मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २३ मंगलबार ०७:३६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इन्टरनेटले असमानता बढाउँदै : मुद्राकोष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २३ मंगलबार ०७:३६:००

विश्वमा इन्टरनेटको पहुँच नहुने र भएकाबीच आय एवं अवसर दुवैको असमानता फराकिलोे देखिएको छ । कोभिड–१९ को महाव्याधि र लकडाउनले गर्दा पछिल्लो समय विश्वभरका आर्थिक गतिविधि डिजिटलतर्फ जान थालेसँगै इन्टरनेटको पहुँचले सर्वसाधारणको आम्दानी र अवसरमा अभूतपूर्व रूपले प्रभाव पार्ने देखिएको हो । 

‘चाहे वर्क फ्रम होम होस् या टेलिमेडिसिन (दूरचिकित्सा), बालबालिकाको शिक्षा (दूरशिक्षा)का लागि पनि उच्च गतिको इन्टरनेट आवश्यक पर्छ । तर, महाव्याधि र लकडाउनबाट सबैभन्दा बढी मार परेको समूहसँग नै इन्टरनेटमा सबैभन्दा कम पहुँच छ,’ आइएमएफ (अन्तर्राष्ट्रिय मुद्राकोष)ले भनेको छ । जारी महाव्याधिसँगै इन्टरनेट सामाजिक एवं आर्थिक समावेशिताको एउटा महत्वपूर्ण कडी बनेर उदाएको छ । त्यसैले, जोसँग इन्टरनेटको पहुँच छैन, उनीहरू यी लाभबाट वञ्चित रहनेछन् । उनीहरूले आफ्नो आम्दानी र अवसर दुवै गुमाउनुपरेको छ । 

इन्टरनेटमा पहुँच नभएका विद्यार्थी दूरशिक्षादेखि दूरचिकित्सालगायतका अवसरबाट मात्रै वञ्चित भइरहेका छैनन्, वर्क फ्रम होम गर्न नसक्दा र व्यवसायलाई स्मार्ट बनाउन नसक्दा उनीहरूको आयसमेत गुमिरहेको छ । यसले इन्टरनेटमा पहुँच हुने र नहुनेबीच आर्थिक असमानतालाई झनै फराकिलो बनाउँदै लैजाने खतरा रहेको आइएमएफले औँल्याएको छ । 

वर्क फ्रम होम होस् या टेलिमेडिसिन, बालबालिकाको शिक्षा नै किन नहोस्, यी सबका लागि पनि उच्च गतिको इन्टरनेट आवश्यक पर्छ । तर, महाव्याधि र लकडाउनबाट सबैभन्दा बढी मार परेको समूहसँग नै इन्टरनेटमा सबैभन्दा कम पहुँच छ । इन्टरनेटमा पहुँच भएका र नभएकाबीच अवसर र आय दुवैमा अन्तर बढ्न थालेको छ ।

महाव्याधि र लकडाउनकै कारण उच्च गतिको इन्टरनेटमा व्यापक पहुँच भएका मुलुक नभएका मुलुकको तुलनामा बढी लाभान्वित हुँदै छन् । यसले मुलुकबीचको असमानता बढाउँदै छ । त्यसैगरी, मुलुकभित्र पनि इन्टरनेटमा पहुँच भएका र नभएकाबीच अवसर र आय दुवैमा अन्तर बढ्न थालेको छ । यसबाट आर्थिक असमानता चुलिँदा थुप्रै सामाजिक समस्या थपिने खतरा देखिएको छ । 

तथ्यांकहरूले अझै पनि विश्वको आधा जनसंख्याको मोबाइल वा ब्रोडब्यान्ड, कुनै पनि माध्यमबाट इन्टरनेटको पहुँच नभएको देखाउँछन् । अमेरिका, फ्रान्स, जर्मनी, बेलायत एवं दक्षिण कोरियाजस्ता विकसित मुलुकसँग मात्रै उच्च स्तरको इन्टरनेटमा पहुँच छ । ब्राजिल, मेक्सिको र भारतजस्ता धेरै जनसंख्या भएका मुलुकमा इन्टरनेट प्रयोगकर्ताको संख्या जनसंख्याको अनुपातमा निकै सानो छ । 

अफ्रिकाको पिछडिएको इलाका सहारा उपक्षेत्रका लगभग ६० प्रतिशत व्यवसायले मात्रै इमेलको प्रयोग गर्ने गर्छन् भने युरोप र मध्य एसियाली मुलुकका ८५ प्रतिशत व्यवसायले इन्टरनेट (इमेल)को प्रयोग गर्छन् । नेपाल, भारतलगायतका मुलुकका २० देखि ४० प्रतिशत व्यवसायले मात्रै इन्टरनेटको उपयोग गर्ने गर्छन् । पाकिस्तान एवं अफगानिस्तानमा यस्तो संख्या २० प्रतिशतभन्दा कम रहेको आइएमएफको तथ्यांकले देखाउँछ । विकसित मुलुकमा समेत ग्रामीण भेग र वञ्चितीकरणमा परेका मानिसहरूमा इन्टरनेटको पहुँच सीमित छ । त्यसैले, विकासशील एवं कम आय भएका मुलुकले महाव्याधिले मुलुकभित्र बढाउने असमानतको न्यूनीकरण गर्न ग्रामीण एवं पिछडिएको क्षेत्रमा सहुलियतपूर्ण वा फ्रीमा इन्टरनेट उपलब्ध गराउनु उचित हुने विश्व बैंकको सुझाब छ ।