मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयमा मंगलबार आयोजित एक समारोहमा लागूऔषध प्रयोगकर्ताको सर्वेक्षणसम्बन्धीको पुस्तक सार्वजनिक गर्दै । तस्वीर : रासस   
नवराज मैनाली काठमाडौं
२०७७ असार २४ बुधबार ०५:४९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हरेक दिन १८ युवा लागुऔषध दुर्व्यसनमा, लागुऔषधको मुख्य ढोका गाँजा

नेपालमा लागुऔषध दुर्व्यसनीको संख्या एक लाख ३० हजार, तर गृह मन्त्रालय भन्छ, ‘कारबाहीपछि वृद्धिदर घट्यो’

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ असार २४ बुधबार ०५:४९:००

सर्वेक्षण

नेपालमा हरेक दिन १८ जना युवायुवती लागुऔषध  दुर्व्यसनमा फस्ने गरेको गृह मन्त्रालयले गरेको सर्वेक्षणले देखाएको छ । धेरैजसो साथीभाइको दबाबमा यस्तो दुर्व्यसनमा लाग्ने गरेका छन् । केन्द्रीय तथ्यांक विभागको सहयोगमा गृह मन्त्रालयले गरेको राष्ट्रव्यापी सर्वेक्षणको नतिजा मंगलबार सार्वजनिक गरिएको हो । जसअनुसार एक वर्षमा ६ हजारभन्दा धेरै दुर्व्यसनी थपिने गरेका छन् । 

मन्त्रालयका अनुसार सर्वेक्षणमा नेपालमा एक लाख ३० हजार चार सय ३४ दुर्व्यसनी छन् । दुर्व्यसनीको वृद्धिदर ५.०६ प्रतिशत छ । जसअनुसार एक वर्षमा ६ हजार सात सय अर्थात् दैनिक १८ जना दुर्व्यसनी बढ्ने गरेका छन् । पछिल्लो सात वर्षमा ३८ हजार आठ सय ९० दुर्व्यसनी बढेको मन्त्रालयले जनाएको छ । 

विगतको तुलनामा वृद्धिदर भने घटेको मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले बताए । २०६९ मा गरिएको सर्वेक्षणमा औसत वार्षिक वृद्धिदर ११.३६ प्रतिशत थियो । ०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार पाँच सय ३४ दुर्व्यसनी थिए । ०५३ मा ४६ हजार तीन सय नौजना थिए । अघिल्लो सर्वेक्षणमा प्रयोगकर्ताको संख्या ११.३६ प्रतिशत रहेकोमा अहिले घटेर ५.०६ प्रतिशत मात्र भएको मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव झंकनाथ ढकालले बताए ।

प्रयोगकर्तामध्ये ६.६९ प्रतिशत अर्थात् आठ हजार सात सय ३२ जना महिला छन् । पुरानै वृद्धिदरअनुसार अहिले नेपालमा दुई लाख लागुऔषध प्रयोगकर्ता रहेको आकलन गरिएको थियो । तर, सर्वेक्षणमा कम देखिएको छ । लागुऔषध कारबाहीका कारण वृद्धिदर घटेको गृह मन्त्रालयको दाबी छ । 

पाका दुर्व्यसनी बढे 

०६९ को सर्वेक्षणमा लागुऔषध प्रयोगकर्तामध्ये २० देखि २४ वर्ष उमेर समूहका सबैभन्दा धेरै अर्थात् ३३.२ प्रतिशत थिए । तर, अहिले २५ देखि २९ वर्ष उमेरका प्रयोगकर्ता ३५.२ प्रतिशत छन् । १५ वर्षमुनिका दुर्व्यसनी यसअघि १.५४ प्रतिशत रहेकोमा अहिले घटेर ०.२ तथा १५ देखि १९ वर्षका यसअघि १९.९ प्रतिशत रहेकोमा हाल ७.२ प्रतिशत छन् । २० देखि २४ वर्षका ३४.३, ३० देखि ३४ वर्ष उमेरका १२.६, ३५ देखि ३९ वर्षका ६ं५ तथा ४० भन्दा बढी उमेरका ४.२ प्रतिशत लागुऔषध प्रयोगकर्ता छन् । 

साथीबाट कुलतमा फस्ने धेरै
गृहले दुई हजार दुव्र्यसनीबीच सर्वेक्षण गरेको थियो । धेरैजसोले साथीको दबाब र मनोरञ्जका लागि लागुऔषध प्रयोग गर्न सुरु गरेको बताएका छन् । त्यसपछि उत्सुकता, खुसी हुन, मानसिक तनाव कम गर्न, पारिवारिक तनाव, डिप्रेसन तथा पढाइमा समस्याका कारण दुर्व्यसनमा लागेको बताएका छन् । 

४० प्रतिशत दुर्व्यसनी बेरोजगार 

सर्वेक्षणमा ३९.७ प्रतिशत बेरोजगार रहेको मन्त्रालयले जनाएको छ । १५.९ प्रतिशत व्यापारमा, १६.६ प्रतिशत दैनिक ज्यालादारी काममा संलग्न रहेको पाइएको छ । त्यस्तै, ११.७ प्रतिशत विभिन्न किमिसको नोकरी तथा ८.७ प्रतिशत विद्यार्थी छन् । 

गाँजा : लागुऔषधको ढोका

नेपालमा गाँजालाई वैधानिकता दिन सांसदहरूले नै लबिङ गरिरहेका वेला लागुऔषध दुर्व्यसनको एउटा मुख्य कारण गाँजा नै रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागीमध्ये धेरैले गाँजाबाटै आफूहरूले लागुऔषधको प्रयोग सुरु गरेको बताएका छन् । सर्वेक्षणमा सहभागी भएका दुई हजारजनामध्ये ८४.५ प्रतिशतले आफूहरूले गाँजा सेवन गरेको जवाफ दिएका छन् । यो सर्वेक्षणले गाँजा खुला गरेमा दुर्व्यसनको अवस्था झन् भयावह हुने जोखिम देखाउने लागुऔषध नियन्त्रण ब्युरोका एक प्रहरी अधिकारी बताउँछन् । नेपालमा गाँजा सहज भएकाले गाँजा हुँदै अन्य ड्रग सेवन सुरु गर्ने सर्वेक्षणले देखाएको छ । 

नेपालमा धेरैजसोले धुुवाँबाट लागुऔषध लिने गरेका छन् । ३४.९१ प्रतिशतले धुँवाबाट, ३३.७ प्रतिशतले मुखबाट, २९.३ प्रतिशतले सुईबाट तथा २.१ प्रतिशतले सुँघेर लागुऔषध प्रयोग गर्दै आएका छन् । प्रयोगकर्तामध्ये ६८.७ प्रतिशतले साथीबाटै किन्ने गरेका छन् । ८.४ प्रतिशतले औषधि पसल तथा ७.२ प्रतिशतले अन्य पसलबाट किन्ने गरेका छन् । इन्टरनेटमार्फत समेत लागुऔषधको कारोबार हुने गरेको सर्वेक्षणले नयाँ प्रवृत्ति देखाएको छ । २.५ प्रतिशतले इन्टरनेटमार्फत खरिद गर्ने बताएका छन् । 

१० प्रतिशतको मात्र उपचार 
नेपालमा लागुऔषध दुर्व्यसनीमध्ये १० प्रतिशतले मात्र उपचार पाउने गरेका छन् । राज्यले उपचारको व्यवस्था गर्न नसक्दा पनि दुव्र्यसनी बढेको औँल्याएको छ । सुधार केन्द्रहरू थोरै भएको र महँगो हुने भएकाले धेरै दुर्व्यसनीले त्यहाँ उपचार गर्न सक्दैनन् । अर्काेतर्फ कम हानि हुने लागुऔषधमार्फत हुने उपचार विधि पनि थोरैले मात्र पाएको सर्वेक्षणमा औँल्याएको छ । 

‘कोरोनाजस्तै जोखिम’ 
गृहमन्त्री रामबहादुर थापा बादलले सर्वेक्षण सार्वजनिक गर्दै कोरोनाजस्तै लागुऔषध दुव्र्यसन पनि फैलँदै गएको र यो समाजका लागि निकै जोखिमपूर्ण भएको बताए । लागुऔषध विकास र संस्कृतिकै लागि चुनौती भएकाले यसको नियन्त्रणलाई मन्त्रालयले प्रमुख प्राथमिकतामा राखेको उनको भनाइ छ । गृहसचिव महेश्वर न्यौपानेले आगामी दिनमा नीति बनाउन यो सर्वेक्षण महत्वपूर्ण आधार हुने बताए । 

६ वर्षमा २४ हजार लागुऔषध कारोबारी पक्राउ 

पछिल्लो ६ वर्षमा नेपालमा २४ हजार एक सय २५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । यो अवधिमा लागुऔषधसम्बन्धी मुद्दा दोब्बर भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७१/७२ एक हजार अठ सय ८० मुद्दा चलेकोमा दुई हजार आठ सय ५७ जना पक्राउ परेका थिए । ०७२/७३ मा एक हजार नौ सय ७६ मुद्दामा तीन हजार ९८, ०७३/७४ मा दुई हजार चार सय ६७ मुद्दामा तीन हजार ६ सय सात जना पक्राउ परेका थिए । त्यस्तै ०७४/७५ मा चार हजार सात सय ५७ जना पक्राउ परेकोमा तीन हजार ८८ मुद्दा चलेको थियो । ०७५/७६ मा पाँच हजार पाँच सय ५८ जना पक्राउ परेकामा तीन हजार सात सय सातविरुद्ध मुद्दा चलेको छ । चालू आर्थिक वर्षको जेठसम्म चार हजार दुई सय ५१ पक्राउ परेको र दुई हजार सात सय १६ वटा मुद्दा चलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

सर्वेक्षण लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि कोसेढुंगो : झंकनाथ ढकाल
प्रमुख, लागुऔषध नियन्त्रण शाखा, गृह मन्त्रालय 

गृह मन्त्रालयले झन्डै दुई वर्षअघिदेखि यो सर्वेक्षणको तयारी गरेको थियो । यसका लागि तीनवटा समिति बने । सहसचिवको नेतृत्वमा निर्देशन समिति बन्यो । तथ्यांक विभागको नेतृत्वमा प्राविधिक तथा मन्त्रालयकै उपसचिवको नेतृत्वमा कार्यदल बन्यो । यसका लागि विस्तृत पूर्वतयारी भएको छ । सुरुमै प्रश्नावलीसमेत टेस्ट गराएर स्वीकृत गरिएको थियो ।

गणकका रूपमा खटिएकाहरू धेरै पहिलाका लागुऔषध दुर्व्यसनीहरू थिए । जसकारण उनीहरूबाट यथार्थपरक विवरण संकलन भएको छ । उपचारमा आउने दुर्व्यसनीबाट विवरण तथ्यांकहरू लिएर ४३ जिल्लामा गणकहरू खटाएर लामा प्रश्नसहित सर्वेक्षण गरेका हौँ ।

प्रभावकारी बनाउन सर्वेक्षणमा सहभागीलाई हामीले प्रतिव्यक्ति तीन सय रुपैयाँ दिएका छौँ । बाहिर खुल्न नचाहने व्यक्तिहरूमा सर्वेक्षण गर्नु निकै चुनौतीपूर्ण हो । त्यसकारण एकदमै जानकार गणकहरू खटाएका हौँ । तथ्यांकलाई सफ्टवेयरमार्फत विश्लेषण गरेका हौँ । प्रतिवेदन लेखन हामी आफैँले गरेका हौँ । यो सर्वेक्षणको राष्ट्रसंघीय निकायहरूले पनि प्रशंसा गरेका छन् । यो सर्वेक्षण लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि कोसेढुंगो हुने हाम्रो आकलन छ ।