१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ असार १९ शुक्रबार १२:५४:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै आश्रमकी आनीलाई बलात्कार गरेको अभियोगमा रामबहादुर बमजनविरुद्ध मुद्दा दायर, १४ वर्ष कैद सजाय माग

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ असार १९ शुक्रबार १२:५४:००

आफ्नै आश्रमकी आनीलाई बलात्कार गरेको अभियोगमा लिटल बुद्धका नामले चिनिने रामबहादुर बमजन (रामलाल बमजन) विरुद्ध अदालतमा मुद्दा दायर भएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीले बिहीबार जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दायर गरेको हो ।  

पटकपटकको पक्राउ प्रयास असफल भएपछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । 

१४ वर्षसम्म कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको सर्लाहीका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमले बताए ।

१४ देखि १६ वर्ष उमेरको बालिकालाई बलात्कार गरेको कसुरमा १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान मुलुकी अपराध संहितामा रहेकोले त्यहीअनुसार मागदाबी लिएर मुद्दा दायर गरिएको उनले जानकारी दिए । 

बमजनका दुई सहयोगीलाई समेत मतियारका रूपमा मुद्दा दायर भएको छ ।   

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को सहयोगमा सर्लाही प्रहरीले बमजनमाथि अनुसन्धान गरेको थियो । 

२० साउन ०७३ मा उनले सर्लाहीको आश्रममा १६ वर्षीया आनीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

धम्क्याएर पटक–पटक बलात्कार गरेको पीडितको उजुरीको आधारमा प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो । 

उनका कर्तुत सार्वजनिक भएपछि घटनाको दुई वर्षपछि पीडितले जाहेरी दिएकी थिइन् । 

जाहेरीको आधारमा गत २३ फागुनमा जिल्ला अदालत सर्लाहीले बमजनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

त्यसयता प्रहरीले सिन्धुलीस्थित उनको आश्रममा तीनपटक छापा मारे पनि उनी भने पक्राउ परेनन् । 

मुद्दाको हद म्याद सकिन लागेकाले  फरार बनाएर उनीविरुद्ध मुद्दा दायर भएको हो ।  

तीनैपटक प्रहरीलाई छक्याए 
प्रहरीले बमजनको सिन्धुलीस्थित आश्रममा तीनपटक छापा हानिसकेको छ । 

पछिल्लोपटक गत ४ असारमा सिआइबीको टोलीले सिन्धुलीको कमलामाई नगरपालिका– ८, पहिरेस्थित बोधी श्रवण धर्म संघ (बोधी मार्ग दर्शन मैत्री धर्म आश्रम) मा छापा हानेको थियो, तर प्रहरी अप्रेसन सफल भएन । अर्थात् आरोपी बमजन समातिएनन् । 

उनी आश्रमभित्र बंकर बनाएर लुकेको आशंकामा लाइफ डिटेक्टरसमेत प्रहरीले प्रयोग गरेको थियो । तर, पनि उनी त्यहाँ  नभेटिएको सिआइबीले जनाएको छ । 

सामान्यतया नदीमा डुबेका तथा पहिरोमा परेका व्यक्ति खोज्न प्रहरीले यस्तो प्रविधि प्रयोग गर्छ । 

सशस्त्र प्रहरीसँग मात्र यस्तो प्रविधि छ । सशस्त्र प्रहरीबाटै सो प्रविधि लगेर प्रहरीले उनको आश्रममा छापा हानेको थियो । 

‘महिलाको भेषमा बसेको हुन सक्ने आशंकामा पनि महिला प्रहरीहरूले चेकजाँच गरे,’ सिआइबीका एक अधिकारी भन्छन्, ‘तर, उनी केही समययता आश्रमबाहिर रहेको नै प्रस्ट भयो ।’ 

त्यस्तै, लाइफ डिटेक्टर र रेस्कुमा खटाइएको दुई प्रकारका कुकुरसमेत लगेर प्रहरीले छापा हानेको थियो । तर, उनी आश्रममा नभेटिएको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए । 

उनले अवैध रूपमा सञ्चारसेट प्रयोग गरेकामा सिन्धुली प्रहरीले तीनवटा सेट बरामद गरी कारबाही प्रक्रिया अघि बढाएको छ । 

बमजनलाई भगाउन सहयोग गर्ने ज्ञानकुमार बमजन र जेबी भन्ने जितबहादुर तामाङविरुद्ध मुद्दा दायर गरेको छ । 

उनीहरूलाई मतियारका रूपमा मुद्दा दायर गरिएको जिल्ला न्यायाधिवक्ता गौतमले जानकारी दिए । 

आश्रम भत्काउन वनलाई पत्राचार 
सरकारी वनको जग्गा कब्जा गरेर आश्रम बनाएका बमजनको आश्रमभित्र कम्पाउन्डसहितको छुट्टै ‘दरबार’ छ । 

जहाँ आश्रमभित्रकै व्यक्तिलाई समेत प्रवेश निषेध छ । उनको निवास पाँचतारे होटेलको कोठाभन्दा सुविधासम्पन्न रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै उनको डस्टर र ल्यान्डक्रुजर गाडी पनि छ । आश्रममा घोडासमेत पालिएको छ । सुविधासम्पन्न जिमखानासमेत छ । 

आश्रमको चारैतिर सेन्ट्री राखिएको छ । जहाँ सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । 

आश्रमभित्र अवैध रूपमा बंकरसमेत बनाइएको छ । जंगल मासेर बसेकाले उनीविरुद्ध कारबाही गर्न प्रहरीले वन कार्यालयलाई पत्राचार गरेको छ । 

तर, दबाबको कारण वन र नगरपालिकाले उनलाई कारबाही गर्न सकेको छैन । उनको आश्रम जाने बाटो नगरपालिकाले नै बनाइदिएको थियो । 

उनको सिन्धुपाल्चोकको आश्रममा बस्ने तीन आनी बेपत्ता रहेको घटनाको पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

तर, बेपत्ता व्यक्तिहरूको कुनै प्रमाण फेला नपर्दा प्रहरीमा जाहेरी दर्ता हुन सकेको छैन ।