१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २१ आइतबार २१:०६:००
Read Time : > 1 मिनेट
समाचार

अँधेरी खोला पुल निर्माण : तीन वर्षमा चार पिलर ठडिए 

Read Time : > 1 मिनेट
२०७७ असार २१ आइतबार २१:०६:००

नेपालमा विकास निर्माणको गति कस्तो भनेर खोज्ने हो भने धरान उपमहानगरपालिकामा निर्माणाधीन पुल हेरे हुन्छ । धरान उपमहानगर– ५ लाई जोड्ने अँधेरी खोलामा पुल निर्माण सुरु भएको तीन वर्षमा जम्मा चारवटा पिलर ठडिएका छन् ।  

०७४ सालमा पदम कार्कीको संयोजकत्वमा पुल निर्माण समन्वय समिति बनाएर इनरुवाका हजमुल मियाँको निर्माण कम्पनी सञ्जीवनी एचके बिल्डर्स जेभीलाई ठेक्का दिइएको थियो । पहिलो सम्झौताअनुसार दुई वर्षभित्र अर्थात् २५ असार ०७६ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । ठेकेदारको अनुरोधमा २५ असार ०७७ सम्मको लागि म्याद थप भए पनि हालसम्म पिलर उठाउनेबाहेक थप काम नभएको स्थानीयले बताए ।

संघीय सरकारको भौतिक योजना तथा निर्माण मन्त्रालयबाट विनियोजन भएको बजेटले निर्माण सुरु गरिएको पुलको कुल बजेट साढे सात करोड छ । सम्झौताअनुसार पुलको लम्बाइ एक सय २५ मिटर र चौडाइ ११ मिटर हुनेछ । तर, पछिल्लोपटक थपिएको समय सकिन चार दिन मात्रै बाँकी हुँदासम्म ठेकेदार सम्पर्कमा छैनन् । 

ठेकेदार मियाँले पुल त बनाएनन् हालसम्म भएका काममा लगाएका कामदारलाई समेत पैसा नदिएको गुनासो छ । केही व्यक्तिलाई चेक दिए पनि बैंकमा पैसा नभएको स्थानीय प्रेमकुमार राईले गुनासो गरे । कामदारलाई राष्ट्रिय वाणिज्य बैंकको चेकमार्फत पारिश्रमिकको रकम दिए पनि चेक साट्न जाँदा बाउन्स भएको पीडितहरूको गुनासो छ । राईले पनि ट्याक्टरमार्फत गिटी, बालुवा र ढुंगा ल्याएका थिए । सोबापतको ५५ हजार रुपैयाँ पाउनुपर्ने उनले बताए । लगातार ताकेता गरेपछि मियाँले ४ असारमा पाँच हजार एउटा र ५० हजार रुपैयाँको अर्को चेक पाएोक बताए । तर, बैंकमा जाँदा पैसा नभएको भन्दै फिर्ता पठाएको उनले बताए । राईसँगै धरान–५ देउरालीका डिल्लु कटुवाललाई दिएको चेक पनि बाउन्स भएको छ । कटुवाललाई मियाँले दिएको ६० हजार रुपैयाँको चेक बाउन्स भएको उनले बताए ।

ठेकेदार मियाँले भने सुनसरी–मोरङ पुल आयोजनाले बजेट नदिएपछि निर्माण बीचैमा रोकिएको बताए । पैसा नभएको चेक कसैलाई नदिएको उनको भनाइ छ ।