मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार १९ शुक्रबार १६:०३:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सत्तापक्षको मात्र समर्थनमा बागमती प्रदेशको बजेट बहुमतले पारित

Read Time : > 1 मिनेट
२०७७ असार १९ शुक्रबार १६:०३:००

सत्तारुढ दल नेकपाको मात्र समर्थनमा बागमती प्रदेशको आगामी आर्थिक वर्ष ०७७/७८ को विनियोजन विधेयक बहुमतले पारित भएको छ । सत्तारुढ नेकपाबाहेक बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूले असहमति जनाए पनि नेकपाको स्पष्ट बहुमत भएका कारण विनियोजन विधेयक र अर्थसम्बन्धी विधेयक बहुमतले पारित भएको हो । सांसदहरूको सवालमा मुख्यमन्त्री र मन्त्रीहरूले जवाफ दिएपछि सभामुख सानुकुमार श्रेष्ठले बजेट पारित भएको घोषणा गरेका हुन् । 

विनियोजन विधेयकमाथि नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र एक स्वतन्त्रले असहमति जनाएका थिए । बागमती सरकारले आगामी आवका लागि १ असारमा ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट प्रदेश सभामा पेस गरेको थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बजेट पेस गरे पनि विनियोजन विधेयक सांसदहरूलाई उपलब्ध नगराएको भन्दै सांसदहरूले विरोध जनाएका थिए ।

विनियोजन विधेयकविना  बैठकमा छलफल अघि बढाउने प्रयत्न गरिएको भन्दै सत्तापक्षकै सांसदहरूले विरोध जनाएपछि बैठक स्थगित भएको थियो । १३ असारदेखि सुचारु गरिएको बैठकमा छलफल अघि बढाएसँगै शुक्रबार सवालजवाफपछि बजेट पारित गरिएको हो । 

सरकारको काममा साथ दिन मुख्यमन्त्रीको आग्रह
मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको काममा साथ दिन सबैलाई आग्रह गरेका छन् । शुक्रबार बजेट पारितअघि प्रदेश सभा बैठकमा भएको सवालजवाफमा मुख्यमन्त्री पौडेलले सबैको समन्वयमा काम गर्न प्रदेश सरकारले तयार रहेको र साथ दिन आग्रह गरेका हुन् ।

‘प्रदेश सरकार सबै राजनीतिक दल र संघीय, स्थानीय तहको सरकारसँग मिलेर काम गर्न तयार छ,’ उनले भने, ‘तर, काममा सबैले साथ दिनुस्, सरकारले कुनै काममा कमी–कमजोरी गर्ने छैन ।’ मुख्यमन्त्री पौडेलले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा आफ्नो घरअघि काम भए मात्रै काम ठान्ने प्रवृत्ति अन्त्य गर्न आग्रह  गरे । सरकार गठन भएको दुई वर्षमा एक सय ७९ किलाेमिटर सडक ढलान तथा कालोपत्रे, ३३ वटा पुल निर्माण, आठ सय सात किलाेमिटर सडक निर्माण र तीन सय २० किलोमिटर सडक ग्राभेल भएको छ,’ उनले भने ।