मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २१ आइतबार १७:४४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काँकडभिट्टाबाट आयात–निर्यात सहज, तर खाली गाडीले अझै प्रवेश पाएनन् 

Read Time : > 1 मिनेट
२०७७ असार २१ आइतबार १७:४४:००

पूर्वीनाका काँकडभिट्टाबाट आयात–निर्यात सहज बन्दै गएको छ । पश्चिम बंगाल सरकारले केही महिनादेखि भारत प्रवेशमा कडाइ गरेपछि आयात–निर्यात असहज बनेको थियो । आयात–निर्यातमा पश्चिम बंगाल सरकारले खुकुलो गरे पनि नेपालबाट भारत जाने खाली गाडीलाई भने अझै रोक लगाएको छ । 

पश्चिम बंगाल सरकारले एक महिना नाकाबन्दी नै गरेको थियो । त्यसपछि गत २६ वैशाखमा नाका खोले पनि एकतर्फी मात्र थियो । भारतबाट सामान आयात भए पनि नेपालबाट निर्यात गर्न दिएको थिएन । भारतले निर्यात गर्न नदिँदा २५ वटा मालवाहक ट्रक केही दिन मेची पुलमै रोकिएका थिए । तर, पछिल्ला केही दिनयता आयत–निर्यात सहज भएको मेची भन्सार कार्यालय काँकडभिट्टामा प्रमुख ध्रुव विश्वकर्माले जानकारी दिए ।  

नाका खुकुलो भएपछि नेपाली उत्पादन अहिले सहजै निर्यात हुन थालेको छ । यो नाका भएर भारत, बंगलादेश र भुटानसँग नेपालको व्यापार हुन्छ । लामो समयदेखि रोकिएको बंगलादेशसँगको व्यापार पनि सुरु भएको प्रमुख विश्वकर्माले बताए । उनका अनुसार बंगलादेशसँग दैनिकजसो सामान आयात–निर्यात भइरहेको छ । लकडाउन र नाकाबन्दीका कारण गोदाममा थन्किएका चिया, अलैँची, अम्रिसो, अदुवा, मुसुरोको दाल धमाधम निर्यात भइरहेको भन्सार प्रमुख विश्वकर्माले बताए । उनले भने, ‘अहिले त दैनिक ३० गाडीभन्दा धेरै सामान निर्यात भइरहेको छ । बंगलादेशसँगको पनि व्यापार सहज भएको छ ।’

खाली गाडीले अझै भारत प्रवेश पाएनन्
खाली गाडी नेपालबाट जान रोकेका कारण भारतबाट सामाना लिएर आएका सवारीसाधन काँकडभिट्टाबाट घुमेर विराटनगरको रानी भन्सार हुँदै फर्किरहेका छन् । जसको प्रत्यक्ष असर भन्सार असुलीमा रहेको भन्सार प्रमुख विश्वकर्मा बताउँछन् । ‘आयात–निर्यात सहज हुँदै छ । तर, नेपालबाट खाली गाडी प्रवेश दिएका छैनन्,’ उनले भने, ‘केही दिनअघि पठाएका थियौँ । त्यहाँको पुलिसले फिर्ता पठाएछन् ।’ 

तर, बंगलादेश जाने गाडीचाहिँ खाली भए पनि सहजै जान पाइरहेको उनले बताए । ‘तेस्रो देशसँगको नाका पनि हो, यो,’ उनले भने, ‘पश्चिम बंगालले तेस्रो देश जाने गाडी रोक्न पाउँदैन । त्यही भएर सहजै जान पाएको छ ।’  सुरुमा कोरोना संक्रमणको कारण देखाउँदै नाकाबन्दी गरेको र पछि एकतर्फी खोले पनि अहिले दुवैतर्फबाट मालवाहक सवारी आवतजावत गरिरहेका छन् । तर, खाली गाडीलाई रोकेका कारण नेपालबाट पेट्रोलियम पदार्थ लिन जाने ट्यांकरले समेत प्रवेश पाएका छैनन् । 

चैतमा लकडाउन सुरु भएयता यो नाकाबाट पेट्रोलियम पदार्थको आयात शून्य छ । जसको प्रत्यक्ष असर राजस्व असुलीमा परेको भन्सार प्रमुख विश्वकर्मा बताउँछन् । उनका अनुसार मेची भन्सारको कुल राजस्वको ४५ प्रतिशत पेट्रोलियम पदार्थले धान्दै आएको थियो ।  आर्थिक वर्ष ०७६/७७ मा मेची भन्सार कार्यालयको राजस्व असुलीको लक्ष्य १३ अर्ब २४ करोड रहेको उनले बताए । ‘एक महिना भन्सार पनि बन्द भयो । सुरुवाती समयदेखि नै पेट्रोलियम पदार्थ आएन । यसको प्रत्यक्ष असर राजस्व असुलीमा छ,’ उनले भने, ‘करिब ३५ प्रतिशतले हामी लक्ष्यभन्दा कम हुने देखियो ।’