१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार २१ आइतबार ०५:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पहिरोले बस्ती नै  पुरिँदा ६ को मृत्यु, एक बेपत्ता (अपडेट)

Read Time : < 1 मिनेट
२०७७ असार २१ आइतबार ०५:४६:००

पहिरोले बस्ती नै पुरिँदा बझाङको केदार स्युँ गाउँपालिका– ८ मल्लेसी गाउँका ६ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । शुक्रबार राति अविरल वर्षासँगै आएको पहिरोले बस्ती नै पुरिएको हो । पहिरोमा पुरिएका ६ जनाको शव भेटिएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका डिएसपी गणेश बमले बताए । एकजना बेपत्ता रहेका छन् । उनको खोजी भइरहेको डिएसपी बमले बताए । 

पहिरोमा पुरिएर मल्लेसी गाउँकी ४२ वर्षीया राममतीदेवी जेठारा, उनका छोराछोरी ११ वर्षीय प्रयाग र सात वर्र्षीया अस्मिता जेठाराको मृत्यु भएको छ । त्यस्तै, उनीहरूका छिमेकी १६ वर्षीया शान्ति जेठारा, ८१ वर्षीय दले जेठारा र १५ वर्षीय सन्तु जेठाराको पनि शव भेटिएको डिएसपी बमले बताए । अझै मल्लेसी गाउँकै २२ वर्षीय गिरिजा जेठारा बेपत्ता रहेका छन् । स्थानीय बासिन्दा र सुरक्षाकर्मीले शनिबार दिनभरि खोज्दा पनि उनी भेटिएका छैनन् । 

मल्लेसी गाउँमाथिको रातापड सामुदायिक वन क्षेत्रबाट पहिरो खसेको हो । पहिरोले २० घर पुरिएका छन् । पहिरो खस्न थालेको थाहा पाएपछि स्थानीय बासिन्दा घर छोडेर सुरक्षित स्थानतर्फ भागेका थिए । ‘गाउँले भागेकाले धेरैको ज्यान जोगिएको रहेछ,’ डिएसपी बमले भने । 

आफूहरू सुरक्षित स्थानमा गए पनि गोठमा रहेका वस्तुभाउ भने लग्न नपाएको स्थानीय बासिन्दाले बताएका छन् । पहिरोमा परी २४ गाईगोरु, २२ भैँसी र ६५ बाख्रा पनि मरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

पहिरो गएको थाहा पाउनेबित्तिकै शनिबार बिहान सदरमुकाम चैनपुरबाट जिल्ला प्रहरी कार्यालयका डिएसपी बमको नेतृत्वमा प्रहरी टोली, सशस्त्र प्रहरीका डिएसपी गणेश शाहको नेतृत्वमा सशस्त्र प्रहरीको टोली र केदार स्युँ गाउँपालिकाकै बागथलास्थित कालंगा जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली मल्लेसी गाउँ पुगेको थियो ।