नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मंगलबार नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटेकी छिन् ।
बिहान खनालनिवास डल्लु पुगेकी राजदूत यान्छी र नेता खनालबीच ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किरहेका वेला भएको यस भेटलाई निकै अर्थपूर्ण रूपमा लिइएको छ ।
आइतबार मात्र राजदूत यान्छीले नेकपाका अर्का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।
नेकपाभित्र विवाद चर्किएपछि केही दिनअघि राजदूत यान्छीले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरी छलफल गरेकी थिइन् ।
नेकपाभित्र पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामा माग भएपछि विवाद चर्किएकाे हाे ।
यसले गर्दा नेकपाको जारी स्थायी समिति बैठकसमेत तेस्राेपटक स्थगित भएकाे छ ।
शीर्ष नेताहरूका बीच समस्या समाधानका लागि छलफल र वार्ता भए पनि कुनै पनि निष्कर्षमा भने पुगेकाे छैन ।
यस्तो अवस्थामा चिनियाँ राजदूत यान्छीले निरन्तर नेकपाका शीर्ष नेताहरूसँगको भेट बढाउनुलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ ।