मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १९ शुक्रबार ०८:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्रीले राष्ट्रपतिलाई पनि दुरुपयोग गर्न खोज्दै छन् : खनाल

प्रधानमन्त्रीले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, संसदीय दल र संसद् जहाँ पनि फेस गर्न खोज्नुहुन्छ भने हामी तयार छौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १९ शुक्रबार ०८:१४:००

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली लोकतन्त्रलाई बलियो बनाउने राज्यका संरचनालाई भत्काउन उद्यत् रहेको बताएका छन् । प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत दुरुपयोग गर्ने कोसिस गरिरहेको खनालको दाबी छ । 

‘हामी देशमा एउटा परिपाटी बसाउन खोज्दै छौँ । लोकतन्त्र भनेको के हो ? लोकतन्त्र कसरी चल्छ ? विभिन्न संस्थागत संरचनाले कसरी भूमिका खेल्नुपर्छ भन्ने विषयमा हामी एउटा परिपाटी बसाउन खोज्दै छौँ । तर, अहिले प्रधानमन्त्रीले ती सबै संरचना भत्काउन खोज्दै हुनुहुन्छ । राष्ट्रपतिको समेत दुरुपयोग गर्ने कोसिस गरिरहनुभएको छ । राष्ट्रपति दुरुपयोगमा आउनु हुँदैन । राष्ट्रपति भनेको गरिमामय साझा संस्था हो, त्यो साझा संस्थाले त्यहीअनुसार परिचालित हुनुपर्छ,’ खनालले जनता टेलिभिजनलाई बिहीबार साँझ दिएको अन्तर्वार्तामा भनेका छन् । 

प्रधानमन्त्रीनिवास बालुवाटारमै पार्टी स्थायी समितिको बैठक चलिरहेका वेला हठात् आफूनजिकका मन्त्रीहरूलाई मात्रै राखेर मन्त्रिपरिषद्बाट चालू संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीको नियतमाथि थप शंका भएको नेता खनालको भनाइ छ । त्यही भएर पार्टीका तर्फबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री र राष्ट्रपतिसँग छलफल गर्न लगाएको उनले बताएका छन् । 

‘प्रधानमन्त्री तथा अध्यक्ष पार्टी बैठकमा नआउने, तर निकटस्थ व्यक्तिहरूसँग गुप्त छलफल गर्ने र पार्टी बैठक चलिरहेका वेला मन्त्रिपरिषद्को बैठक गरेर संसद् अधिवेशन अन्त्य गरेपछि हामीले पनि केही शंका गर्‍यौँ । किनभने संसद् जारी रहेको वेलामा कुनै पनि अध्यादेश ल्याउन सकिँदैन । अधिवेशन अन्त्य गरेर प्रधानमन्त्रीले त्यसप्रकारको अध्यादेश ल्याउने हो कि भन्ने हामीलाई शंका पनि लागेको छ,’ नेता खनालको भनाइ छ, ‘त्यही भएर हामीले अर्का अध्यक्षलाई प्रधानमन्त्रीसँग वार्ता गरायौँ । त्यति मात्रै होइन, पार्टीका तर्फबाट राष्ट्रपतिसँग पनि छलफल गर्नुस् भन्यौँ । उहाँ जानुभयो र राष्ट्रपतिलाई सोध्नुभयो– ‘३० प्रतिशतले पार्टी फुटाउन सक्ने प्रावधानसहितको अर्को अध्यादेश आउँदै छ भन्ने सुनिन्छ, के चिज हो यो ? तर, राष्ट्रपतिले अहिले त्यस्तो केही छैन भनेर भन्नुभएको छ ।’

प्रधानमन्त्रीले ल्याउने प्रस्तावहरूमा पार्टीका अन्य नेतासँग पनि परामर्श गरेर मात्रै निर्णय गर्दा थप राम्रो हुने सुझाब पनि राष्ट्रपतिलाई दिइएको नेता खनालले बताएका छन् । ‘हामीले राष्ट्रपतिज्यूलाई पनि भन्यौँ कि प्रधानमन्त्रीले कुनै पनि अध्यादेश पठाउनुहुन्छ भने त्यस विषयमा पार्टीका अरू नेतासँग पनि सरसल्लाह गर्ने गर्नुस् । जे ल्यायो, त्यही तुरुन्तै पास गर्ने ? आज संसद् अन्त्य गर्ने भनेर अपर्झट ल्याएको प्रस्ताव तत्कालै स्वीकृत गर्नुभयो । यस्तो किन ? राष्ट्रपतिले अरूको कुरा पनि सुनेर निर्णय गर्नु राम्रो होइन र भनेर अध्यक्षले सुझाब दिनुभएको छ,’ खनालको भनाइ छ । 

पार्टी विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४०–४० प्रतिशत संख्या हुनुपर्ने संविधानको अहिलेको व्यवस्था भएकाले प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न नसक्ने नेता खनालको दाबी छ । ‘हामी फुट र विभाजनको पक्षमा छैनौँ । र, अहिलेको संविधान, ऐनकानुन र नियमअनुसार पनि पार्टी फुट्ने कुनै सम्भावना छैन । तर, कोही मान्छे पार्टीबाट चोइटिएर जान्छ, पार्टीबाट निष्कासित हुन चाहन्छ, पार्टीबाट आफैँ हट्न चाहन्छ र एकाध मान्छेलाई लिएर साना टुक्राटाक्री निर्माण गर्न चाहन्छ भने त्यो उसको कुरा हो,’ उनले भनेका छन् । प्रधानमन्त्री ओलीलाई आफू बहुमतमा रहेको सिद्ध गर्न पार्टी सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी, संसदीय दल र संसद् जहाँ भने पनि मौका दिइने खनालले बताए ।