मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २० शनिबार ०४:०५:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

काठमाडौंमै कोरोना संक्रमितको मृत्यु

संक्रमित क्षेत्रबाट आएका व्यक्ति पनि निर्वाध रूपमा घुमफिर गर्दै, चिकित्सक भन्छन्, ‘टाइमकार्डको व्यवस्था नगरे ठूलो दुर्घटनामा पर्छौँ’

Read Time : > 2 मिनेट
२०७७ असार २० शनिबार ०४:०५:००

कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा एक वृद्धको मृत्यु भएको छ । काठमाडौंमा दैनिक संक्रमित बढ्न थालेपछि चिकित्सकहरूले दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १७ असार राति नयाँ बानेश्वरका ८५ वर्षीय वृद्धको मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या मुलुकभर ३२ पुगेको छ । काठमाडौं जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो हो । पार्किन्सन्स रोगबाट पीडित उनी मन्डिखाटारस्थित ह्याम्स अस्पतालमा उपचाररत थिए । 

चिकित्सकहरूले काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा परेको बताएका छन् । सरकारले ‘ट्राभलकार्ड’को व्यवस्था नगरे ठूलो दुर्घटनामा परिने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका कोभिड चिकित्सक डा. अनुप बाँस्तोलाले बताए । ‘संक्रमितबारे सबैले जानकारी पाउने कार्ड आवश्यक परेको छ । बाहिर खुला रूपमा हिँडेका कारण उनीहरूलाई सबैले चिन्न सक्ने कार्ड लगाइदिनुपर्छ,’ डा. बाँस्तोलाले भने, ‘१४ दिनसम्म रातो कार्ड, त्यसपछि हरियो कार्ड दिनुपर्छ ।’ 

चिकित्सकहरूका अनुसार ९८ प्रतिशत संक्रमितमा कोरोना हुने लक्षण देखिएको छैन भने दुई प्रतिशतमा मात्रै लक्षण देखिएको छ । ‘यस्तो अवस्थामा रोगग्रस्त क्षेत्रबाट आएकाहरूको जाँच कसरी भयो, उनीहरू घरमा बसे कि बसेनन् भनेर कसले हेरेको छ ?’ डा. बाँस्तोलाले भने । उनका अनुसार लक्षण नदेखिएका, तर संक्रमित व्यक्ति घर जान्छु भनेर झगडा गर्न थालेका छन् । 

त्यस्तै, लक्षण छैन भनेर प्रभावित स्थानबाट आएका व्यक्तिहरू पनि निर्वाध रूपमा बाहिर हिँडिरहेका छन् । डा. बाँस्तालेका अनुसार काठमाडौं उपत्यकामा भौतिक दूरी पनि कायम भएको देखिएको छैन । ‘टाइमकार्डको प्रयोग नगरे ठूलो दुर्घटनामा पर्छौँ,’ डा. बाँस्तोलले भने, ‘सहरी क्षेत्र मात्रै होइन, अहिलेको अवस्थाले मुलुक ठूलो जोखिममा पर्ने देखिएको छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देशभर सात सय ४० नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १५ हजार दुई सय ५९ पुगेको छ । त्यस्तै, आठ सय २३ जना निको भएका छन् । शुक्रबार भने उपत्यकामा नमुना परीक्षण नगरिँदा संक्रमितको संख्या थपिएको छैन । गत तीन दिनमा भने लगातार संक्रमितको संख्या थपिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १४, बुधबार १७ र बिहीबार ३१ जना संक्रमित थपिएका थिए । जसमा मंगलबार काठमाडौंमा १२, भक्तपुर र ललितपुरमा एक–एक, बुधबार काठमाडौंमा १०, भक्तपुरमा दुई र ललितपुरमा पाँच तथा बिहीबार काठमाडौंमा २८, भक्तपुरमा दुई र ललितपुरमा एक संक्रमित थपिएका थिए । 

परीक्षणको दायर घट्दै

केही दिनयता संक्रमित पत्ता लगाउने पिसिआर परीक्षणको दायरा भने घट्दै गएको छ । दैनिक परीक्षण बढ्नुपर्नेमा क्रमशः घट्न थालेको छ । दुई साताअघि दैनिक सात हजारको हाराहारीमा परीक्षण हुँदै आएको थियो, तर अहिले भने दैनिक औसत साढे चार हजारमा झरेको छ । गत २४ घन्टामा पनि देशभर चार हजार चार सय ८३ नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । तर, अहिले देशभरका क्वारेन्टाइनमा ३० हजारजना बसिरहेका छन् । उनीहरूको परीक्षण गर्न बाँकी छ । 

स्वास्थ्य मन्त्रालयले दैनिक १० हजार परीक्षण गर्ने योजना अघि सारेको थियो । त्यसअनुसार परीक्षणको दायरा बढाउन नसकेको भन्दै पटक–पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. रुणा झालाई मन्त्रालयको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकारलगायतको सल्लाहकार टिमले दैनिक प्रश्न गर्दै आएको थियो । केन्द्रीय प्रयोगशालाले सीमित कर्मचारीमा पनि दैनिक एक हजार दुई सयभन्दा बढी नमुना परीक्षण गर्दै आएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । तर, केन्द्रीय प्रयोगशालाबाहेकका प्रयोगशालाले परीक्षण दायरा नबढाएपछि दैनिक १० हजार परीक्षण गर्ने योजना असफल भएको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन् ।

दुई साता बित्दा पनि रिपोर्ट नआएपछि सल्यानको क्वारेन्टाइनबाट भागे ७० जना

पिसिआर परीक्षणको रिपोर्ट आउन ढिला भएपछि सल्यानको बनगाड नगरपालिका–३ लहाघाटस्थित आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ७० जना भागेर घर गएका छन् । भाग्ने क्रममा उनीहरूको प्रहरीसँग झडप भएको छ । 

गत १९ जेठदेखि यहाँको क्वारेन्टाइनमा ७३ जना बसेका थिए । १७ दिनपछि मात्रै पिसिआर परीक्षणका लागि उनीहरूको स्वाब संकलन गरिएको थियो । तर, दुई हप्ता बित्दा पनि रिपोर्ट नआएपछि आक्रोशित भएका स्थानीय क्वारेन्टाइन छाडेर भागेका हुन् ।

गरपालिकाका मेयर गोविन्दकुमार पुनका अनुसार भाग्ने क्रममा उनीहरूले प्रहरीलाई ढुंगामुढा गरेका छन् । उनीहरूको खोजी भइरहेको छ । मेयर पुनका अनुसार उनीहरूको स्वाब संकलन गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो । त्यहाँको पिसिआर मेसिन बिग्रिएपछि नेपालगन्ज पठाइएको थियो । नेपालगन्ज प्रयोगशालाले ‘आज हुन्छ, भोलि हुन्छ’ भन्दै झुलाइरहेको उनले बताए । स्थानीय सरकारले रिपोर्ट चाँडो ल्याउन पहल नगर्दा एक महिनादेखि क्वारेन्टाइनमै बस्नुपरेकाले भागेको स्थानीयको गुनासो छ । 

कोरोना महामारी बढ्दै जाँदासमेत प्रदेश सरकारले राम्रो पिसिआर मेसिन व्यवस्थापन गर्न नसक्दा आफूहरूले रोकथामका लागि सास्ती खेप्नुपरेको मेयर पुनले बताए । ‘प्रदेश सरकारले यसबारे ध्यानै दिएको छैन । हामीहरूले क्वारेन्टाइनमा बसेकाको व्यवस्थापनमा रातदिन खटिँदासमेत गाली खानुपरेको छ,’ उनले भने । कोरोना संक्रमण देखिएपछि बनगाड कुपिण्डे नगरपालिकामा मात्रै भारतबाट फर्किएका करिब २५ सयलाई क्वारेन्टाइनमा राखिएको थियो । तर, अहिले एक सयको हाराहारीमा मात्रै क्वारेन्टाइनमा छन् ।