मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा मेलम्ची खोलाको पानी सुरूङमा आठ सय मिटरसम्म ‘डाइभर्ट’ गरी पुनः मेलम्चीमा पठाइँदै ।
२०७७ असार २२ सोमबार ०५:४९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भदौमा मेलम्चीको पानी सुन्दरीजल झर्ने 

Read Time : > 2 मिनेट
२०७७ असार २२ सोमबार ०५:४९:००

अस्थायी डाइभर्सनबाट सुरुङ परीक्षणका लागि पानी छाडियो, परीक्षण सफल भएलगत्तै वितरण हुने, मेलम्ची आए पनि दैनिक १९ करोड लिटर पानी अपुग

मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याउन बनाइएको सुरुङमा पानी छाडिएको छ । मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथानबाट काठमाडौंमा पानी ल्याउन निर्माणाधीन सुरुङ परीक्षण गर्न अस्थायी डाइभर्सनमार्फत पानी पठाएको हो । आयोजनाको मुख्य डाइभर्सन टनेल निर्माणको काम भने अझै पूरा भएको छैन । 

सुरुङको सफल परीक्षण भए अबको दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा निर्मित पानी प्रशोधन केन्द्रमा झर्ने आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए । ‘सफल परीक्षण भए र अन्य ठूलो प्राविधिक समस्या नआए असोजको पहिलो साताबाट काठमाडौंवासीले मेलम्चीको पानी उपभोग गर्न पाउँछन्,’ उनले भने ।

आयोजनाले लामो समय अवधि लिए पनि अहिले तयार भएको खानेपानी सुरुङ एसियाकै लामोमध्येमा पर्ने खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले बताए ।  

सुरुङ परीक्षण गर्न दुई महिना लाग्ने

अस्थायी संरचनाहरू निर्माणको काम पूरा भएकाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरुङमा आइतबार बिहान ९ः४५ बजेबाट प्रतिसेकेन्ड २६० लिटर पानी पथान्तरण गरिएको आयोजना प्रमुख खत्रीले बताए ।

मेलम्ची खोलाबाट छाडिएको पानी अम्बाथानबाट ग्याल्थम, सिन्धु हुँदै २५.९१६ किलोमिटर लामो सुरुङमार्फत सुन्दरीजल आइपुग्नेछ । ‘सुरुङको क्षमता ६ हजार लिटर प्रतिसेकेन्ड हो, तर अहिले सुरक्षाको दृष्टिकोणले २६० लिटर मात्रै छाडेका छौँ,’ आयोजना प्रमुख खत्रीले भने, ‘यो मात्राले सुरुङ पार गरेर पानी भरिन झन्डै २० दिनसम्म लाग्न सक्छ ।’

सुरुङमा पानी भरिएपछि दश दिनसम्म त्यतिकै छाडिनेछ । र, त्यसपछि पुनः पानी खाली गर्न अरू २० दिनसम्म लाग्न सक्छ । ‘सुरुङमा पहिलोपटक पानी पठाइँदै छ, विभिन्न ठाउँबाट चुहावट हुन सक्छ, त्यसको निरीक्षण र मर्मतपछि मात्रै सुरुङ निर्माणको काम पूरा हुन्छ,’ उनले भने, ‘यसरी सुरुङ परीक्षणका लागि दुई महिनाको समय अवधि लाग्न सक्छ ।’

अस्थायी डाइभर्सनबाट खोलाको पानी सीधै पठाइने भएकाले बाढी र वर्षामा आपूर्ति गरिने भने छैन । खोलाको पानी सीधै पठाउँदा बालुवा, माटो र ढुंगाले सुरुङ पुरिने खतरा हुने खत्रीको भनाइ छ । पुरानो ठेकेदार कम्पनीले अधुरै छाडेको सुरुङको काम पूरा गर्न सरकारले १२ असोज ०७६ मा एक वर्षको म्याद दिएर चिनियाँ कम्पनी सिनोहाइड्रोलाई ठेक्का दिएको थियो । 

परीक्षण सफल भएलगत्तै पानी वितरण

आयोजनाले अस्थायी डाइभर्सनबाटै सुरुङमार्फत पानी ल्याएर उपभोक्तालाई वितरण गर्ने भएको छ । आयोजनाको सुरुङ परीक्षण सफल भएलगत्तै सुन्दरीजल प्रशोधन केन्द्रमार्फत काठमाडौंमा पानी वितरण सुरु हुने खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए ।

‘मुख्य बाँधको काम पूरा हुन अझै केही समय लाग्छ, त्यसैले अस्थायी डाइभर्सनबाटै पानी ल्याउने र प्रशोधन गरेर वितरण गर्ने तयारी भएको छ,’ उनले भने । आयोजनाले सुन्दरीजलमा तयार भएको प्रशोधन केन्द्रमा केही समयअघिबाटै पानी प्रशोधन गरिरहेको छ ।

‘मेलम्चीको पानी सुन्दरीजलमा खस्नेबित्तिकै प्रशोधन केन्द्रमा हालिन्छ, फिल्टर भएपछि वितरण पनि सुरु हुन्छ,’ प्रवक्ता शाक्यले भने । सुन्दरीजलमा प्रशोधन केन्द्रसम्म दुई सय ३६ मिटर पाइपलाइन बिछ्याइएको छ । 

स्थायी डाइभर्सन सुरुङको काम ७० प्रतिशत मात्रै

अस्थायी संरचनामार्फत सुरुङ परीक्षण थाले पनि आयोजनाका स्थायी संरचना निर्माणको काममा भने ढिलाइ भइरहेको छ । आयोजनाको स्थायी डाइभर्सन सुरुङलगायत हेडवक्र्स निर्माण कामको प्रगति अहिलेसम्म करिब ७० प्रतिशत मात्रै रहेको आयोजना प्रमुख खत्रीले जानकारी दिए । 

आयोजनाले मेलम्ची खोला र त्यसको नजिकै निर्माण गरिरहेका मुख्य र स्थायी संरचनालाई हेडवक्र्स भनेको छ । यी संरचनाले १०.४८ वर्गमिटर क्षेत्रफल ओगट्छन् । यीमध्ये २११ मिटर लामो स्थायी डाइभर्सन सुरुङ मुख्य हो । सुरुङ प्रवेशद्वारआसपासका चट्टान फोडेर हटाइनुपर्छ । यही क्षेत्रभित्र सुरुङमार्गमा पानी फर्काउने ‘इन्टेक’ बन्छ । त्यससँगै बाँध निर्माण गरिन्छ । बाँधबाट आएको पानी ‘बेसिन’मा थिग्रिन्छ ।

त्यसपछि मात्रै पानी सुरुङमार्गभित्र छिर्नयोग्य हुन्छ । तर, अहिले हेडवक्र्सको बेसमेन्ट निर्माणबाहेक अन्य काम भएका छैनन् । नदीमा लगाइने २२.७५ मिटरको बाँधको फाउन्डेसन मात्रै तयार भएको छ भने बाँधमा ६ सय घनमिटरको डिजाइन फ्लड राखिनेछ । स्टिलिङ बेसिनको ७० प्रतिशत र बाँधको ६ मिटर उचाइसम्मको कंक्रिट गर्ने कार्य पूरा भएको छ ।

मेलम्ची अब सफल आयोजना हो :  बिना मगर, खानेपानीमन्त्री

लामो समयदेखि विफल आयोजनाका रूपमा रहेको मेलम्ची अब सफल आयोजना बनेको छ । मेलम्ची आउँछ–आउँछ भन्दाभन्दै दन्त्यकथाजस्तै बनेको थियो, अब त्यो पनि अन्त्य भएको छ ।

कोरोनाका कारण आयोजनाको निर्माण कार्य प्रभावित भएको छ, त्यसैले स्थायी संरचना निर्माणमा केही ढिला हुन सक्छ । तर, अस्थायी डाइभर्सनबाट भए पनि तत्काललाई उपत्यकावासीको प्रतीक्षा र निराशालाई मेटाउने प्रयास गरेका छौँ । माथिल्लो तहमा छलफल गरेर छिट्टै उद्घाटनको मिति घोषणा हुन्छ ।

संक्षेपमा मेलम्ची
कुल बजेट : ३१ अर्ब ३६ करोड ल अहिलेसम्मको
खर्च : २८ अर्ब ३० करोड 
निर्माण प्रगति : ९७ प्रतिशत
पछिल्लो निर्माण कम्पनी : सिनो हाइड्रो सम्झौता
मिति : ०७६ असोजदेखि ०७७ पुससम्म 
उपत्यकामा पानीको माग : दैनिक ४३ करोड लिटर 
हालको वितरण : दैनिक १० करोड ३० लाख लिटर 
मेलम्ची आएपछि थप हुने : १३ करोड ६० लाख लिटर (चुहावट २० %) 
मेलम्ची आए पनि अपुग हुने : दैनिक १९ करोड १० लाखलिटर दैनिक प्रतिव्यक्ति माग : १०२ लिटर 
हाल प्रतिव्यक्ति दैनिक वितरण : २४ लिटर मेलम्ची आएपछि प्रतिव्यक्ति उपलब्ध हुने : ५६ लिटर