१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असार २४ बुधबार १०:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्र शाहको चियाबगानका श्रमिक आन्दोलित

Read Time : > 1 मिनेट
२०७७ असार २४ बुधबार १०:३१:००

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको झापाको दमकस्थित हिमालय–महालक्ष्मी चियाबगानका श्रमिक आन्दोलित भएका छन् । समयमा ज्याला नदिने र अन्य सुविधासमेत नदिएको भन्दै मजदुरहरू काम नै छाडेर आन्दोलनमा उत्रिएका हुन् । 

बगानमा कार्यरत चिया श्रमिकले मंगलबार कामै छाडेर बगानको कार्यालय परिसर घेराउ गरे । कोरोना महामारीको संकटको वेला पनि काम गरिरहेका मजदुरले समयमा ज्याला नपाएको गुनासो गरे । 

एक महिनाभन्दा धेरै समयसम्म काम गर्दा बल्लतल्ल १२ दिनको ज्याला पाउने गरेको मजदुरको गुनासो छ । ‘एक महिनाभन्दा धेरै काम गर्दा १२ दिनको पैसा दिन्छन् । यसरी कसरी व्यवहार चल्छ ? घरका सबै यहीँ काम गर्छौँ । यस्तो वेलामा सरसापट पनि पाइँदैन’, मजदुर कमला राई भन्छिन्, ‘सधैँ ज्याला दिने वेला यस्तै गर्छन् , मजदुर कति दिन मर्ने ?’

निरन्तर काम गर्दा पनि समयमा ज्याला नपाएकाले सहन नसकेर आन्दोलनमा उत्रनुपरेको मजदुर शर्मिला बराइली बताउँछिन् । ‘सुरुसुरुमा घरमा गएर बोलाएर काम लगाए । अहिले ज्याला दिने वेलामा यस्तो गर्छन् । भएका सेवा–सुविधा सबै काटियो । अहिले त चिया टिप्ने बोरा, त्रिपाल, गम्बुट आफैँ किन्नुपर्छ,’ उनले भनिन् ।

बगानले उनीहरूको सञ्चय कोषबापतको पैसा ६ वर्षदेखि जम्मा गरेको छैन । मजदुरको ज्यालाबाट १० प्रतिशत कटाए पनि अहिलेसम्म रकम जम्मा गरेको छैन । यो अवधिमा सबै मजदुरको एक करोडभन्दा बढी सञ्चय कोषबापतको रकम जम्मा गर्न बगान सञ्चालकसँग मजदुरले माग गरेका छन् ।

यस्तै, बगानमा लामो समय काम गरेर निवृत्त भएकाको उपदानबापतको पाँच लाख ३६ हजारभन्दा बढी रकम उपलब्ध गराउन मजदुरहरूले माग गरेका छन् । 

बगानका उपप्रबन्धक खगेन्द्र श्रेष्ठले सबै काम माथिल्लो तहबाट हुने भएकाले आफूले केही गर्न नसक्ने बताए । ‘सञ्चय कोष ६ वर्षदेखि जम्मा हुन बाँकी छ । रिटायर्ड भएर मान्छे मरिसके उपदान पाएका छैनन्,’ उनले भने, ‘मलाई पनि बगानको माया छ । यहाँ काम गरेको तीन दशक भयो । सबै समस्या मलाई थाहा छ । म माथि पुऱ्याउने काम गर्छु ।’