मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार २० शनिबार १४:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फास्ट ट्रयाकमा पर्ने जग्गामा धान रोप्न खाेज्ने स्थानीय र प्रहरीबीच झडप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार २० शनिबार १४:५४:००

फास्ट ट्रयाकमा पर्ने जग्गामा धान रोप्न खाेज्ने स्थानीय र प्रहरीबीच शनिबार झडप भएको छ ।

विकासका नाममा उर्वर भूमि विनाश गर्न खाेजिएकाे भन्दै विराेधमा धान रोपिरहेका किसानलाई प्रहरीले अवरोध गरेपछि झडप भएको हो । किसानहरू सामूहिक रूपमा धान रोप्न गएका थिए ।

नेवाहरूको भूमिमाथिको अधिकार आफ्नो भए पनि सरकारले विकास परियोजनाका नाममा हराभरा र उर्वर भूमिलाई विनाश गर्ने हिसाबले काम गरिरहेकाले विरोध गरिएको उपत्यकाव्यापी सडकपीडित संघका कोषाध्यक्ष विद्या श्रेष्ठले बताए । तीन हजार वर्षअगाडिको नेवा सभ्यता विनाश गर्न खोज्ने सरकारको कामका विरुद्ध धान रोपेर विरोध गरिएको उनले बताए । 

किसानले संयुक्त रूपमा धान रोपाइँ गर्न थालेपछि बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले धान रोप्न नदिएपछि स्थानीयले नाराबाजी सुरु गरेका थिए ।

स्थानीयहरू रुद्रायणी मन्दिरमा भेला भएर ट्रयाक्टर, कुटो, कुदालोसहित कुदेश, सिकाली हुँदै खुडाेल पुगेका थिए । उपत्यकाका विभिन्न स्थानबाट मानिस किसानको समर्थनमा खोकना पुगेर धान रोप्न सुरु गरेका थिए ।

‘फास्ट ट्रयाक चाहिँदैन किसान मार्न पाइँदैन’, ‘भूमाफिया होसियार’, ‘सम्पूर्ण किसान एक होऔँ’ भन्ने नारा लगाएर प्रहरीलाई ढुंगामुढा प्रहार गरेपछि झडपको अवस्था आएको हो । 

खेत रोपाइँमा प्रहरीले अवरोध गरेपछि आक्रोशित भएका स्थानीयको भिडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र हवाईफायर गरेको थियो । बाहिरी चक्रपथ, काठमाडौं तराई द्रुतमार्ग र मातातीर्थ–भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरेका हुन् ।

सांस्कृतिक सम्पदाहरूमाथि विकासका नाममा विनाश गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।