मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १९ शुक्रबार ०९:५९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्–ओलीको रबैयाले पार्टी फुटसम्म पुग्न सक्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १९ शुक्रबार ०९:५९:००

प्रधानमन्त्री केपी शर्मा ओलीको यसपटकको रबैया हेर्दा सत्तारुढ नेकपा फुटसम्म पुग्छ कि भन्ने देखिन्छ । संसद् अधिवेशन एकाएक अन्त्य गर्नु भनेको पार्टी फुटाउनका लागि इच्छुक हुन् भन्ने हो । सभामुख र अध्यक्ष, आफ्ना मन्त्रीहरूसँग सल्लाह नगरी नियम असंगत रूपमा संसद्को अधिवेशनको अन्त्य किन ? ओलीले अहिलेकै अप्ठ्यारोले यस्तो गरेका हुन् । आफू संसदीय दल, सचिवालय, स्थायी समिति, केन्द्रीय समिति सबैतिर अल्पमतमा रहेकाले यसपटक ओलीसामु धेरै दबाब छ । यसकारण अध्यादेश ल्याएर आफूखुसी अघि बढ्न खोजेका छन् । राष्ट्रपतिलाई तारन्तार भेट गर्ने, छिटो अधिवेशन अन्त्य गर्ने काम गर्नु भनेको चरम दबाब हो । 

बरु प्रचण्ड, झलनाथ खनाल र माधव नेपालहरूले केही दिन समय लिएर भए पनि पार्टी फुटाइहाल्ने चाहना गरेजस्तो देखिन्न । तर, घनश्याम भुसालजस्ता नेताहरू पनि पक्षविपक्षमा बाँडिएका छन् । प्रधानमन्त्रीको राजीनामा माग्नेहरू सकभर पार्टी नफुटोस् भन्ने मनस्थितिमा छन् । प्रचण्डहरूले ओलीले वचन पूरा गर्दैनन् भनेर यसपटक अलि बढी नै धक्का दिन खोजेको देखिन्छ । सबैले अब हेपाइ धेरै नै भयो भन्ने ठानेको देखिन्छ । 

ओलीसामु एमसिसीको मात्रै दबाब छैन । अरू चार मुद्दा पनि छन् । प्रधानमन्त्रीले ठीक ढंगले पावर सेयर गरेनन्, प्रधानमन्त्रीले पावर सेयरिङ ठीक ढंगले नगर्दा पार्टी बदनाम भएको, ओलीको घमण्डले प्रचण्ड, माधव नेपाल, झलनाथ खनालसहित सबै नेता हेपिएको बुझाइमा छन् । साथै, मन्त्रीहरूले समेत प्रधानमन्त्रीलाई भेट्न नपाउने अवस्था छ । ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेलजस्ता ओलीनिकटका नेताहरू पनि उनीप्रति त्यति धेरै खुलेर लागेका देखिँदैनन् । विष्णु रिमाल र सुवास नेम्वाङ मात्रै ओलीकै भाषा बोलिरहेका छन् । असन्तुष्टि गुजुल्टिएर अहिले ओलीविरुद्ध पार्टीमा मत बढेर गएको हो । तर, यसपटक ओलीलाई म्यानेज गर्न गाह्रो पर्ने देखिन्छ । ओली समय घर्काएर अर्को पक्षबाट मान्छे तान्ने र आफ्नो तयारी गर्नेमा देखिन्छन् । 

हुन पनि ओली प्रधानमन्त्री भएयता नै सबैभन्दा कमजोर अवस्थामा छन् । मैले राम्रै काम गरेको हुँ, तर पार्टीबाट सहयोग नभएको भन्ने मानसिकता उनको छ । ओली अझै पनि संसदीय दलमा आफ्नो ५० प्रतिशत हिस्सा जुटाउने पक्षमा देखिन्छन् । पार्टी फुट्यो भने कांग्रेस र मधेसी दलसँग मिलेर सरकार बनाउने विकल्प ओलीका लागि होला । तर, यी सबैको सार भनेको नेपालमा अस्थिरताले फेरि जरो गाड्छ भन्ने नै हो । साथै, कम्युनिस्टप्रति चरम वितृष्णा उब्जिनेछ । यस्तै अस्थिरता हुँदा जनतामा निराशा छाइरहन्छ ।