१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार १९ शुक्रबार ११:५२:००
Read Time : > 1 मिनेट
समाचार

खानेपानी पुगेको खुसी : भैरवी गाउँपालिकाका स्थानीयको खानेपानी अभाव समाधान

Read Time : > 1 मिनेट
२०७७ असार १९ शुक्रबार ११:५२:००

दैलेखको भैरवी गाउँपालिका– १ की नानु थापा अहिले ६५ वर्ष पुगिन् । बिहे गरेर आएदेखि कुवाको पानी बोकेर दैनिकी चलाउँदै आएकी उनी अहिले धारोमा पानी भर्न पाउँदा दंग छिन् । 

मुहान र कुवा पनि संरक्षण नहुँदा दूषित पानी पिउनुपर्ने बाध्यता यसपालिबाट हटेको छ । पानीकै लागि लामो समयसम्म कुवामा पालो कुर्नुपर्ने दिन सकिएका छन् ।

उनले भनिन्, ‘छिमेकमा बोलचाल हुँदैनथ्यो, राति राति अँध्यारो बाटो जाँदा कहिले सर्पले टोक्ला भन्ने डर कहिले चिप्लिएर लडिएला भन्ने डर, अब सधैँका लागि अन्त्य भयो ।’ 

दैलेखको दुर्गम भैरवी गाउँपालिकाको डाब बस्तीमा ६५ वर्षपछि खानेपानी वडामै पुगेको छ । यसअघि परम्परागत रूपमै यहाँका बासिन्दाले कुवाबाट पानी ल्याउने गर्दथे ।

भैरवी गाउँपालिका– २ मा पनि पानीका मुहानहरू संरक्षण भएपछि रातभर ट्यांकीमा जम्मा भएको पानीले बिहान सजिलै गाग्री भरिने र समयमै पालो आउन थालेपछि महिलाहरूको कार्यबोझ घटेको जनाएका छन् । 

धारामा कुर्नुपर्ने समयलाई महिलाहरूले अन्य उत्पादनका क्षेत्रमा लगाउन पाउने भन्दै हर्ष व्यक्त गरेका छन् । 

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएको भैरवी गाउँपालिका– १ को डाव गाउँका ५० घरपरिवारका लागि अहिले सोलार लिफ्टमार्फत घरमै पानि पुऱ्याइएको छ । सुक्खा डाँडामा खानेपानी आएपछि सुविधा पाएको स्थानीयले महसुस गरेका छन् । 

दैलेखको भैरवी गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले पालिकाका विभिन्न वडाहरूमा अति आवश्यक भएका स्थानहरूमा सुरु गरिएको खानेपानी योजना, मूल सुधारका कामहरू लकडाउनकै अवधिमा सम्पन्न भएका छन्  । 

आवश्यकताका आधारमा योजना दिए स्थानीयहरूको सक्रियता बढ्ने र भनेकै समयमा आयोजना सम्पन्न हुने उदाहरण भैरवीका खानेपानी योजनाहरूमा देखिएको छ । स्थानीय संस्था एभरेष्ट क्लबको सामाजिक परिचालनमा कामहरू सञ्चालन गरिएका छन् । 

योजना बन्नुअघि मध्य र अन्त्यमा अनिवार्य उपभोक्ताहरूसँग समन्वय गर्ने, सुशासन र पारदर्शिताका कामहरू गर्ने भएकाले खानेपानीका योजनाहरू प्रभावकारी भएको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले जानकारी दिएका छन् । 

भैरवी गाउँपालिकाको समन्वयमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले यस वर्ष दुई करोडभन्दा बढी रकम खानेपानी र मुहान संरक्षणमा खर्च गरेको जनाएको छ । 

खानेपानीको आपूर्तिसँगै सरसफाइका गतिविधिहरू पनि गाउँमा प्रभावकारी रूपमा अघि बढेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना दैलेखका सल्लाहकार लक्ष्मीचन्द्र महतले जानकारी दिए ।