मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २० शनिबार ०५:१०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

दुई साता बित्दा पनि रिपोर्ट नआएपछि सल्यानको क्वारेन्टाइनबाट भागे ७० जना

Read Time : < 1 मिनेट
२०७७ असार २० शनिबार ०५:१०:००

पिसिआर परीक्षणको रिपोर्ट आउन ढिला भएपछि सल्यानको बनगाड नगरपालिका–३ लहाघाटस्थित आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ७० जना भागेर घर गएका छन् । भाग्ने क्रममा उनीहरूको प्रहरीसँग झडप भएको छ । 

गत १९ जेठदेखि यहाँको क्वारेन्टाइनमा ७३ जना बसेका थिए । १७ दिनपछि मात्रै पिसिआर परीक्षणका लागि उनीहरूको स्वाब संकलन गरिएको थियो । तर, दुई हप्ता बित्दा पनि रिपोर्ट नआएपछि आक्रोशित भएका स्थानीय क्वारेन्टाइन छाडेर भागेका हुन् ।

गरपालिकाका मेयर गोविन्दकुमार पुनका अनुसार भाग्ने क्रममा उनीहरूले प्रहरीलाई ढुंगामुढा गरेका छन् । उनीहरूको खोजी भइरहेको छ । मेयर पुनका अनुसार उनीहरूको स्वाब संकलन गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो । त्यहाँको पिसिआर मेसिन बिग्रिएपछि नेपालगन्ज पठाइएको थियो । नेपालगन्ज प्रयोगशालाले ‘आज हुन्छ, भोलि हुन्छ’ भन्दै झुलाइरहेको उनले बताए । स्थानीय सरकारले रिपोर्ट चाँडो ल्याउन पहल नगर्दा एक महिनादेखि क्वारेन्टाइनमै बस्नुपरेकाले भागेको स्थानीयको गुनासो छ । 

कोरोना महामारी बढ्दै जाँदासमेत प्रदेश सरकारले राम्रो पिसिआर मेसिन व्यवस्थापन गर्न नसक्दा आफूहरूले रोकथामका लागि सास्ती खेप्नुपरेको मेयर पुनले बताए । ‘प्रदेश सरकारले यसबारे ध्यानै दिएको छैन । हामीहरूले क्वारेन्टाइनमा बसेकाको व्यवस्थापनमा रातदिन खटिँदासमेत गाली खानुपरेको छ,’ उनले भने । कोरोना संक्रमण देखिएपछि बनगाड कुपिण्डे नगरपालिकामा मात्रै भारतबाट फर्किएका करिब २५ सयलाई क्वारेन्टाइनमा राखिएको थियो । तर, अहिले एक सयको हाराहारीमा मात्रै क्वारेन्टाइनमा छन् ।