मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १९ शुक्रबार १४:४०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लकडाउन अवधिमा पर्यटन र हवाई क्षेत्रमा ३४ अर्बको क्षति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार १९ शुक्रबार १४:४०:००

लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्बबराबरको क्षति भएको एक अध्ययनले देखाएको छ ।  नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति भएको देखाएको हो । सरदर प्रतिमहिना १० अर्ब कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अध्ययनले देखाएको छ ।

सरकारले केही सेवा क्षेत्र खुला गरे पनि लकडाउनको अवधि साउन ७ गतेसम्म बढाएपछि अझै सात अर्बको नोक्सानी बढ्न सक्ने अनुमान गरिएको छ । पर्यटन मन्त्रालयले पर्यटन क्षेत्रका कर्मचारी तथा पुनर्कर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था गरिएको जनाएको छ । 

लकडाउनको अवधिमा मन्त्रालयबाट भएका कार्यप्रगतिहरूको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार होटेलका लागि भ्याट दाखिला गर्ने समय दुई महिनाबाट बढाएर चार महिना पुऱ्याइएको छ । मन्त्रालयले हवाईजहाज पार्किङ शुल्कमा ७५ प्रतिशत, बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सरकारलाई सिफारिस गरेको छ । 

लकडाउनको अवधिमा विभिन्न विमानस्थलहरूमा सन्तोषजनक कार्यप्रगति भएको मन्त्रालयले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन प्रतिशत थप भौतिक प्रगति भई अहिलेसम्म ९१ प्रतिशत काम भएको छ ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउनको अवधिमा नाै प्रतिशत थप भौतिक प्रगति भई अहिलेसम्म ५९ प्रतिशत प्रगाति भएको बताएको छ । त्रिभुवन विमानस्थलमा एप्रोन निर्माण, धावनमार्ग र रनवे निर्माण, टर्मिनल भवन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

निजगढ विमास्थल निर्माण क्षेत्रभित्रका रूख बुट्यानहरूको छपानका लागि रूख बिरुवा गणनाको काम सुरु भएको छ । मन्त्रालयले ४१ किलोमिटर पदमार्ग, विभिन्न क्षेत्रमा फुटपाथ निर्माण, भ्युटावर निर्माण सम्पन्न गरेको छ । यस्तै एकीकृत विद्युतीय सञ्जालसम्बन्धी एप्लिकेसन निर्माणको काम पनि सकिएको छ । मध्यपूर्व र युरोपलगायत विभिन्न १७ मुलुकबाट मार्च २४ बाट ३० सम्म नेपाल वायुसेवा निगमलगायतका अन्य वायुसेवाहरूबाट दुई सय १४ उडानमार्फत १६ हजार ६ सय ७२ नेपालीलाई उद्धार गरिएको छ । नेपालमा अलपत्र परेका १२ हजार चार सय आठजना विदेश प्रस्थान गरेका छन् ।