१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १९ शुक्रबार १८:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कृषि समितिमा सरकारी अधिकारीको दाबी : सलहको नयाँ झुन्ड नेपाल आउने सम्भावना छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १९ शुक्रबार १८:३०:००

सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंले हावाको गतिमा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुन्ड आउन सक्ने सम्भावना नरहेको बताएका छन् । संघीय संसद् प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा हुमागाईंले भारतको राजस्थानबाट हावाको गति दक्षिणतर्फ मोडिएकाले अब नेपालमा सलहको नयाँ झुन्ड आउने सम्भावना नरहेको जानकारी गराए । 

उनले बिहीबार भारतको इटहवामा रहेको सलहको झुन्ड शुक्रबार भारतको मध्यप्रदेशतिर पुगेकाले नेपालमा आउने सम्भावना कम हुँदै गएको बताए । भारतको इटहवा भैरहवा नाकादेखि पाँच सय किलोमिटर नजिक रहेको, तर शुक्रबार सलहको झुन्ड दक्षिणतर्फ लाग्दा सात सय ६७ किलोमिटर टाढा पुगेको बताए । उनले मनसुन तथा हावाको दिशामा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुन्ड आउन नसक्ने बताए । 

उनले सलह नियन्त्रणका लागि रासायनिक विषादीको प्रयोग गर्न समस्या रहेको पनि बताए ।  मानव बस्तीको नजिक खेतबारी रहेकाले विषादी प्रयोग गर्न तत्काल सिफारिस नगरिएको उनले स्पष्ट पारे ।  तर, अन्तिम विकल्पको रूपमा विषादी प्रयोग गर्ने अवस्था आयो भने चार–पाँचवटा विषादीलाई तयारी अवस्थामा राखिएको बताए । उनले अहिले नेपालमा ६० लाख देखि ६५ लाखको संख्यामा सलह नेपाल आइपुगेको र नेपालमा अन्डा पार्ने सम्भावना पनि नभएकाले सलहलाई आवाजको माध्यमबाट भगाउन सकिने बताए । 

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले भने १७ असारसम्म देशका अधिकांश जिल्लामा सलह पुगेको, तर दशवटा जिल्लामा सबैभन्दा धेरै क्षति पुगेको बताए । सलह १३ असारमा  भारतबाट रुपन्देही हुँदै बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, पाल्पासम्म पुगेको र तीन दिनभित्रमा कपिलवस्तु हुँदै दाङसम्म पुगेको उनले बताए । 

नेपाल भित्रिएको पाँच दिनमा अर्घाखाँची, प्युठान, कैलाली, कञ्चनपुर, बैतडी, अछामसम्म पुगेको उनले बताए । उनले १७ असारसम्म दाङमा सबैभन्दा धेरै पाँच सय हेक्टर, प्युठानमा दुई सय ८३ हेक्टर, अर्घाखाँचीमा एक सय हेक्टर र मकवानपुरमा एक सय पाँच हेक्टर जमिनमा क्षति पुगेको बताए । 

बैठकमा सांसदहरूले यसअघि पनि कृषि मन्त्रालय र विज्ञहरूले नेपालमा सलह आउँदैन भनेको, तर नेपालमा ठूलो संख्यामा सलह आएकोले फेरि पनि नआउने भन्ने सम्भावना नरहेकोले त्यसको नियन्त्रणका लागि तयारी बढाउन सुझाब दिएका छन् । उनीहरूले थाल ठटाएर अथवा गीत गाएर सलह भगाउने कुरा असम्भव भएकाले विषादीको प्रयोग गर्ने या अन्य कुनै विकल्प किसानलाई दिनुपर्ने बताए ।