मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी बार्सिलोना
२०७७ असार २० शनिबार ०५:३३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसीले बार्सिलोना छाड्दै छन् ?

Read Time : > 1 मिनेट
एजेन्सी बार्सिलोना
२०७७ असार २० शनिबार ०५:३३:००

फुटबलर लियोनल मेसीले यसै साता सात सय गोल पूरा गरे । स्पेनिस ला लिगामा गत बुधबार एट्लेटिको म्याड्रिडविरुद्ध पेनाल्टी गोल गर्दै उनले आफ्नो खेलजीवनमा नयाँ कोसेढुंगा पार गरेका हुन् ।

उनी यो उपलब्धि हात पार्ने अहिले पनि सक्रिय रहेकामध्ये दोस्रा फुटबलर हुन् । उनीभन्दा पहिलो क्रिस्टियानो रोनाल्डोले गत वर्ष नै सात सय गोल पूरा गरेका थिए । पहिले सात सय गोल पूरा गर्ने प्रतिस्पर्धामा रोनाल्डोले उछिने पनि मेसीले कम खेलमै यो उपलब्धि हात पारेका छन् । 

३३ वर्षीय मेसीले देश र क्लबका लागि गरी ८६२ व्यावसायिक खेलबाट यो उपलब्धि हात पारे । उनीभन्दा दुई वर्ष जेठा रोनाल्डोले यो उपलब्धिका लागि ९७४ व्यावसायिक खेल खेलेका थिए ।

कीर्तिमानी छैटौँपटक बालोन डिअर अवार्ड जितेका मेसी आफैँ र उनका समर्थकका लागि यो अर्काे खुसीको कुरो रह्यो । तर, सात सय गोल पूरा गरेको खुसी मनाउन नपाउँदै मेसीले आफ्ना समर्थकका लागि दुःखको खबर पनि दिएका छन् । 

जारी सिजनको अन्त्यसँगै मेसीले आफ्नो जीवनको महत्वपूर्ण समय बिताएको क्लब बार्सिलोना छाड्ने निर्णय गरेका छन् । पछिल्लो सम्झौताअनुसार बार्सिलोनामा मेसीको बसाइ जारी सिजनका लागि मात्रै रहनेछ । सम्झौता सकिनै लाग्दा मेसीले आफ्ना पिता जोर्जमार्फत नवीकरणको प्रयास थालेका थिए ।

मेसीकै निर्देशनअनुसार पिता जोर्जले क्लब पदाधिकारीसँग सम्झौता नवीकरणका लागि वार्ता गरिरहेका थिए । तर, उनले शुक्रबार आफ्ना पितालाई सम्झौता नवीकरण गर्ने सम्बन्धमा क्लब पदाधिकारीसँग सुरु गरिएको वार्ता रोक्न निर्देशन दिएका छन् । 

बार्सिलोना मेसीको बाल्यकालदेखिको क्लब हो । उनी आफू १३ वर्षको हुँदा अर्जेन्टिनाबाट स्पेन पुगेका थिए । उनले बार्सिलोनाकै एकेडेमीमा फुटबल खेल्न सिके । बार्सिलोनाको विभिन्न उमेर समूहको टोली हुँदै पछिल्लो एक दशकभन्दा लामो समय पहिलो टोलीको मुख्य खेलाडीको रूपमा रहँदै आइरहेका छन् । उनी अहिले क्लबको कप्तानसमेत हुन् । 

तर, आफ्नै कप्तानीमा टोलीले अपेक्षाअनुसारको सफलता दिन नसक्दा उनीमाथि दबाब थपिएको छ । साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगाको उपाधि होडमा पछि परेको छ । सुरुवातमा अंकतालिकामा अग्रता बनाएको बार्सिलोनाले कोभिड–१९ महामारीका कारण केही समय रोकिएर पुनः सुचारु हुँदा आफ्नो अग्रता गुमाएको छ । उसलाई चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडले पछि पारेको छ ।

त्यसमाथि पछिल्लो समय आफ्नै प्रशिक्षण टोलीसँग बढ्दै गएको तीक्ततापूर्ण सम्बन्धका कारण मेसी क्लब छाड्ने निर्णयमा पुगेका हुन् । आफ्नै प्रशिक्षण टोलीसँग मेसी र उनका सहकर्मीको तीक्तता यतिसम्म चुलिएको छ कि उनीहरूले मैदानमा प्रशिक्षकहरूको निर्देशन मान्न छाडेका छन् । 

गत शनिबार सेल्टा भिगोविरुद्धको अवे खेलमा मेसी प्रशिक्षक क्विक सेटिन र उनका सहयोगी इडर सराबियाको निर्देशन अवज्ञा गरिरहेको देखिएका थिए । ‘टच लाइन’मा प्रशिक्षक उनलाई केही भन्न खोज्दै थिए, तर उनी सुन्दैनसुनी मैदानमा फर्किएको फुटेजमा देखिएको छ । 

त्यसपछि ड्रेसिङ रुममा समेत उनीलगायत खेलाडीले प्रशिक्षकसँग चर्काे विवाद गरेको स्पेनी मिडियाले जनाएका छन् । क्लबसँगको जारी सम्झौता सकिनुअघि उनले स्पेनिस ला लिगाका अझै बाँकी दुई चरणको खेल खेल्नेछन् । त्यसपछि उनी आफ्नो निर्णयमा अडिग रहलान् वा क्लब उनीबारे निर्णय फिर्ता गर्न सक्षम होला ? सिजनको अन्त्य हुनुअघि नै निश्चित हुनेछ ।