मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
आठबीसकोट नगरपालिकाको कार्यालय माथिबाट खसेको पहिरो । 
मनीष खड्का रुकुम पश्चिम
२०७७ असार २३ मंगलबार १७:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले स्वास्थ्य चौकी भवन पुऱ्यो, नगरपालिका भवन जोखिममा 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ असार २३ मंगलबार १७:३२:००

चौरजहारी नगरपालिका– १४ स्थित स्वास्थ्य चौकी भवन पहिरोले पुरेको छ । साक्चाखोलामा रहेको चारकोठे स्वास्थ्य चौकी भवन सोमबार राति खसेको पहिरोले पुरेको हो ।

पहिरोले भवनसहित स्वास्थ्य चौकीका सबै औषधिसहित अन्य सामग्रीमा पुरेको स्वास्थ्य चौकी इन्चार्ज छवि खड्काले जानकारी दिए । केही औषधि र सामान भने निकालिएको उनको भनाइ छ । भवन पहिरोले पुरिएपछि स्थानीयको घरमा कोठा भाडामा लिएर सेवा दिइरहेको इन्चार्ज खड्काले बताए ।

स्वास्थ्य चौकी भवनमाथि रहेको पाखो भिरालो जमिन डोजर लगाएर सम्याई पर्खाल लगाएको र सोही भाग खसेर स्वास्थ्य चौकी भवन पुरिएको हो । इन्चार्ज खड्काका अनुसार भवन मर्मत गर्न सकिने अवस्था नरहेको र अब नयाँ भवन बनाउनुको विकल्प नभएको बताए ।  वडाध्यक्ष अतिराम विष्टका अनुसार नगरका विभिन्न वडामा पहिरोको जोखिम बढेको छ । ठूलो बिरालगाउँकी सुधा खड्काको घर पहिराले पुरेको र सानो बिरालगाउँका १० घर पहिरोको उच्च जोखिममा रहेको उनको भनाइ छ । 

नगरपालिकाको भवन पनि पहिरोको जोखिममा 
आठबिसकोट नगरपालिकाको कार्यालय भवन पनि पहिरोको उच्च जोखिममा परेको छ । वडा नम्बर ९ को राडीबजारनजिकै रहेको कार्यालय भवनमाथिको राडीपाखाबाट निरन्तर माटो खसिरहेको छ  । कार्यालयलाई गिजागाड खोलाको समेत जोखिम छ । गत वर्ष खोलामा आएको बाढी नगरपालिकामा पस्दा सामान्य क्षति भएको थियो ।