मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १९ शुक्रबार ०८:२९:००
Read Time : > 1 मिनेट
सम्पादकीय

धराप नबनोस् सडक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १९ शुक्रबार ०८:२९:००

विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार नेपालमा औसत १४ जनाको ज्यान सवारी दुर्घटनाका कारण जाने गरेको देखिन्छ । अर्थात् नेपालमा वार्षिक सरदर पाँच हजार एक सय २५ जना सडक दुर्घटनामा मारिन्छन् । यो परिणाम ०७२ सालको विनाशकारी भूकम्पबाट मारिनेको कुल संख्याको आधाभन्दा बढी हो भने दशवर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनेको कुल संख्याको एकतिहाइ हो । अर्थात् एउटा ठूलो परिमाणमा नेपालभित्र सडक दुर्घटनाका कारण सर्वसाधारणको ज्यान गइरहेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक २५ सेकेन्डमा सडक दुर्घटनाका कारण एकजनाको मृत्यु हुने गरेको छ । कुल सडक दुर्घटनाबाट हुने मृत्युमध्ये मध्यम आय भएका मुलुकमा ७४ प्रतिशत रहेको छ, जबकि त्यहाँ जम्मा सडक यातायात सामग्रीको हिस्सा ५३ प्रतिशत मात्र छ । त्यसैगरी निम्न तथा मध्यम आय भएको मुलुकमा पैदलयात्रुको दुर्घटना मृत्युदर पनि अत्यधिक देखिन्छ । यी सबै दृष्टिकोणबाट प्रस्ट हुन्छ कि नेपाल पनि सडक दुर्घटना हुने संवेदनशील मुलुकको रूपमा दर्ज भएको छ । केही अफ्रिकन मुलुक छाडेर नेपाल पनि सडक दुर्घटनाको जोखिमयुक्त मुलुकमा पर्ने गरेको छ ।

मुलुकअनुसार सडक दुर्घटनाका फरक–फरक कारण हुन सक्छन् । नेपालको हकमा अत्यधिक दुर्घटना चालकको लापर्बाहीका कारण हुने गरेको देखिन्छ । त्यसैगरी तीव्र गति, ओभरटेक तथा पैदलयात्रीको लापर्बाहीका कारण पनि दुर्घटना हुने गरेका छन् । ओभर लोड तथा यान्त्रिक गडबडी सदाबहार समस्या नै हुन् । त्यति मात्र होइन, साँघुरा र मापदण्डबेगरका सडकले निम्त्याइरहेको खतरा मुलुकभर झन् व्यापक देखिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक २५ सेकेन्डमा सडक दुर्घटनाका कारण एकजनाको मृत्यु हुने गरेको छ । कुल सडक दुर्घटनाबाट हुने मृत्युमध्ये मध्यम आय भएका मुलुकमा ७४ प्रतिशत रहेको छ, जबकि त्यहाँ जम्मा सडक यातायात सामग्रीको हिस्सा ५३ प्रतिशत मात्र छ ।

अधिकांश साना तर धेरै दुर्घटना सहरी इलाकामा हुने गरेको तथ्यांकले देखाउँछ । सहरी क्षेत्रको दुर्घटनाको दरलाई यही लकडाउनका दौरान र खुकुलो भइसकेपछिको काठमाडौंको तथ्यांकको तुलनात्मक अध्ययनबाट पनि अन्दाज लगाउन सकिन्छ । लकडाउन खुकुलो भएपछिको १५ दिनमा उपत्यकामा मात्रै दुई सय ६० भन्दा अधिक दुर्घटना भइसकेका छन् । लकडाउनका दौरान पनि यहाँ दैनिक औसत सात दुर्घटना हुन्थे भने अहिले बढेर १७ पुगिसकेको छ । र, सामान्य अवस्थामा यो संख्या अझ बढेर जाने निश्चित छ । त्यसमाथि अन्य सवारीसाधनको तुलनामा काठमाडौंमा मोटरसाइकल दुर्घटना अत्यधिक हुने गरेको छ । मोटरसाइकलको संख्या अत्यधिक हुनु पनि यसको प्रमुख कारण हो । 

संघीय संसद्को विकास तथा प्रविधि समितिले गठन गरेको ‘सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमिति’को प्रतिवेदनले राजधानीलगायत सहरी क्षेत्रमा सवारीको अत्यधिक चाप, कमजोर ट्राफिक व्यवस्थापन, मापदण्डअनुसारको गुणस्तरीय सडकको अभाव, चालक तथा बाटो काट्ने पैदलयात्रीको लापर्बाही, सडकपेटीमाथिको अतिक्रमण, ट्राफिक सिग्नलको अभाव तथा पुराना सवारीसाधनको बाहुल्यलाई दुर्घटनाको प्रमुख कारणको रूपमा औँल्याएको छ । उपसमितिले पनि पुराना सवारीसाधन न्यूनीकरण गरेर, चालक र सवारीको अवस्थाको अनुगमन बढाएर, जनचेतना जगाएर, भूबनोटअनुसार सवारी रुट अनुमतिको व्यवस्था गरेर, दुर्घटनापछिको उद्धार व्यवस्थापन चुस्त पारेर तथा जनचेतना जगाएर दुर्घटना र दुर्घटना मृत्युदर घटाउने उपाय सुझाएको छ । 

नेपालमा सडक दुर्घटना र मृत्युदरको स्थिति विकराल देखिन्छ । सडक दुर्घटनाका कारणको पहिचान र सम्बोधन गरिएमा समस्या निर्मूलै गर्न नसकिए पनि न्यूनीकरण अवश्य गर्न सकिन्छ । र, सडकलाई धराप बन्नबाट रोक्न सकिन्छ ।