मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नारायण सिवाकोटी काठमाडौं
२०७७ असार २० शनिबार ०८:१६:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामाजिक द्वेष फैलाएको आरोपमा  ‘सोसल साइट’विरुद्ध विश्वव्यापी अभियान

विश्वविख्यात कम्पनीहरूले पनि विज्ञापन नदिने घोषणा गरेका छन्, सामाजिक सञ्जालको ब्यापारमा अर्बौँको नोक्सानी

Read Time : > 2 मिनेट
नारायण सिवाकोटी काठमाडौं
२०७७ असार २० शनिबार ०८:१६:००

घृणा फैलाउने सामग्रीलाई हटाउन पर्याप्त प्रयास नगरेको भन्दै फेसबुक, इन्स्टाग्राम र टिव्टरजस्ता सामाजिक सञ्जाल कम्पनीलाई एक महिना विज्ञापन नदिने बहिष्करणको अभियानले अविश्वसनीय आन्दोलनको रूप लिन थालेको छ । अघिल्लो बुधबारबाट सुरु भएको यो अभियानमा ‘जुलाइभरि सामाजिक सञ्जालहरूलाई विज्ञापन नदिऔँ’ आह्वान छ । यो अभियानमा ६ सयभन्दा धेरै कम्पनी जोडिन पुगिसकेका छन् । केही कम्पनीले यो वर्षभरि कुनै पनि सामाजिक सञ्जालमा विज्ञापन नदिने घोषणा गरेका छन् । कस्मेटिक सामान उत्पादक एवं प्रख्यात बहुराष्ट्रिय कम्पनी युनिलिभरले यो सन् २०२० भर नै सामाजिक सञ्जालमार्फत कुनै विज्ञापन नगर्ने घोषणा गरेको छ ।  

हार्बर्ड विश्वविद्यालय, केनेडी स्कुलको ‘प्लाटफर्म एकाउन्टबिलिटी प्रोजेक्ट’का सहनिर्देशक दिपायन घोस भन्छन्, ‘कर्पाेरेट अमेरिकाले कहिलेकाहीँ लहरकै रूपमा यस्ता कदम चाल्ने गर्छ ।’ उनका अनुसार यो कर्पाेरेट अमेरिकाको जवाफदेहिताप्रतिकै एउटा ठूलो कदम हो । तर, यो आन्दोलनको लहरले अमेरिका नाघिसकेको छ । र, युरोपेली मुलुकहरूमा विस्तार हुन खोज्दै छ । 

कसरी सुरु भयो यो आन्दोलन ? 
जुन १७ मा ‘एन्टी–डिफामेसन लिग’, ‘एनएएसिपी’ र ‘कलर अफ चेन्ज’लगायतको एउटा नागरिक अधिकार समूहले अमेरिकाका ठूला कम्पनीलाई जुलाईभर फेसबुकलाई विज्ञापन नदिन अपिल गरेपछि ‘स्टप हेट फर प्रोफिट’ अभियानको सुरुवात भएको छ । यो अभियानले ‘स्टपहेटफरप्रोफिटडटओआरजी’ नामक वेबसाइटमार्फत नश्ल एवं जातिवादविरुद्ध उठेको आन्दोलनका आन्दोलनकारीविरुद्ध भडकाउपूर्ण पोस्टहरूलाई अनुमति दिएको आरोप लगाएका छन् । उनीहरूले कम्पनीहरूलाई आह्वान गरेका छन्, ‘फेसबुकले कमाएको ७० अर्ब डलरमध्ये ९९ प्रतिशत तपार्इंहरूकै विज्ञापनबाट कमाउँछ । के तपाईं उसलाई घृणाको प्रसार गरेबापत पुरस्कृत गरिरहनुहुन्छ ?’ यो अभियानले कम्पनीहरूलाई विज्ञापन नदिएर दबाब सिर्जना गर्न अपिल गरेका छन् । र, सामाजिक सञ्जालहरूलाई थप जवाफदेही बनाउन चाहेका छन् ।  

पछिल्लो समय ‘ब्ल्याक लाइफ म्याटर्स’ आन्दोलनले नश्ल एवं रंगभेदलाई लिएर विश्वव्यापीस्तरमै जागरुकता वृद्धि गरेसँगै कम्पनीहरूलाई कर्पाेरेट सोसियल रेस्पोन्सिबिलिटीअन्तर्गत केही गर्नुपर्ने दबाब बढिरहेको थियो । यहीबीच फेसबुक, इन्स्टाग्राम र ट्विटरजस्ता सामाजिक सञ्जाललाई आफ्ना प्लाटफर्मबाट नश्ल एवं रंगभेदीलगायतका घृणा फैलाउने सामग्रीलाई प्रतिबन्ध लगाउन दबाब बढ्यो । फलस्वरूपः विश्वका थुप्रै ठूला कम्पनीले नश्लीय एवं रंगभेदीलगायतका घृणाजन्य एवं विभेदी अभिव्यक्तिहरूलाई निरुत्साहित गराउन केही समयका सामाजिक सञ्जालमा आफ्ना विज्ञापन रोक्ने भएका हुन् । यसरी ठूला कम्पनीहरूको विज्ञापन नदिने घोषणालगत्तै फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जालको सेयर मूल्यमा भारी गिरावट सुरु भएको छ । र, महाव्याधिपछिको अवधिमा उनीहरूले बटुलेको सम्पत्तिमा प्वाल पर्न सुरु भएको छ । 
 
क–कसले विज्ञापन रोकेका छन् ? 
विज्ञापन बहिष्करणको अभियानमा पंक्तिबद्ध हुने कम्पनीहरूमा प्रख्याद सौन्दर्य प्रशाधन कम्पनी युनिलिभर, विश्वप्रसिद्ध पेय कम्पनी कोकाकोला, प्रसिद्ध ब्रान्ड एडिडास, फोर्ड, खुद्रा कम्पनी टार्गेट, सवारी उत्पादक फक्सवागनदेखि आइटी जायन्ट माइक्रोसफ्ट, ब्रिटिस बिमा कम्पनी एभिभा, जर्मनीको सफ्टवेयर कम्पनी एसएमपीजस्ता थुप्रै–थुप्रै कम्पनी छन् । 

विज्ञापनमा बहिष्करणको अभियानमा लाग्ने ठूला कम्पनीमा नर्थफेस, लिभाइज एन्ड डकर, स्टारबक्स, पाटागोनियाजस्ता चर्चित ब्रान्ड पनि छन् । त्यसैगरी, ब्लू बोटल कफी, चोबानी, काइन्ड स्न्याक्सले पनि विज्ञापन रोक्ने जनाइसकेका छन् । नाफाका लागि घृणा बन्द गर (स्टप हेट फर प्रोफिट) ह्यासट्याग अभियानको समर्थनमा अहिलेसम्म ६ सयभन्दा धेरै ठूला कम्पनी आइसकेका छन् । प्रोक्टेर एन्ड ग्याम्बल (पिएन्डजी)ले पनि विभेदकारी एवं घृणाजन्य सामग्रीलाई स्थान दिने प्लाटफर्मबाट आफ्ना विज्ञापन हटाउने जनाएको छ । 

‘जारी ध्रुवीकरण र आसन्न राष्ट्रपतीय चुनावका कारण घृणाजन्य अभिव्यक्तिहरू बढेको र त्यसलाई निरुत्साहित गर्न जरुरी थियो,’ युनिलिभरको ग्लोबल मिडियाका कार्यकारी उपाध्यक्ष लुइस डी कोमोले वाल स्ट्रिट जर्नलसँग भनेका छन् । अभियान समूह ‘कलर अफ चेन्ज’ भन्छ, ‘फेसबुकले घृणाले भरिएका सामग्रीविरुद्ध उभिनमा वर्षौं खेर फालेको छ । र, मतदाताहरूलाई गुमराहमा राख्न यो प्लाटफर्मको दुरुपयोग गरेको छ ।’

अहिलेको सबैभन्दा शक्तिशाली सामाजिक सञ्जाल मानिसबीच विखण्डन र विभेदको विष फैलाउन प्रयोग हुनु र यसमा पोस्ट हुने सामग्रीले सामाजिक सद्भाव भड्काउँदासमेत त्यसप्रति जिम्मेवार नहुन फेसबुकलगायतका सामाजिक सञ्जालहरूको अक्षम्य कमजोरी हो । व्यवसाय आफ्ना सबै सरोकारवाला (स्टेक होल्डर) र समग्रमा समाजप्रति पनि उत्तिकै जिम्मेवार हुनुपर्छ भन्ने यो अभियानले थप प्रस्ट्याएको छ ।