Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार १९ शुक्रबार ०७:२२:००
Read Time : > 1 मिनेट
प्रदेश

धान रोप्न गएका पाँचजनाको चट्याङ लागेर मृत्यु

Read Time : > 1 मिनेट
२०७७ असार १९ शुक्रबार ०७:२२:००

बारा र सर्लाहीमा चट्याङ लागेर पाँचजनाको मृत्यु भएको छ । छुट्टाछुट्टै स्थानमा चट्याङले चार महिला र एक युवकको मृत्यु भएको हो । बिहीबार बिहान वर्षासँगै परेको चट्याङले बाराको फेटा गाउँपालिकाका दुई र कलैया उपमहानगरपालिकाका दुई गरी चार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा फेटा गाउँपालिका–१ त्रिवेनीनिवासी ३० वर्षीया सिन्दु देवी, ४० वर्षीया सुनरपती देवी तथा कलैया उपमहानगरपालिका शीतलपुर निवासी ४५ वर्षीया हलिमा खातुन र ३५ वर्षीया आशादेवी महतो रहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । चारैजना महिला बिहान ७ बजे धान रोपाइँका लागि खेतमा गएको वेला चट्याङ लागेर मृत्यु भएको उनको भनाइ छ ।

फेटा गाउँपालिका–१ मा चट्याङ लागेर सातजना महिला घाइते भएका छन् । घाइते हुनेमा बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लीलावती देवी, शोषिता देवी र शीला देवी छन् । उनीहरूको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
त्यस्तै, चट्याङ लागेर सर्लाहीमा एक युवकको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

बिहीबार बिहान बागमती नगरपालिका–८ स्थित सुनमाया बस्नेतको खेतमा धान रोप्न गएका बागमती नगरपालिका–१० बस्ने नरेश हजारीका १८ वर्षीय छोरा छोटु पासवानको चट्याङ लागेर मृत्यु भएको हो । खेतमा काम गर्दै गरेका पासवान र सोही स्थानकी हिरा मुखियाकी श्रीमती कमलादेवी मुखिया घाइते भएका छन् । घाइते पासवानलाई उपचारका लागि बरहथवातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । अर्की घाइते मुखिया भने उपचारपछि घर फर्किसकेकी छन् । यस्तै, बलरा नगरपालिका–१ बस्ने मानन सहनीका छोरा जरुण सहनी पनि चट्याङ लागेर घाइते भएका छन् । 

चट्याङले पर्सामा पनि क्षति
पर्सामा चट्याङले एकजना घाइते भएका छन् । घाइते हुनेमा बहुदरमाई नगरपालिका–३ का १३ वर्षीय रहमत हवारी छन् । हवारीको वीरगन्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजित कुँवरले जानकारी दिए । चट्याङले वीरगन्ज–१४ स्थित जनस्वास्थ्य कार्यालय पर्साको भवनमा समेत क्षति पुगेको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाका अनुसार जडान गरिएको विद्युतीय सामानमा क्षति पुगेको हो । चट्याङबाट करिब २० लाखबराबरको क्षति भएको अनुमान गरिएको छ ।