मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडौं
२०७७ असार २२ सोमबार ०६:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

यस वर्ष प्राकृतिक विपतबाट हुने क्षति बढ्ने अनुमान

प्रत्येक वर्ष बाढीपहिरोबाट औसत १७८ को मृत्यु 

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ असार २२ सोमबार ०६:५६:००

यस वर्ष प्राकृतिक विपत्बाट हुने मानवीय क्षति बढ्ने अनुमान गरिएको छ । मनसुन सुरु भएपछिका १५ दिनको विश्लेषणमा त्यस्तो संकेत देखिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

यस वर्ष ३० जेठबाट मनसुन सुरु भएको हो । त्यसयताका १५ दिनमा प्राकृतिक विपत्बाट देशभर ३१ को ज्यान गइसकेको छ । यो संख्या गत वर्ष यही अवधिको तुलनामा झन्डै ५५ प्रतिशतले धेरै हो । गत वर्ष ५ असारदेखि भित्रिएको मनसुनको सुरुका १५ दिनमा १४ जनाको मात्रै मृत्यु भएको प्राधिकरणले जनाएको छ । प्राकृतिक विपत्बाट भएको क्षतिको प्राधिकरणले १५–१५ दिनमा विश्लेषण गर्ने गर्छ ।

विपत्का घटनामा परी घाइते हुनेको संख्या पनि यस वर्ष बढ्ने अनुमान गरिएको छ । गत वर्ष मनसुनका सुरुका १५ दिनमा ३८ जना घाइते भएका थिए । तर, यस वर्ष १५ दिनमा ४८ जना घाइते भएका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले प्राकृतिक विपत्का घटना गत वर्षको तुलनामा कम भए पनि मानवीय क्षति भने धेरै हुने अनुमान गरिएको बताए । ‘गत वर्ष मनसुन सुरु भएको १५ दिनमा मुलुकभर एक सय ५९ घटना भएका थिए । यस वर्ष सुरुका १५ दिनमा एक सय ४३ मात्रै घटना भएका छन्, तर मानवीय क्षति भने बढेको छ । घाइते हुनेको संख्या पनि गत वर्षको भन्दा धेरै छ । यसपटक संकेत सुखद देखिएको छैन,’ उनले भने ।

प्राधिकरणका अनुसार चुरे क्षेत्रमा भएको वन फँडानी र विनायोजना स्थानीय तहमा चलेका डोजर बाढी र पहिरोको प्रमुख कारण हुन् । त्यसबाहेक सीमा क्षेत्रमा भारतद्वारा बनाइएका तटबन्धका कारण पनि बाढी र डुबानका घटना हुने गरेका छन् । ‘पहाड जताततै खनिएका छन् । माटो गलेको छ । यस्तोमा पहिरोको जाने खतरा सबैभन्दा धेरै हुन्छ । तराईका नदी क्षेत्रमा व्यवस्थित तवरले बाँध बनाउन सकिएको छैन । अर्कोतर्फ भारतीय तटबन्ध छ । यसले बाढी र डुबानलाई निम्त्याउँछ,’ पोखरेलले भने । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा मनसुन ९० दिनसम्म रहन्छ । यस अवधिमा हुने बाढी र पहिरोका घटनाले मानवीय र धनमालमा ठूलो क्षति पु¥याउँछ । प्रत्येक वर्ष देशभर बाढीपहिरोबाट मात्रै सरदर एक सय ७८ ले ज्यान गुमाउने गरेको प्राधिकरणको तथ्यांक छ । त्यस्तै, ३३ बेपत्ता हुन्छन् भने ६ हजार चार सय ९० घरपरिवार बाढीपहिरोबाट प्रत्यक्ष प्रभावित हुन्छन् । प्रत्येक वर्ष ५१ करोडभन्दा धेरैको धनमाल क्षति हुने गर्छ ।

पछिल्लो पाँच वर्षमा बाढीपहिरोबाट मात्रै आठ सय ९० को मृत्यु भएको छ भने एक सय ६१ जना बेपत्ता भएका छन् । घटनाबाट ३२ हजार चार सय ४० घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । देशभर यस अवधिमा दुई अर्ब ५७ करोड ९६ लाख रुपैयाँबराबरको धनमाल क्षति भएको प्राधिकरणको तथ्यांक छ । 

सरकारले विपत् न्यूनीकरण, उद्धार र पुनर्निर्माणका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरेको हो । गत २९ मंसिरमा गठन गरिएको प्राधिकरणमा अनिल पोखरेल कार्यकारी अधिकृत नियुक्त गरिए पनि अरू कर्मचारीको दरबन्दी सिर्जना गरिएको छैन, जसले गर्दा प्राधिकरणले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । प्राधिकरणले सरकारसँग ३८ कर्मचारीको दरबन्दी माग गरेको छ, तर अहिलेसम्म स्वीकृत हुन सकेको छैन ।