आकाश–पातालको परिवर्तन गरेँ भनेर पनि म दाबी गर्दिनँ, तर सत्य के हो भने वी ह्वाभ मुभ्ड अहेड, हामीले हिजोभन्दा आज केही छोटो दूरीको नै सही तर महत्वपूर्ण र सकारात्मक दिशातर्फको यात्रा थालनी गरेका छौँ,’ उनले भने ।  प्रहरीमा स्वार्थी प्रहरी अधिकृतहरू हाबी हुँदै गएकाेमा उनको असन्तुष्टि थियो । केही पाउनका लागि र लिनका लागि आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने पदलोलुपहरूको जमातको कमी नभएकोले इमानदार र रनवन नचाहर्ने प्रहरी कर्मचारीहरू थप प्रताडित भइरहने परिवेशलाई कम गर्न नयाँ नेतृत्वलाई साथ र सहयोग दिन समकक्षी तथा अन्य प्रहरीलाई उनले आग्रह गरेका छन् । 

३० वर्षे सेवाहदका कारण ज्ञवाली, एआइजी तारिणी लम्साल तथा डिआईजी सूर्य उपाध्यायले बिहीबार अवकाश पाउन लागेका हुन् । बिहीबारदेखि शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।