मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २० शनिबार १२:३३:००
Read Time : > 1 मिनेट
प्रदेश

कोरोना संक्रमित बढेसँगै  लमजुङमा  कडाइ 

Read Time : > 1 मिनेट
२०७७ असार २० शनिबार १२:३३:००

लमजुङमा अत्यावश्यक सेवाको पसल (औषधि)बाहेक अन्य सबै पसल प्रत्येक दिन बिहान ५ बजेदेखि अपराह्न १२ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि  कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड– १९ कंकट व्यवस्थापन केन्द्र (डिस्ट्रिक कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर) लमजुङको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पेसा, व्यवसाय सञ्चालन गर्दा सुरक्षा र स्वास्थ्य प्रोटोकललाई अनिवार्य रूपमा पालना गर्ने–गराउने व्यवस्था मिलाउनुपर्ने निर्णय गर्नुका साथै जिल्लाको प्रवेशद्वार पाउँदी नाकाबाट खाद्यान्न तथा मालबाहक सवारीसाधनहरूलाई बिहान १० बजेभित्र र दिउँसो ४ बजेपछि मात्रै प्रवेश अनुमति दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

साथै अत्यावश्यक कामका लागि सवारी अनुमति दिइएकाबाहेक अन्य सवारीसाधनहरु सञ्चालन नगर्ने, जिल्लाभित्र सञ्चालन हुने निजी सवारीसाधनका लागि जोर–बिजोर प्रणालीलाई कडाइका साथ लागू गर्ने बैठकले निर्णय गरेको प्रजिअ शर्माले बताए ।

लमजुङमा कोरोना सङ्क्रमितको सख्या ४५ पुगेको छ । लमजुङमा अहिलेसम्म पिसिआर परीक्षणका लागि पाँच सयजनाको ‘थ्रोट स्वाब’ नमुना संकलन गरी प्रादेशिक प्रयोगशाला पोखरा पठाइएकामध्ये शुक्रबारसम्म ४५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ भने तीन सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको र ८४ जनाको रिपोर्ट आउन बाँकी छ ।

भारत, युएई, कुवेतलगायतका देशका साथै नेपालकै विभिन्न ठाउँबाट आएका र जिल्लाका विभिन्न क्वारेन्टाइनमा  रहेकाहरूको स्वाब परीक्षण गर्दा अहिलेसम्म ४५ जनामा कोरोना पुष्टि भएको सहायक प्रजिअ अनिलकुमार शाहिले बताए ।

संक्रमितहरूको सुन्दरबजारमा रहेको नमुना सामुदायिक अस्पताल, जिल्ला समन्वय समितिको सभा हलमा बनाइएको आइसोलेसन वार्ड र जिल्ला सामुदायिक अस्पताल बेसींसहरमा बनाइएको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । शुक्रबारसम्म संक्रमितमध्ये तीन महिला र सातजना पुरुष गरी १० जना निको भएर घर फर्किसकेका छन् ।