मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २२ सोमबार ११:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ महिनापछि रसुवागढी नाका सञ्चालन

Read Time : < 1 मिनेट
२०७७ असार २२ सोमबार ११:३६:००

६ महिनादेखि बन्द रहेको रसुवागढी  नाका सञ्चालनमा आएको छ । गत माघ १५ देखि बन्द रहेको नाका सोमबार बिहानदेखि सञ्चालनमा आएको हो । रसुवागढी भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काका अनुसार बिहान ८ बजेबाट नाका सञ्चालनमा आएको हो । चिनियाँ पक्षले सामग्री मितेरी  पुलसम्म ल्याइदिएसँगै रसुवागढी नाका एकतर्फी  रूपमा सञ्चालनमा आएको उनले बताए ।  चिनियाँ पक्षकै चारवटा गाडीमा सामान आएको उनले बताए ।  

उच्च स्वास्थ्य सतर्कता अपनाएर सामान नेपाल भित्र्याइँदै गरिएकोसमेत उनले बताए । पहिलो दिन आज चिनियाँ पक्षकै चारवटा गाडीमा एक सय २० टन सामान नेपाल भित्रिनेसमेत खड्काले बताए । 

असार १० गते मितेरी पुलमा भएको बैठकमा चिनियाँ पक्षले राखेको सर्तअनुसार नेपालमा आउने सामान चीनले आफ्नै कन्टेनर, चालक र लेबर प्रयोग गरी मितेरी पुलसम्म ल्याइदिने सहमति भएको थियो । तर, अनलोड भएको सामान लिन जाने चालक र सहयोगीको कोरोना परीक्षण अनिवार्य रहेको हुनुपर्ने चीनले सर्त राखेको थियो । सोहीअनुसार नेपाली पक्षले १५ जना चालक र १५ जना लेबरको कोरोना परीक्षण गरी क्वारेन्टाइनमा  राखेको थियो । 

०७१ मंसिर १५ देखि रसुवागढी नाका सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो  । रसुवागढी नाकालाई ०७४ भदौ १४ गते चीन सरकारले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी र सवारीसाधनको चाप बढ्दै गएको थियो ।