Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ९ शुक्रबार
  • Friday, 25 September, 2020
मेलिन्डा वेनर मोयर
२०७७ असार १९ शुक्रबार ०७:४९:००
दृष्टिकोण

कोभिड-१९ ले दिमागमा पनि क्षति गर्छ ?

मेलिन्डा वेनर मोयर
२०७७ असार १९ शुक्रबार ०७:४९:००

चेल्सी एलिओनरलाई तीन महिनासम्म ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने र बिर्सिने समस्या भयो । मार्च ९ मा उनले जीवनकै सबैभन्दा पीडादायी टाउको दुखाइ सहिन् । त्यसपछि उनलाई स्वाद र गन्ध महसुस नै हुन छाड्यो । पछि गरिएको परीक्षणमा उनलाई कोराना पोजिटिभ देखियो । चेल्सीलाई कोभिड-१९ हुँदा जति पनि लक्षण देखिए, ती रोगको सामान्य लक्षणभन्दा अलग थिए । त्यसैगरी उनलाई संक्रमण निको हुन पनि सामान्य मानिसभन्दा धेरै लामो समय लाग्यो । उनका हातखुट्टाका औँलाले छुँदा महसुस गर्न छाडेका थिए, हेर्दा धमिलो देख्थिन् र उनलाई जतिखेरै थकाइ मात्र लागिरहन्थ्यो । ३७ वर्षकी मेलिन्डा अहिले एक फेसबुक सहायता समूहमा आबद्ध छिन्, जसका अधिकांश सदस्यलाई कोभिड–१९ निको हुन ८० दिनभन्दा बढी समय लाग्यो । त्यस फेसबुक ग्रुपमा अहिलेसम्म ४ हजार सदस्य छन् । 

कोरोना भाइरसबारे नयाँ–नयाँ जानकारी हासिल भइरहँदा यसले श्वासप्रश्वास प्रणालीलाई मात्र नभएर अन्य अंगलाई पनि असर गर्ने देखिँदै गएको छ । भाइरसले शरीरका कैयन् प्रमुख अंग प्रणालीलाई हानि पु-याउन सक्छ । यसमा दिमाग र केन्द्रीय स्नायु प्रणाली पनि पर्छ । महामारीको प्रारम्भमा वुहानका हस्पिटलमा भर्ना भएका बिरामीमध्ये एकतिहाइमा स्नायु प्रणालीसम्बन्धी लक्षण देखिएको थियो । तिनमा बेहोस हुने र सोचविचार गर्न नसक्नेजस्ता समस्या देखिएको थियो । यही महिनाको सुरुमा फ्रेन्च अनुसन्धानदाताले सार्वजनिक गरेको एक रिपोर्टमा कोभिड भएर आइसियुमा भर्ना भएकामध्ये ८४ प्रतिशतमा स्नायुसम्बन्धी समस्या देखिएको थियो । ३३ प्रतिशत संक्रमितमा डिस्चार्ज गरेपछि पनि अलमलमा परेजस्तो हुने, पूर्ण होसमा नभएको हुने समस्या देखिएको थियो । 

कोलम्बिया विश्वविद्यालयका साइक्याट्रिस्ट तथा संक्रमण रोगविज्ञ डा. म्याडी होर्निङका अनुसार कोरोना संक्रमित व्यक्तिलाई स्नायु समस्या पछिसम्म कायम रहने र असक्तता सिर्जना हुने सम्भावना छ । संक्रमणले स्नायु रोग निम्त्याउने तथ्य पहिले नै जानकारीमा रहेको विषय हो । सिफिलिस र एचआइभीले डिमेन्सिया गराउन सक्छ । जिका भाइरसले बढ्दो दिमागमाथि आक्रमण गरेर तिनको विकासलाई अवरोध गरेको देखिन्छ । त्यस्तै उपचार नगरिएको अवस्था लाइम डिजिजले स्नायु पीडा, अनुहारको प्यारालाइसिस र स्पाइनल कर्डको विस्तार गराउँछ । सार्स संक्रमित एक मानिस अचेत भएर कोमाको अवस्थामा पुगेका थिए । मृत्युपछि उनको दिमागको तन्तुमा भाइरस भेटिएको थियो । 

कोरोना भाइरसबारे प्राप्त नयाँ तथ्यअनुसार यसले श्वासप्रश्वास मात्र नभएर शरीरका अन्य प्रणालीमा पनि संक्रमण गर्ने देखिएको छ ।

स्नायुविज्ञको विश्वासमा सबै कोभिड बिरामीहरूको दिमागमा भाइरसले असर गर्दैन । तर, भाइरसले हालसम्म पहिचान नभएको विभन्न विधिमार्फत दिमागलाई चोट पु-याउँछ । नर्थवेस्ट मेमोरियल हस्पिटलमा न्युरो कोभिड-१९ क्लिनिक चलाउने डा. इगोर कोरल्निक निको भएका कोभिड बिरामीमा बुढेसकालमा दिमागी समस्या देखिन सक्ने आशंका गर्छन् । तर, कोरोनाले दिमागलाई कसरी असर गर्छ ?

टेक्सस ए–एन्ड–एम विश्वविद्यालयका प्राध्यापक डा.जेफ्री सिरिलोका अनुसार अनुसन्धानहरूले कोरोना भाइरसले सीधै स्नायु कोषलाई संक्रमित गर्ने देखाएको छ । सम्भवतः भाइरस कोषभित्र फैलिएर र ती कोषका कामलाई प्रभावित बनाउँछ । ‘कोरोना भाइरसले आक्रमण गरेपछि संक्रमितहरूमा लामो दिमागी समस्या उत्पन्न हुन सक्छ । तिनमा मुख्यत काम्ने समस्या देखिएको छ,’ कोरल्निकले भने । अप्रिलमा लस एन्जेल्सकी एक ४० वर्षीया महिलामा टाउको दुख्ने, काम्ने र ह्यालुसिनेसन(दिगभ्रमित हुने) समस्या देखिएको थियो । उनको सेरेब्रोस्पाइनल फ्लुडमा कोरोना भाइरसको आरएनए पाइएको थियो । 

कोरोना भाइरसबाट अप्रत्यक्ष रूपमा पनि स्नायु प्रणालीमा क्षति पुग्न सक्छ । कोरोना भाइरससँग लड्न हाम्रो प्रतिरोधात्मक प्रणाली सक्रिय हुँदा शरीरको ठूलो हिस्सामा इन्फ्लेमेसन(सुन्निने र रातो भएको अवस्था) हुन्छ । दिमागको इन्फ्लेमेसन हानिकारक हुन्छ भन्ने तथ्य नै हो । दिमागको इन्फ्लेमेसन हुँदा दिमागमा रगत जम्न सक्छ । अध्ययनले सिकिस्त भएका कोभिड बिरामीमध्ये तीस प्रतिशतमा रगत जम्ने समस्या हुने देखाएको छ ।

चीन र इटलीमा भएका अध्ययनले अस्पताल भर्ना भएका पाँच प्रतिशत कोभिड बिरामीमा स्ट्रोक भएको देखाएको छ । तर, न्युयोर्कमा भएको पछिल्लो अध्ययनले भने यसमा केही कम अर्थात् एक प्रतिशत अस्पतालमा भर्ना भएका बिरामीमा मात्र भएको देखियो । इन्फ्लेमेसन बढी भयो भने रोग प्रतिरोधात्मक प्रणालीले शरीरकै अन्य अंगमा आक्रमण गर्न थाल्छ । थोरै कोभिड बिरामीमा गिलेन–बार सिन्ड्रोम देखिएको छ । यो समस्या भएको अवस्थामा शरीरको प्रतिरोधात्मक प्रणालीले दिमागी स्नायुमाथि आक्रमण गर्छ । 

कोरोनाले मानव दिमागमा असर गरेको लक्षण र चिन्तामाझ स्नायुविज्ञले कोभिड बिरामीहरूको दिमाग अध्ययनलाई पनि जोड दिनुपर्ने बताइरहेका छन् । कोभिडबाट दिमागमा पर्ने असरलाई दिमागले कसरी प्रतिक्रिया जनाउँछ भन्नेमा अझै धेरै अध्ययन हुन बाँकी नै छ । ‘कोभिडको दिमागमा पार्ने असरबारे धेरैपछि मात्र ध्यान गयो । अब हामीले यसको दीर्घकालीन असरबारे भने छिटो थाहा पाउन अध्ययन गर्नुपर्छ,’ स्नायुविज्ञको भनाइ छ । यस विषयमा हुने अनुसन्धानले कोरोना भाइरसले संक्रमित मानिसको स्नायु प्रणालीको क्षतिलाई कम गर्ने औषधी र उपचार निर्माणमा सघाउँछ । स्नायु चिकित्सक कोरोना भाइरसका कारण अस्पतालमा भर्ना भएका सबैको दिमागको एमआरआई गराउनुपर्ने बताउन थालेका छन् । अहिले सबै ध्यान कोभिड बिरामीलाई बचाउनेमा गइरहेका छ, अब भाइरसका दीर्घकालीन असरमा पनि ध्यान दिनुपर्ने वेला आएको छ । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

(मोयर विज्ञान तथा स्वास्थ्यसम्बन्धी लेखक हुन् ।)