मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार २१ आइतबार ०५:३१:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

उपत्यकामा एक सय ८४ जनामा कोरोना संक्रमण, असारमा मात्रै एक सय १४ संक्रमित थपिए

बढ्दो छ कोरोना मिटर

Read Time : > 1 मिनेट
२०७७ असार २१ आइतबार ०५:३१:००

भक्तपुर नगरपालिका–९, च्याम्हासिंहकी महिला जनप्रतिनिधिलाई ६ जेठमा कोरोना संक्रमण भएको पुष्टि भयो । राहत वितरण, चेतनामूलक कार्यक्रम र अन्य वडाका काममा सक्रिय उनलाई अचानक कोरोना देखिएपछि नगर क्षेत्रका बासिन्दा त्रसित बने । नगरपालिका र प्रहरीले ७ जेठमै उनको घर र टोलका समेत गरी १८ घर सिल गर्‍यो । नगरपालिकाले नमुना संकलन गरी परीक्षणको दर बढायो । तर, उनीबाहेक सबैको रिपोर्ट नेगेटिभ आयो । उनी आफैँ पनि एक सातामै घर फर्किइन् । उनको सम्पर्कमा भएका व्यक्ति र परिवारका सदस्यसम्मलाई पनि संक्रमण नदेखिएपछि स्थानीयको डर घट्यो । नगर क्षेत्रमा चहलपहल पनि बढ्न थाल्यो । 

मध्यपुरठिमी नगरपालिका–३ की ३४ वर्षीया महिला छातीमा आएको गाँठो देखाउन भक्तपुर क्यान्सर अस्पताल पुगिन् । उनमा क्यान्सर भएको थाहा पाएपछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने भन्दै कोरोना परीक्षण गर्न स्वाब पठाए । बुधबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणले उनलाई कोरोना संक्रमण भएको पुष्टि गर्‍यो । उनी अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा छिन् । 

भक्तपुरका स्वास्थ्य प्रमुख कृष्ण मिजार भन्छन्, ‘अस्पताल जाँदा उहाँलाई पनि अचानक कोरोना संक्रमण भएको पुष्टि भयो, उहाँको न त कुनै संक्रमितसँग सम्पर्क छ, न संक्रमित क्षेत्रको यात्रा नै ।’ बिहीबार प्रहरीले उनको घर र आसपास सिल गर्‍यो । तर, गठ्ठाघर भने अहिले पनि खुला छ । मानिसहरू जोखिम नभएझैँ गरेर आवतजावत र किनमेल गरिरहेका छन् । 

संक्रमितको घरमै उपचार
काठमाडौं महानगरपालिका–१३, कालीमाटीका अढाई वर्षे बालक ब्रेन ट्युमरका बिरामी थिए । केही महिनाअघि भारतमा सर्जरी गरेका उनलाई फलोअपका लागि ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालले परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखियो । ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलाल भन्छन्, ‘उनको संक्रमणको स्रोत अझै खुलेको छैन र उनको सम्पर्कमा आएकाहरूमा पनि कोरोना पोजेटिभ देखिएको छैन ।’ ललितपुरमा कोरोना देखिएकालाई पनि घरमै राखेर उपचार थालिएको उनले बताए । 

लकडाउन खुकुलो भएपछि मानिसहरूले हेलचेक्र्याइँ गर्न थालेका ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई बताउँछन् । काठमाडौंका अधिकांश मुख्य चोक र बजार खुलेका छन् । त्यहाँ मानिसको भिड लाग्ने गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशीलकुमार यादव भन्छन्, ‘लकडाउन खुकुलो भएपछि मान्छेहरूको चहलपहल बढेको छ, महिनौँसम्म घरमै बसेकाहरू पनि बजार पसलमा निस्किएका छन् ।’ 

गोदावरी नगरपालिकाको चापागाउँका ६२ वर्षीय पुरुषमा बिहीबार कोरोनाको संक्रमण भएको पुष्टि भएपछि उनी घरमै उपचाररत छन् । प्रहरीले त्यहाँवरपर सिल गरेको छ । तर, मानिसहरूको उपस्थिति घटेको छैन । ‘संक्रमितको घरमै उपचार भइरहेको छ, त्यो घर सिल गरेका छौँ,’ चापागाउँका डिएसपी कृष्ण ओझाले भने ।

बढ्दो छ कोरोना मिटर
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै एक सय ८४ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । तीमध्ये असारमा मात्रै एक सय १४ जनामा कोरोना भेटिएको हो । १ असारयताको १५ दिनमा ५१ जना संक्रमित थपिए । तर, त्यसपछिका तीन दिनमै ६३ नयाँ संक्रमित थपिएका छन् । हालसम्म संक्रमितमध्ये ३० जना भक्तपुर र १७ जना ललितपुरका हुन् । गत मंगलबार काठमाडौंमा १२ तथा ललितपुर र भक्तपुरमा एक–एकजनामा कोरोनाको संक्रमण पुष्टि भयो । बुधबार पनि काठमाडौंमा १०, ललितपुरमा पाँच र भक्तपुरमा दुईजना गरी एकैदिन १७ जना संक्रमित थपिए । बिहीबार त्यो संख्या बढेर ३२ पुग्यो । काठमाडौंका २८, ललितपुर र भक्तपुरका दुई–दुईजनामा संक्रमण पुष्टि भएको थियो ।