१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मिना बुढाथोकी सल्यान
२०७७ असार २३ मंगलबार १६:११:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्सेनि कपुरकोट बजार भासिँदै गएपछि स्थानीय त्रसित

Read Time : > 1 मिनेट
मिना बुढाथोकी सल्यान
२०७७ असार २३ मंगलबार १६:११:००

कपुरकोट गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र कपुरकोट बजार बर्सेनि भासिँदै गएको छ । वर्षात् सुरु भएसँगै पहिरोले माटो बगाउन थालेपछि सडक आसपासका घरका स्थानीय त्रसित बनेका छन् । कपुरकोट गाउँपालिकाको वडा नम्बर ३ मा सडक भासिएर करिब ६ मिटर तल पुगेको छ । बजारकै छेउमा रहेका घरहरू जमिन भासिएकै कारण ढल्केका छन्  । त्यही ढल्केको घरहरूमा करिब २० वर्षदेखि त्रासपूर्ण जीवन बिताइरहेका छन् यहाँका स्थानीय । 

करिब १ सयभन्दा बढी घरधुरीहरू पहिरोको पिरमा पिरोलिइरहेको वर्षौं भइसक्यो । न उनीहरू ठाउँ छोडेर अन्त जान सके न त राज्यले कुनै वैकल्पिक व्यवस्थापनका लागि पहल गरेको छ । पहिरोले यहाँका विद्यालयसमेत भासिएपछि विद्यालयलाई स्थानान्तरण गरिएको छ ।  

 

 

जमिनमुनिबाट माटो बगिरहने समस्याका कारण सल्यानको कपुरकोट बजारको सडकसँगै बजारै बगाउने खतरा बढेको छ । तीन दशकअघि झरेको बजारमुनिको खारा पहिरो अहिलेसम्म नियन्त्रणमा नआउँदा जोखिम बढेको छ । वर्षातमा मात्र नभएर सुक्खायाममा समेत पहिरो जाने गरेको कपुरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष रूपक बुढाले भने ।

जमिन भासिएकै क्षेत्रफलबाट पहिरो गएमा तुलसीपुर उपमहानगरपालिकाको पातुखोला क्षेत्रमा ठूलो धनजनको क्षति हुने सम्भावना रहेको अध्यक्ष बुढाको भनाइ छ । 

अहिलेसम्म पहिरो रोकथामका लागि तीन करोड ८० लाख रुपैयाँ खर्च भइसक्दा पहिरो व्यवस्थापन हुन सकेको छैन । खेतीयोग्य जमिनसमेत भासिएपछि स्थानीयहरू चिन्तित भएको स्थानीय गोपाल गिरीले बताए  । गाउँपालिकाले पहिरोका कारण भत्किएका घरहरूमा नबस्न पटकपटक सार्वजनिक सूचना जारी गरे पनि स्थानीयहरूले नमानेको वडा नम्बर ३ का वडाध्यक्ष मीनबहादुर सेनको भनाइ छ । ‘हामीले धेरैपटक उहाँहरूलाई जोखिमपूर्ण घरहरूमा नबस्न  सूचना जारी गरेका छौँ, तर यसका लागि उहाँहरूले मान्नुभएन,’ वडाध्यक्ष सेनले भने । अब पहिरो रोकथाममा बजेट खर्च गर्नुभन्दा पनि पीडित परिवारलाई स्थानान्तरणको योजना बनाउन आवश्यक भएको वडाध्यक्ष सेनको भनाइ  छ ।