मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
झिकुन झु
२०७७ असार १९ शुक्रबार ०७:५९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

अमेरिकातर्फ धेरै केन्द्रित हुँदा चीनले भारत गुमाउन सक्छ

अमेरिकासँग बढ्दो तिक्ततामाझ भारतजस्ता छिमेकीसँग सौहार्दपूर्ण सम्बन्ध राख्नु चीनकै भलाइमा छ 

Read Time : > 2 मिनेट
झिकुन झु
२०७७ असार १९ शुक्रबार ०७:५९:००

न महिनाको मध्यमा चीनको परराष्ट्र मामिलाका दुई महत्वपूर्ण घटना घटे । एउटा घटना, भारत र चीनको विवादित सिमानानजिक गलवान उपत्यकामा दुई देशका फौजबीच हिंसात्मक झडप भयो । अर्को अमेरिकाको हवाई राज्यमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय विदेश मामिला आयोगका निर्देशक याङ जेइचीबीच भेटवार्ता भयो । गलवान क्षेत्रको झडपलाई भारतीय मिडियाले प्राथमिकता दिए । यसले भारतको सार्वजनिक बहसमा पनि चर्चा पायो । तर, चिनियाँ मिडियामा भने यसले थोरै मात्र स्थान पायो । उता, चिनियाँ सरकारी मिडिया र सामाजिक सञ्जालमा पोम्पेओ-याङ बैठकबारे ठूलो चर्चा-परिचर्चा भयो । यसबाट नै चीनको कूटनीतिक प्राथमिकता केमा छ, प्रस्ट्याउँछ । भारतीय विदेश नीतिमा चीनले शीर्ष स्थान राख्छ । 

चीनका प्रत्येक कदमलाई भारतीयले नजिकबाट निगरानी गरिरहेका हुन्छन् र चीनसँगका जोडिएका हरेक मुद्दाले त्यहाँ ठूलो महत्व पाउँछ । यो किन हुन्छ भने विश्व शक्तिको भारतीय सपनाको एउटा मानक हो, चीन । अर्कोतर्फ, चीनको विदेश नीति अमेरिकामा केन्द्रित छ । चिनियाँ सरकार तथा विज्ञहरू सार्वजनिक रूपमै अमेरिका–चीनबीचको सम्बन्धलाई २१औँ शताब्दीको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध बताउँछन् । र, चीनले कूटनीतिक रूपमा भारतलाई गम्भीरतापूर्वक लिएको देखिँदैन । एकअर्काप्रतिको यो बुझाइको भिन्नताका अतिरिक्त ऐतिहासिक बिरासत, सुरक्षा अन्योलता र तेस्रो पक्षको संलग्नताले दुई देशको सम्बन्धलाई थप तिक्त बनाइरहेको छ । 

सन् १९५० को दशक भारत–चीन सम्बन्धको स्वर्णयुग थियो । तर, सन् १९६२ को सीमायुद्धले यो सम्बन्धमा चिसोपन बढाइदियो । यो युद्धको प्रभाबाट अझै दुई देश बाहिरिन सकेका छैनन् । भारतीय तथा चिनियाँ फौज पटक–पटक स्पष्ट सीमांकन नभएको दुई देशको सीमारेख ‘लाइन अफ एक्चुअल कन्ट्रोल (एसएसी)’ पार हुने गर्छन् । पछिल्लो समय देखिएका गतिरोधको प्रमुख कारण यही हुने गरेको छ । भारत र चीन दक्षिण एसिया र अन्यत्र आर्थिक र रणनीतिक प्रतिस्पर्धा गरिरहेका देखिन्छन् । तेस्रो पक्षको संलग्नता दुई देशको सम्बन्धको चिसोपन वृद्धिको कारण बन्छ ।

चीनको विदेश नीति अमेरिका केन्द्रित छ । चिनियाँ  सरकार तथा विज्ञहरू सार्वजनिक रूपमै अमेरिका–चीनबीचको सम्बन्धलाई २१औँ शताब्दीको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध बताउँछन् ।

पाकिस्तानको चीनसँगको बढ्दो घनिष्टता र शीतयुद्धको जस्तो सम्बन्ध हुँदै गएको अमेरिकाले भारतलाई आफ्नो पक्षमा लिने प्रयासले परिस्थितिलाई थप जटिल बनाएको छ । भारत र चीनबीच केही मात्रामा प्रतिद्वन्द्विता त कायमै रहनेछ र त्यसको अर्थ दुई देश अवश्यम्भावी रूपमा भिड्नेछन् भन्ने होइन । सम्बन्ध सुधार गर्ने हो भने चिनियाँ र भारतीय नेतृत्वले अहिलेको विषम परिस्थितिमा आफ्ना साझा चासोलाई अभिवृद्धि गर्नुपर्छ । त्यस्तै हालको सहकार्यलाई सुचारु राख्नुपर्छ । आखिर युद्ध भड्किएको अवस्थामा दुवै देशको घरेलु तथा अन्तर्राष्ट्रिय महत्वाकांक्षामा आघात पुग्नेछ । चीन र अमेरिकाबीचको बढ्दो तिक्ततामाझ भारतजस्ता छिमेकीसँग सौहार्दपूर्ण सम्बन्ध राख्नु चीनकै भलाइमा छ ।

भावी दिनमा चीनको प्राथमिकतामा अमेरिकाभन्दा पनि एसिया हुनुपर्छ । कोभिड-१९ का कारण विश्वव्यापी रूपमा चीनको छवि बिग्रेको वेलामै अस्ट्रेलिया र जापानसँगको उसको सम्बन्ध कमजोर बनेको छ । अन्यत्रजस्तै केही भारतीय कोरोना विस्तारका लागि चीनलाई दोषी मान्छन् । भारतले अमेरिकासँग घनिष्टता बढाएको भए पनि ऊ अझै अस्ट्रेलिया र जापानजस्तो अमेरिकाको क्याम्पमा गइसकेको छैन । तर, सीमाविवादको परिपे्रक्ष्यमा बेइजिङले शत्रुता बढाएमा भारत थप अमेरिकानजिक हुनेछ । त्यसो भएमा अमेरिकासँगको सन्निकट शीतयुद्ध चीनका लागि दुस्वप्न साबित हुनेछ । 

चीनले थप शत्रु नकमाउने हो र भारतलाई अमेरिका पक्षमा जानबाट रोक्ने हो भने भारतसँगको तनाव कम गर्नुको विकल्प छैन । सीमासंकटलाई कसरी सम्हाल्ने भन्ने विषयमा चिनियाँ नेतृत्वमा समान धारणा नहुन सक्छ । तर, कोही पनि भारत ‘गुमाएको’ दोष लिने परिस्थितिमा देखिँदैनन् । सम्भवतः राष्ट्रपति सी आफ्ना केही गरम कूटनीतिज्ञ र जनरललाई थामथुम पार्ने प्रयासमा छन् । दुई देशबीच सञ्चार अझै खुला छ र दुवै देशको नेतृत्व शान्तिपूर्वक रूपमा समस्या समाधान गर्न इच्छुक देखिन्छन् । चिनियाँहरूमाझ एक भनाइ छ : ‘टाढाको नातेदारभन्दा नजिकको छिमेकी प्यारो हुन्छ ।’ चीनले अमेरिकाकेन्द्रित विदेश नीतिको साटो अब एसियामा ध्यानकेन्द्रित गर्नुपर्छ र भारत यो नयाँ कूटनीतिको महत्वपूर्ण हिस्सा हुनुपर्छ । 

(झिकुन झु अमेरिकास्थित बकनेल विश्वविद्यालयका राजनीतिशास्त्र तथा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हुन् ।)
अल जजिराबाट