
गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकले बहुमतले पारित गरेको हो । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले १ असारको प्रदेश सभा बैठकमा बजेट पेस गरेका थिए ।
प्रदेश सरकारले ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेट ल्याएको थियो । चालू आर्थिक वर्ष ०७६/७७ को भन्दा आगामी वर्षको बजेट दुई अर्ब ७१ करोड ७४ लाखले बढी छ । प्रदेशको चालू वर्षको बजेट ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रहेको थियो ।
बजेटले स्वास्थ्य क्षेत्र, शिक्षा, पर्यटन, ऊर्जा, कृषि, उद्योग, पूर्वाधार, सिर्जनशील मानव पुँजी निर्माण तथा विकास र सुशासनलाई समृद्ध प्रदेश निर्माणका आधार मान्दै सोहीअनुसार लगानीलाई उच्च प्राथमिकता दिएर रकम विनियोजन गरिएको छ ।
कुल बजेटमध्ये चालूतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार, पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको छ । बजेटले भौतिक पूर्वाधार विकासका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । जसअनुसार कुल बजेटको ४१.५२९ प्रतिशत बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि विनियोजन गरिएको छ ।
बजेटमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान सात अर्ब ११ करोड २६ लाख, ससर्त अनुदान चार अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान एक अर्ब ४९ करोड ८९ लाख, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँडबाट सात अर्ब ५७ करोड ३७ लाख, रोयल्टी ३० करोड, आन्तरिक राजस्वमार्फत चार अर्ब ६० करोड ८५ लाख ६० हजार प्राप्त हुने अनुमान गरिएको छ ।