मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पुरञ्जन आचार्य
२०७७ असार २१ आइतबार ०८:५९:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राजनीतिमा कम्युनिस्ट तमासा 

Read Time : > 6 मिनेट
पुरञ्जन आचार्य
२०७७ असार २१ आइतबार ०८:५९:००

बालुवाटारको प्रमनिवास कम्युनिस्ट पार्टीको कार्यालयमा रूपान्तरण हुनुलाई समृद्धिको यात्रा सफल भएको मान्नुपर्ने बाध्यता छ

केहीअघि काठमाडाैंमा चलेको चर्चा हो- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष र देशका प्रम केपी ओलीले एकजना सामान्य कांग्रेसीसमक्ष ‘मिलेर सरकार निर्माण गराैँ’ भन्ने प्रस्ताव राखेका थिए रे ! दुईतिहाइको कम्युनिस्ट सरकारका प्रमलाई किन गठबन्धन सरकार निर्माणको सोच आएको होला ? राजधानीमा चल्ने अनेकन् हल्लामध्ये यो पनि एउटा हल्ला नै होला भनी हामीले अनुमान ग-यौँ । प्रम ओलीको मानसिक दशा भने त्यतिखेर काठमाडाैंमा चलेको हल्लासँग यतिखेर मेल खान्छ । प्रम ओली कसैगरी पूर्वमाओवादीलाई कि एमालेकरण गर्ने वा सम्पूर्ण समर्पण गराएर निश्चिन्त हुन चाहन्थे । तर, माओवादी नेता प्रचण्ड प्रम ओलीले सोचेभन्दा केही पृथक् निस्के । 

प्रम ओली कुनै सम्झौता र सहमतिमा इमानदार भएर प्रम पद पुष्पकमल दाहाललाई हस्तान्तरण नगर्ने चालबाजीमा थिए । त्यस्तै पार्टीअध्यक्ष पनि खोपीको शोभाभन्दा माथिको कार्यकारिणी हैसियत प्रचण्डलाई नदिने दाउमा उनी थिए । अर्थात् प्रम र पार्टी अध्यक्ष केपी ओली ‘प्रचण्डलाई थाङ्नामा सुताउन’ चाहन्थे । नेपाली राजनीतिमा पार्टीसत्ता वा राज्यसत्ता हस्तान्तरणका घटनाहरू सहज छैनन् । अझ बन्दकोठामा भएका सहमतिहरूको पालना गर्ने नेता नेपालमा बिरलै देखिएका छन् । प्रम ओलीले सुशील कोइरालामाथि सहमति तोडेको आरोप लगाए पनि उनी स्वयं सहमतिपालक हुन नसकेको पीडा सम्पूर्ण पूर्वमाओवादीहरू यतिखेर भोग्दै छन् । 

प्रम ओली पूर्वएमाले एक ठाउँमा बस्छ, पूर्वमाओवादीसँग मिलेर काम गर्न सकिन्न, कम्युनिस्ट एकताको अब औचित्य र आवश्यकता रहेन भन्ने निष्कर्षमा पुगेको अवस्था थियो, त्यो । प्रम ओलीलाई सत्तामा पुग्न प्रचण्डको माओवादी अनिवार्य थियो, सहकार्यका लागि । सत्तामा पुगेपछि पार्टीको अध्यक्ष माग्ने र कहिले प्रम पद चाहिने प्रचण्ड प्रम ओलीका लागि अस्वीकार्य थियो । प्रचण्ड पदका लागि गनगने भएको प्रम भइसकेको ओलीलाई झर्को लाग्न थाल्नु नेपाली राजनीतिको स्वाभाविक प्रवृत्ति हो । 

प्रम ओलीभन्दा कठोर नेपाली राजनीतिमा माओवादी जनयुद्धलाई तिरष्कृत गर्ने सम्भवतः अरू कोही नेता थिएनन् । त्यति मात्र होइन, प्रम ओली ०६३ सालको गणतान्त्रिक आन्दोलनको पनि छेउ–किनाराका साक्षी थिए । कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी नेता पुष्पकमल दाहालप्रति सहयोगी र सकारात्मक भाव राख्छन् भन्ने थाहा पाएका ती कांग्रेस नेताले प्रम ओलीका अभिव्यक्तिहरू कांग्रेस पार्टीसम्म पु¥याएनन् । हामीबीच मात्र प्रमको प्रस्ताव छलफलको विषय बन्यो । र, नेपालको दुईतिहाइको सत्ता जुनसुकै समय प्रम ओलीका कारण धरापमा पर्न सक्छ भन्ने हामी अनुमानमा बसेका थियौँ । यतिखेर नेपालको राजनीतिमा जुन तमासा भइरहेको छ, त्यसको तानाबुना प्रम ओलीले धेरै अगाडि नै बुनेका थिए । कार्यान्वयन गर्न अहिले तम्सिएका मात्र हुन्, तर परिस्थिति भने यतिखेर प्रमको अनुकूल देखिँदैन ।  

प्रधानमन्त्री ओली कुनै पनि परिस्थितिमा पद छाड्ने मानसिकतामा छैनन् भन्ने कुरा जब प्रचण्डले बुझे, अनि उनी उदात्तभावले त्यागको प्रहसनमा लागे । प्रचण्डको ‘तथाकथित त्याग’ प्रकरणबाट ओली हौसिए, त्यसउप्रान्त उनी थप छाडा भएर सबैलाई हेप्ने मानसिकतामा पुगे । 

प्रम केपी ओली राज्य सञ्चालनका सबै क्षेत्रमा असफल भएपछि एक वर्षअघिदेखि नै जनताको ध्यान मोड्न पूर्वमाओवादीप्रति आक्रामक थिए, कोठेबैठकहरूमा । पूर्वमाओवादीप्रति मात्र होइन, आफ्नै सहयात्री पूर्वएमाले साथीहरूसँग पनि उनी अत्यन्त असहिष्णु र तल्लो स्तरको कमेन्ट्स निर्धक्क साथ बालुवाटारका कोठेबैठकमा गर्थे । कोठेबैठकहरूबाट जब प्रमका अराजनीतिक र हेपाहा प्रवृत्ति सार्वजनिक रूपमा प्रकट हुन थाल्यो, तब मात्र कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूको छाती पोल्यो । पूर्वमाओवादी नेता प्रचण्ड कम्युनिस्ट पार्टी एकता हुँदाको तमसुक समातेर ‘मैले आधा समय चलाउन पाउनुपर्ने प्रम पद कमरेड ओलीले नछाड्ने भए र पार्टी अध्यक्ष पनि नदिने भए’ भन्दै विलाप गर्दै थिए । साक्षी किनारमा बस्ने विष्णु पौडेल र जनार्दन शर्माले मुखमा ‘अलिगढी ताल्चा’ लगाए ।

प्रम ओली कुनै पनि परिस्थितिमा प्रम पद छाड्ने मानसिकतामा छैनन् भन्ने कुरा जब प्रचण्डले बुझे, अनि उनी उदात्तभावले त्यागको प्रहसनमा लागे । प्रचण्डको ‘तथाकथित त्याग’ प्रकरणबाट प्रम ओली हौसिए र त्यसउप्रान्त उनी थप छाडा भएर सबैलाई हेप्ने मानसिकतामा पुगे । नेकपाका वरिष्ठ कमरेडहरूले अहिले भोग्नुपरेको अपमान र पीडा त्यही प्रम ओलीले प्राप्त अतिरिक्त ऊर्जाबाट निःसृत भएको हो, यो ऊर्जा कम्युनिस्ट एकताको नाममा ओलीले पाएका हुन् ।

सरकारी निवास बालुवाटारमा नागरिक हित र देश समृद्धिबारे छलफल भएको जनताले सुन्न पाएका छैनन् । बालुवाटार कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा रूपान्तरण भएको छ । रुग्ण प्रमको अनुपस्थितिमा पनि कम्युनिस्ट पार्टीको मिटिङ प्रम र राष्ट्रपतिको फोटो झुन्ड्याइएको प्रमनिवासको निलो बैठकमा सञ्चालन गर्नुपर्ने बाध्यता कमरेडहरूलाई छ । सरकारी निवास, सरकारी सेवा सत्कार र सरकारी गाडीमा सयर गर्दै बालुवाटारको प्रमनिवास कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा रूपान्तरण भएको अवस्थालाई समृद्धिको यात्रा सफल भएको मान्नुपर्ने नागरिक बाध्यता छ । सरकारको यस्तो कामको विरोधमा बोल्नु हुँदैन ‘हेप्नी’ भनी जाइ लाग्नेको कमी छैन । 

राणा प्रमहरू भारदारी सभामा मुस्किलले दर्शन दिन आउँथे रे ! राणा प्रमको ठूलो साइजको फोटो भित्तामा टाँगेर भारदारी सभा सञ्चालन हुन्थ्यो भनी बुढापाकाहरू किस्सा कहानी सुनाउँथे । नेकपाको बालुवाटार बैठकहरू हिजोआज राणाहरूको भारदारी सभाको झझल्को दिने खालका भएका छन् । भारदारहरू सभाहलमा पुग्छन्, प्रमलाई कुर्छन् । प्रम ओली मेरो फोटो हेरेर सभा चलाऊ भनी आफ्नै दरबारको ‘कोठीमा’ बस्छन् । लोकतान्त्रिक गणतन्त्र नेपालमा कम्युनिस्ट पार्टीको योभन्दा पश्चगमनको यात्रा के होला र ? 

‘इनफ इज इनफका’ अभियन्ता ‘ई’ र उनका युवा साथीहरूबीच प्रमको के संवाद र भलाकुसारी भयो थाहा भएन, तर प्रम ओलीलाई उनका पार्टीका सिनियर कमरेडहरू र प्रतिपक्षसमेतले नम्र भावबाट उपस्थित र प्रस्तुत हुन बाध्य पार्न सकेका थिएनन्, यी युवाहरूसामु प्रम हात जोडेर उभिएको ‘फोटो प्रहसन’ गज्जबको देखियो । भारत, मध्यपूर्व र मलेसियाबाट आएका युवाहरूले नेपाल–भारत सीमा, नदीको बगर, स्कुलको चौर, धानको खेतलाई क्वारेन्टाइन केन्द्र बनाएका छन् । क्वारेन्टाइनको बेथिति र स्वास्थ सामग्री खरिद भएको भ्रष्टाचार काण्डबाट छट्पटिएका ‘ई’ र उनको टिमले प्रमलाई ‘इनफ इज इनफको’ अर्थ बुझाउन पाएकी पाएनन् ? 

पानी, आधारभूत स्वास्थ सेवा र खानेकुराको अभावमा विदेशबाट आएका युवा बस्ने क्वारेन्टाइन केन्द्र नाजीले यहुदीहरूलाई बनाएको ‘ग्यास चेम्बर’ झँै भएको छ । प्रमसामु युवा आन्दोलनका अभियन्ता ‘ई’ ले सिंहदरबारको प्रम कार्यालयलाई क्वारेन्टाइन केन्द्र किन नबनाउने भनेर भन्न बिर्से कि ? सिंहदरबार परिसर नै क्वारेन्टाइन केन्द्र बनाउँदा के फरक पर्ला ? देशमा एकपटक गम्भीर भएर नागरिकले सोच्ने समय आएको छ । यिनै युवाका कारण त देशमा अर्थ आउँछ ।

प्रमलाई सिहदरबार जानु नै छैन भने त्यहाँ प्रमसहित अन्य मन्त्रालयहरूको के काम ? यसो गर्दा बिदेसिएका युवाहरूले पाल्नुपर्ने शासक र प्रशासकको खर्च पनि कम हुने अनि संघीयता कार्यान्वयनमा हस्तक्षेप गर्ने केन्द्र पनि बन्द हुने । प्रम ओलीको आधा कार्यकाल सकिएको छ । प्रम र उनका सीमित चाकरीबाजबाहेक कसैले पनि यो सरकारको काम–कारबाहीलाई प्रशंसा गरेका छैनन् । प्रमको उखान–टुक्का, व्यंग्यवाण र डाक्टरी सल्लाहबाहेक सरकारलाई सम्झनुपर्ने कुनै कारण छैन । प्रम ओलीको क्याबिनेटमा एकजना मन्त्रीले पनि जनताले छोटो समय सम्झनुपर्ने ‘परफरमेन्स’ दिएका छैनन् । जनताले बिर्सन चाहने मन्त्रीहरू धेरै छन् ।

मेलम्चीको पानी कमिसनका कारण ढिलो भयो । महिला मन्त्रीलाई सधैँ सम्झनुपर्ने छ । रिङरोडका काठमाडाैंवासीले मेलम्ची किन कमिसनले ढिलो भएको भनी एक दिन पनि विरोध गरेनन् । स्वास्थ सेवामा पटक–पटक भ्रष्टाचार र हेलचेक्र्याइँ भयो, स्वास्थ्यमन्त्रीलाई सम्झनुपर्ने छ । कोरोना महामारीमा पनि किन यस्तो गरेको भनेर ? ऊर्जाक्षेत्रमा भएको ढिलाइ र परियोजनामा वृद्धि भएको लागतबारे देश नै मौन छ । सुनकोसी एउटा उदाहरण मात्र हो । सबै नेपालीलाई ‘एमसिसी’ विरोधको ‘ताबिज’ किलिकिलेमा झुन्ड्याएर सर्वत्र भ्रष्टाचारको मुहान निर्बाध चलेको छ । 

विद्वान् अर्थमन्त्री देशहित सोच्ने भएनन्, कार्यकर्ताहरूलाई पोस्ने भए, यो आरोप छ । बजेटपछि लकडाउनमा पनि ठूला–साना कम्युनिस्ट उद्योगपतिहरूले ‘ब्लु लेबल र ब्ल्याक लेबल’ खोले । कसरी अर्थमन्त्रीले कम्युनिस्ट कार्यकर्ताहरूलाई नीतिगत सुविधा र छुट दिए प्रतिपक्षका धुरन्धर विद्वान् अर्थशास्त्रीहरूले आफ्नो नेतालाई भन्ने इमानदारिता नै देखाएनन्, नागरिकलाई सुसूचित गर्ने काम टाढाको भयो । 

नेपालको नक्सा विस्तार भयो । सम्पूर्ण राष्ट्रिय भावधारा त्यसैमा समायो, दुई महिनाका लागि । मधेसवादी नेताहरूले धोती लगाएर संसद्मा राष्ट्रियताको शिक्षा दिए, खुबै वाह वाह लुटे । भूगोलको राष्ट्रवादमा पहिचानवादीहरू पनि मिसिँदा नेपाली राष्ट्रवादले नयाँ भावधारा बगाएको अवस्था थियो, केही हप्ताअघिसम्म । अब महाकालीको मुहान लिम्पियाधुरा हो भनेर सूर्य–चन्द्रअंकित झन्डा बोकी मार्चपास गर्ने पालो राजेन्द्र महतो र उपेन्द्र यादवको हो । तर, प्रम ओली नेतृत्वमा दुई महिनाअघि मात्र निर्माण भएको बृहत् राष्ट्रिय भावधारामा के अनिष्ट भयो ? र, प्रम ओली सरकार र पार्टी चलाउन अक्षम भए ? बालुवाटार बैठकमा कमरेडहरूले बृहत् छलफल गरेर प्रम ओली र पार्टीअध्यक्ष कमरेड ओलीलाई लगाएको आरोपपत्रबारे जनतालाई सुसूचित गरेका छैनन् । उल्टो प्रम ओलीले यिनै कमरेडहरूलाई गम्भीर आरोप लगाएका छन् । 

प्रम ओलीले आफूलाई प्रम पदबाट हटाउन भारत, पार्टीकै साथीहरू र केही उद्योगपति लागिपरेको सार्वजनिक अभिव्यक्ति दिए । यस्ता अराष्ट्रिय तत्वहरूको हातमा देशको नेतृत्व र पार्टी नेतृत्व किमार्थ छोड्दिनँ भनेर यो लेख तयार पारिरहँदासम्म प्रम ओलीको अडान कायमै छ । प्रम ओलीको अभिव्यक्तिबाट नेकपाका शीर्ष नेताहरू रिसाए । भारतसँग जोडिएर नाम आए नेपालमा राजनीतिक हत्या हुन्छ भन्ने मनोविज्ञान नेताहरूमा छ । बढो अचम्मको विरोधाभासपूर्ण अवस्था नेपालको राजनीतिक क्षेत्रमा छ ।

००७ सालदेखि ०६३ सालसम्म सबै पार्टी र तिनका नेताहरू भारतसँग जोडिँदा गौरवान्वित अनुभूति गरे । भारतको सहयोगमा नेपालमा जनताका लागि राजनीतिक लडाइँ लडेको भन्छन् । तर, जब राजनीतिक संकटबाट सामान्य अवस्थामा फर्कन्छन्, यी नेताहरू भारतविरोधी भावधारा नेपालमा बगाउँछन् । त्यो पनि जनतालाई उल्लु बनाउन । प्रम ओलीले यही चालबाजी यसपटक पनि गर्न खोज्दा ‘बुमर्‍याङ’ गर्‍यो । प्रम पद संकटमा पर्‍यो । संकट अझै छ, टरेको छैन ।  

भारत, सत्तामेकर व्यापारी उद्योगपति र आफ्ना मित्रहरूबाट सत्ता निर्माण हुन्छ कि सार्वभौम नेपाली नागरिक र तिनका प्रतिनिधि सांसदबाट ? प्रम ओलीको मगजमा सिंहदरबारको कुर्सीमा बसेको दिन यो आत्मबोध हुन्थ्यो भने आज नागरिकको कठघरामा अपराधीझैँ उभिनुपर्दैन थियो होला । 

नेपालको शक्तिशाली कम्युनिस्ट पार्टीको भविष्य धरापमा छ । के यो पार्टी फुट्छ ? वा प्रचण्डसँग शक्तिको बाँडफाँड गरी टुंगिन्छ ? नफुट्ला, तर जनताको मनबाट यो पार्टीप्रतिको भरोसा र विश्वास भने फुटेको छ, टुटेको छ । प्रम ओली शक्ति विकेन्द्रीकरणमा विश्वास गर्दैनन्, यो अब लुकेको विषय भएन । तर पनि के प्रचण्डसँग मात्र केही कालका लागि हुने युद्धविरामले पार्टीका अन्य शीर्ष नेताहरूले चित्त बुझाउलान् ? के त्यस्तो होला ? नेपाली जनताले कम्युनिस्ट पार्टीले रचेको यो तमासाको अन्त प्रचण्डको व्यवस्थापनबाट मात्र समाप्त हुन्छ कि सरकारको नागरिकसँगको सम्बन्ध जोड्ने नयाँ सेतु केही बन्छ?

जगहँसाइ त शक्तिशालीहरू नै भिख मागेझैँ एकअर्कासँग शक्ति माग्दै छन्, बालुवाटारमै बसेर । पद र प्रतिष्ठाको वितरण गर्दै छन्, बालुवाटारमा बसेर । नेता जनताको समर्थनबाट शक्ति आर्जन गर्छ भन्ने ‘मिथ’ यतिखेर नेपाली राजनीतिमा तमासा प्रमाणित हुँदै छ । कम्युनिस्ट पार्टीको तमासा देखेर काठमाडांैमा अनेकन् चर्चाले ठाउँ पाएको छ । प्रम ओली ‘अब एक्लै हिँड्ने रहर’ गर्दै छन् भन्ने चर्चा सबैभन्दा बढी छ । अर्थात् फेरि राजनीति दुर्घटनातर्फ अग्रसर छ ।