१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २१ आइतबार ०४:०४:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

प्रधानमन्त्रीले जे भन्नुभयो, त्यसले पनि उहाँको दृष्टिकोण, रबैया त्यति सकारात्मक देखाएको छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २१ आइतबार ०४:०४:००

० सहमति खोज्नकै लागि भनेर दोस्रोपटक बैठक स्थगित भयो । तर, सहमति नजिकिएर हो कि टाढिएकाले पर सार्नुभएको हो ?

सहमतिको कोसिस गर्नकै लागि अध्यक्षहरूको सहमतिमा बैठक दुई दिनका लागि स्थगित गरिएको हो । किनभने पार्टी एकता हामी सबैका लागि प्यारो छ । पार्टी एकताको रक्षाका लागि हदैसम्म प्रयास गर्नकै लागि गृहकार्यको अवधि बढाइएको हो ।

० सहमतिको कोसिस गर्न बैठक सार्ने, तर अध्यक्षहरूकै भेटघाट नहुनुले त गृहकार्य गर्न खोजेको देखाउँछ त ?

उहाँहरूबीचको परामर्शमा शनिबार ४ बजे भेट्ने समय तय भएको थियो । तर, प्रधानमन्त्रीले व्यस्तताको कारण जनाएर आइतबार (आज) बिहान १० बजे अध्यक्ष प्रचण्डलाई छलफलका लागि बोलाउनुभएको छ ।

० अध्यक्षहरूबीच भेट नभए पनि सहमतिका लागि तपाईंहरूले आन्तरिक रूपमा त पक्कै विकल्पको गृहकार्य गर्नुभएको होला नि ?

विकासक्रम केही भएको छैन । तर, शुक्रबार साँझ मन्त्रीहरूलाई बोलाएर प्रधानमन्त्रीले जे भन्नुभयो, त्यसले पनि उहाँको दृष्टिकोण, रबैया त्यति सकारात्मक देखाएको छैन । तैपनि गम्भीरतापूर्वक छलफल गरेर हामी सहमतिका लागि प्रयास गर्नेछौँ ।

० यसको मतलब प्रधानमन्त्रीले मन्त्रीहरूलाई बोलाएर विभाजनलाई प्रश्रय दिने खालको सन्देश दिनुभो भन्न खोज्नुभएको हो ?

अहिल्यै ठ्याक्कै त्यस्तो त म भन्दिनँ, तर त्यति सकारात्मक स्थिति देखिएन ।

० दिनहुँ छलफल त समूह–समूहमा गरिरहनुभएकै छ, केही न केही विकल्पबारे कुरा भएको त होला नि ?

अहिले छलफल चलिरहेको वेला त्यसबारे केही भन्ने कुरा आएन । अहिलेसम्म त औपचारिक प्रस्ताव नै स्थायी कमिटी राखिएकै छैन नि । व्यक्ति–व्यक्तिले बोल्ने क्रममा अहिलेको समस्या के हो भन्नेबारेमा भनिरहनुभएकै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले मुख्य रूपमा जिम्मेवार बनेर निकास दिनुपर्‍यो भन्ने छलफल भइरहेकै छ । औपचारिक प्रस्ताव राखिएको छैन । त्यसैले अहिले यसको आधारमा निर्णय गरौँ भन्दा पनि गृहकार्य गरेर सहमति खोज्ने प्रयत्न जारी छ ।