मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी पेरिस
२०७७ असार २४ बुधबार ०९:११:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

विश्वभर कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या पाँच लाख ३२ हजारभन्दा बढी

सङ्क्रमितको संख्या एक करोड १३ लाख, निको हुनेको संख्या ६२ लाख बढी

Read Time : > 1 मिनेट
रासस/एएफपी पेरिस
२०७७ असार २४ बुधबार ०९:११:००

विश्वभर कोभिड– १९ का कारण मृत्यु हुनेको संख्या पाँच लाख ३२ हजारभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने सङ्क्रमितको संख्या एक करोड १३ लाखभन्दा बढी पुगेको छ ।     

तर, जोन हकिन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितको संख्या एक करोड १५ लाख रहेको छ भने मृत्यु हुनेको संख्या पाँच लाख ३६ हजारभन्दा बढी पुगेको छ । त्यस्तै निको हुनेको सङ्ख्या ६२ लाखभन्दा बढी रहेको छ ।     

सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा, ब्राजिल दोस्रो, भारत तेस्रो  

विश्वमा सबैभन्दा बढी सङ्क्रमितको संख्या संयुक्त राज्य अमेरिकामा रहेको छ भने ब्राजिल दोस्रो स्थानमा रहेको छ । सङ्क्रमणका हिसाबले भारत विश्वको बढी प्रभावित मुलुकहरूमध्ये तेस्रो स्थानमा रहेको छ ।

यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि बेलायतमा बढी रहेको छ । बेलायतमा मंगलबारसम्म कुल ४४ हजार दुई सय ३६ को मृत्यु भएको छ । सङ्क्रमितको संख्या दुई लाख ८५ हजार सात सय ६८ मात्रै रहेको छ ।     

सङ्क्रमण र मृत्युका हिसाबले हेर्दा विश्वमा बढी प्रभावित अन्य मुलुकहरूमा इटली, स्पेन, रूस, पेरू, फ्रान्स, मेक्सिको र जर्मनीलगायतका मुलुकहरू रहेका छन् । विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण महामारीको अवस्था आएको घोषणा गत मार्च ११ मा गरेको थियो । सर्वप्रथम कोरोना भाइरस सङ्क्रमणको पुष्टि चीनको वुहान सहरमा भएको थियो ।     

ब्राजिलमा ६५ हजारभन्दा बढीको मृत्यु     

ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या मंगलबार ६५ हजार चार सय ८७ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ ।   मन्त्रालयका अनुसार विगत २४ घन्टामा ब्राजिलमा महामारीका कारण मृत्यु हुनेको संख्या ६ सय २० रहेको छ ।

त्यस्तै विगत २४ घन्टामा ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको संख्या थप २० हजार दुई सय २९ ले वृद्धि भएको छ । अहिलेसम्म ब्राजिलमा १६ लाख २३ हजार दुई सय ८४ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् । सोमबार ब्राजिलमा नयाँ सङ्क्रमितको संख्या २६ हजार रहेको थियो भने मृत्यु संख्या ६ सय दुई रहेको थियो ।

ब्राजिलमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमण उपचारपछि निको हुनेको संख्या नौ लाख २७ हजार दुई सय ९२ रहेको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।