१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मिलन पाण्डे काठमाडाैं
२०७७ असार १९ शुक्रबार ०६:३३:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

अब परीक्षा प्रणाली नै बदलौँ

Read Time : > 5 मिनेट
मिलन पाण्डे, काठमाडाैं
२०७७ असार १९ शुक्रबार ०६:३३:००

विद्यार्थीको बुझाइको मापन गर्न नसक्ने, उपलब्धि देखाउन नसक्ने, लक्ष्य प्राप्तिमा सहयोग गर्न नसक्ने परीक्षाको औचित्य रहँदैन 

१९५२ मा अमेरिकाको एयर फोर्समा समस्या आयो । पाइलटहरू अब्बल थिए । प्लेन पनि गज्जब थियो, तैपनि नतिजा राम्रो आइरहेको थिएन । कारण कसैले पत्ता लगाउन सकिरहेका थिएनन् । अधिकांशले पाइलटलाई दोष लगाउँथे । केहीले प्राविधिक पाटोलाई देखाउँथे भने केहीको निसाना निर्देशकहरूतिर थियो । अध्ययन गर्दै जाँदा समस्या प्लेनको ककपिटमा रहेको पत्ता लाग्यो । ‘औसत’ पाइलटका लागि बनाइएको ककपिटमा बसेर प्लेन उडाउँदा, पाइलटहरूले सहज महसुस गर्न सकिरहेका रहेनछन् । यहीबीच अनुसन्धानकर्ता गिल्बर्ट ए ड्यानिएलले पाइलटहरूको १० वटा शारीरिक आयामलाई आधार बनाई अध्ययन गरे । चार हजारभन्दा बढी पाइलटमा अध्ययन गर्दा कति जनासँग त्यो ‘औसत’का लागि बनाइएको ककपिट मिल्यो होला, अनुमान लगाउनुहोस् त ? उत्तर ‘शून्य’ । हो, कोहीसँग पनि मिलेन । उनले निष्कर्ष निकाले, औसतका लागि बनाउनु भनेको कसैका लागि पनि होइन । औसत भन्ने वास्तवमा हुँदै हुँदैन । त्यसपछि, आफ्नो साइजअनुसार बढाउन–घटाउन मिल्ने ककपिट निर्माण भयो । यससँगै, पाइलटहरूको प्रदर्शनमा सुधार आयो । 

‘औसत’को भ्रमबारे ‘द इन्ड अफ एभरेज’ किताबमा ‘हार्वर्ड ग्राजुएट स्कुल अफ एजुकेसन’का प्रोफेसर टड रोजले विस्तारमा चर्चा गरेका छन् । तपाईंहरूलाई हाम्रो शिक्षाको समस्या के हो थाहा छ ? हामीले हाम्रा विद्यार्थीलाई पनि त्यही ‘औसत’ कुर्सीमा बसाउँदै आएका छौँ । औसत विद्यार्थीलाई सोचेर पाठ्यक्रम तयार पार्ने, सबैलाई उस्तै ठानेर पढाउने अनि उही परीक्षा प्रणालीले मूल्यांकन गर्ने । शिक्षा पनि प्लेनको त्यही ककपिटजस्तो आफूअनुसारको ‘एड्जस्ट’ गर्न मिल्ने नबनाएसम्म विद्यार्थीले उत्कृष्ट नतिजा निकाल्न सक्दैनन ।

सिकाइ भर्सेस परीक्षा : टड रोजकै अनुसार ‘ड्रप आउट’ हुनेमध्ये चार प्रतिशत विद्यार्थी बहुप्रतिभाशाली हुने गर्छन् । तर, हालको शिक्षा प्रणालीले उनीहरूलाई चिन्दैन । तीमध्ये अधिकांश परीक्षाले असफल ठहर्‍याइएका वा तर्साइएका हुन् । स्कुल जाने विद्यार्थीलाई पनि सम्झौता गराउँदा–गराउँदै हालको शिक्षा प्रणालीले भुत्ते बनाइदिइसकेको छ । हाम्रो शिक्षा प्रणाली नै परीक्षाको कुलतमा फसेको छ । अझ परीक्षा प्रणालीको अगाडि आत्मसमर्पण गरेको छ । आफ्नो मूल दायित्वबाट पन्छिएर घुँडा टेकेको छ । आज शिक्षाको अवस्था यस्तो छ कि, हामी परीक्षामा आउँने पाठ छ भने पढ्छौँ, छैन भने पढ्दैनौँ । शिक्षकले पनि पढाउँदा यो परीक्षामा आउँछ अनि यो परीक्षामा आउँदैन भन्दै विभेद गरेरै पढाउँछन् । यसरी हामी परीक्षाकेन्द्रित भएका छौँ । ‘किन पढ्ने’ भन्ने प्रश्नको उत्तर ‘सिकाइ’ होइन, जीवनमा भोलि काम लाग्छ भन्ने पनि होइन ।

परीक्षा एक व्यापार : त्रैमासिक परीक्षा, अर्धवार्षिक परीक्षा, वार्षिक परीक्षा आदि इत्यादि परीक्षाको तयारीको समय पनि जोड्ने हो भने विद्यार्थीको आधा समय परीक्षामै बित्दै छ । हामीले यही परीक्षाकै कारण पढाउने, छलफल गर्ने, सिक्ने समय नै पाइरहेका छैनौँ । जसरी पनि नम्बर ल्याउने होडबाजीमा हामीले सिक्न नै भुलेका छौँ अनि ‘सर्टकर्ट’ बाटो अपनाइरहेका छौँ ।

आज परीक्षा विद्यालयको शुल्क उठाउने औजार बनेको छ । ट्युसन, कोचिङ, गेसपेपर प्रकाशकलगायत केही व्यापारीको लुट्ने अस्त्र बनेको छ । परीक्षा त जनवादी अनि जनमुखी शिक्षा भन्नेहरूको धन्दा बनेको छ । पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले एउटा अन्तर्वार्तामा भनेको कुराले हाम्रो परीक्षाको व्यापारीकरण अनि दलालीकरण दर्साउँछ । उनले मन्त्री हुँदा गेसपेपर बन्द गर्ने प्रयास गर्दा पनि सकेनछन् । शिक्षासचिवले नै मानेनछन् । उनले नमान्नुको कारण थियो– उनी मुद्रण विभागमा हुँदा कुनै प्रकाशन गृहलाई सरकारको तर्फबाट फाइदा दिलाएका रहेछन् । यहाँ विद्यार्थीलाई के फाइदा हुन्छ होइन, व्यापारीलाई के फाइदा हुन्छ त्यो महत्वपूर्ण हुँदै गएको छ । त्यति मात्र पनि होइन, आज बुबा अनि शिक्षक नै विद्यार्थीलाई चिट चोराउन उद्यत छन् । स्कुल नै परीक्षा केन्द्र किन्न पर्ने गरी व्यापारीकरणमा फसेका छन् । योभन्दा शिक्षाका लागि अर्को दुर्भाग्य के हुन सक्छ ? अझ हिजो आज त प्रश्नपत्रको व्यापार सुरु भएको छ । अब तपाईं–हाम्रो अंकको मोलमोलाइसमेत सुरु हुन थालेको छ । ‘सर्टिफिकेट’को किनबेच हुन थालेको छ । परीक्षाको नाममा सिकाइको यो भ्रम अनि भय अब पनि नरोक्ने हो भने यसले हाम्रो शिक्षालाई ध्वस्त पार्ने निश्चित छ । 

तीनघन्टे परीक्षा प्रणालीको विकल्प निरन्तर मूल्यांकन हो । एउटा विद्यार्थीको मापन विद्यालय छिरेदेखि नै हुन जरुरी छ । बच्चाको मुड, रुचि, जिज्ञासुपन, सामूहिक भाव, परियोजना कार्य सबै हेरेर विद्यार्थीको मूल्यांकन जरुरी छ ।

अर्को विचलन प्रवेश परीक्षामा छ । धेरै विद्यालय अनि केही अध्ययन संस्थाले यही परीक्षाका नाममा करोडौँ असुलिरहेका छन् । एमबिबिएसकै प्रवेश परीक्षाको शुल्क प्रतिविद्यार्थी पाँच हजार रुपैयाँ छ । मैले शुल्क तिर्न नसकेर परीक्षा नदिएका विद्यार्थीहरू भेटेको छु । अझ अब त प्रवेश परीक्षा नै फेसन पनि बनेको छ । हिजोआज एक कक्षामा भर्ना गर्दासमेत कलिला बालबालिकाले लाइन बसेर प्रवेश परीक्षा दिनुपर्ने अवस्था छ । हे भगवान्, पढाइ नै सुरु नगरेका एक कक्षाको बच्चालाई समेत परीक्षा दिन लगाउने हामी कस्तो शिक्षा प्रणाली अपनाउँदै छौँ ?

परीक्षाको विकल्प :  विद्यार्थीको मूल्यांकन कक्षामा विद्यार्थीको सहभागिता, उसको काम गराइ, उसको सक्रियता, सोचको विकास, तार्किक क्षमता, सिर्जनशीलता आदिमा भर पर्छ । हामीले ती कुरा कहाँ मूल्यांकन गर्‍यौँ ? कसरी मूल्यांकन गर्यौं ? वर्षको अन्त्यमा केही पूर्वनिर्धारित प्रश्न सोधेर तीन घन्टा लेख्नु नै मूल्यांकन हो ? होइन । त्यसैले, यो तीनघन्टे परीक्षा प्रणालीको विकल्प निरन्तर मूल्यांकन हो । एउटा विद्यार्थीको मापन विद्यालय छिरेदेखि नै हुन जरुरी छ । बच्चाको मुड, रुचि, जिज्ञासुपन, सामूहिक भाव, परियोजना कार्य सबै हेरेर विद्यार्थीको मूल्यांकन जरुरी छ ।

मूल्यांकन दुई प्रकारले गर्न सकिन्छ– ‘फर्मेटिभ’ मूल्यांकन अनि ‘सम्मेटिभ’ मूल्यांकन । ‘सम्मेटिभ’ मूल्यांकनमा पाठ्यक्रमको अन्त्यमा परीक्षा लिइन्छ । यो त्यत्ति प्रभावकारी हुने गरेको छैन । अर्को, ‘फर्मेटिभ’ विधिबारे हामीले खासै काम गरेका छैनौँ । यो विधिअनुरूप, विद्यार्थीको मूल्यांकन प्रत्येक पाठ वा सिकाइपछि गरिन्छ । यस विधिमा विद्यार्थीको कमजोरीबारे वर्षको अन्तिममा होइन कि शिक्षक अनि परिवारले अगाडि सिक्दै गर्दा नै पत्ता पाउने हुँदा विद्यार्थीले आफूलाई सुधार्दै अघि बढाउन सक्छन् । 

विद्यार्थीको प्रत्येक दिनको गतिविधि एउटा सफ्टवेयर बनाएर वा रेकर्ड फाइल बनाएर रेकर्ड राख्ने हो भने, वर्षको अन्तिममा उनीहरूको मूल्यांकन आफैँ आउँछ । शिक्षकले त्यसमा नै विद्यार्थीको गृहकार्य, कक्षा गतिविधि, रुचि, व्यवहार, कमजोरीको टिपोट गर्न सक्छन् । परीक्षाको भय पनि हुँदैन । वैज्ञानिक मूल्यांकन पनि हुन्छ । 

विद्यार्थीलाई परीक्षामा सोधिने प्रश्नमै पनि प्रश्न गर्ने वेला आएको छ । प्रश्नले विद्यार्थीको सिर्जनात्मकता अनि बुझाइलाई दर्साउन सक्नुपर्छ । रटेर दिने प्रश्न अनि ‘गाइडमा कैद प्रश्नहरू’ अब परीक्षामा सोध्न बन्द गरिनुपर्छ । जसका लागि हामीले प्रश्नका ढाँचामा परिवर्तन गर्न जरुरी छ । प्रायः प्रश्न ‘के’ मा सोध्ने गरिन्छ, जस्तै– ‘कोरोना भनेको के हो ?’ जसको उत्तर रटेर पनि दिन सकिन्छ  । ‘किन’ प्रश्नले केही हदसम्म विद्यार्थीलाई विषयवस्तुसँग जोड्छ । जस्तै– ‘कोरोना किन फैलिँदै छ ?’ । तर, ‘कसरी’ ले भने सोच्ने क्षमताको विकास गर्छ । जस्तै– ‘कोरोनाबाट हामीले हाम्रो परिवार अनि साथीहरूलाई कसरी बचाउन सक्छौँ ?’ भन्ने खालका प्रश्नमा हामीले विद्यार्थीभित्रको आइडिया, पृथक्ता अनि सिर्जनशीलता पहिल्याउन सक्छ । समाधान खोज्न सक्छ । यसका लागि ‘ओपन बुक’ प्रणालीमा जाने वेला आइसकेको छ । विद्यार्थीले किताब हेर्दै लेख्न पाउने प्रणालीले विद्यार्थीको खोज अनि सिर्जनशीलतालाई दबाउँछ । आफूले लेखेको उत्तर कहाँबाट, कुन पेजबाट साभार गरिएको हो भनेर ती कुरामा आफ्नो बुझाइराख्न सिकाउन सके मात्र नयाँ कुरा खोज्न सकिन्छ ।

लिखित परीक्षाको मोडेलमै पनि परिवर्तन आवश्यक छ । विकल्पमा अन्तर्वार्ता, प्रस्तुतीकरण, भ्रमण रिपोर्ट, अध्ययन–अनुसन्धान, अवलोकन, खोज, अन्तत्र्रिmया, प्रोजेक्ट वर्क, सामाजिक कार्यमा नेतृत्व आदि हो । सामूहिक कार्यमा विद्यार्थीलाई सहभागी गराएर उनको काम मूल्यांकन त्यही टिमको साथीहरूबाट लिने विधि पनि अपनाउन सकिन्छ । यी कार्यले सिकाइको मर्म पनि मार्दैन अनि विद्यार्थीले पनि स्वमूल्यांकन गर्न पाउँछन् । हामी शिक्षक कापी जाँचेर नम्बर दिनुलाई मात्र मूल्यांकन ठान्छौँ, तर स्वमूल्यांकन नै सबैभन्दा ठूलो मूल्यांकन हो । 

परीक्षाको नतिजा पनि सम्बन्धित विद्यार्थी अनि उसको परिवारले मात्र हेर्न पाउने प्रणाली ल्याउन जरुरी छ । परीक्षाको नतिजा सूचना पाटी वा फेसबुकमा राख्ने कुरा होइन । विद्यार्थी अनि उनका अभिभावकबाहेक अरूलाई कसैको परीक्षाको अंक किन आवश्यक छ र ? प्रतिस्पर्धा आफूसँग हो, अरूसँग होइन भन्ने कुरा शिक्षा क्षेत्रमा लागेका सबैले बुझ्न जरुरी छ ।

निष्कर्ष : अहिले कोरोनाका कारण, एसइई नहुने भएको छ । ११ को परीक्षा पनि नहोला । १२ कक्षाको परीक्षा पनि नहोला वा अलि ढिलो होला । विश्वविद्यालयहरूमा पनि सेमेस्टरको परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने बहस हुँदै छ । भारतमा पनि ‘सिबिएसई’लगायत परीक्षा रद्द गरिएका छन् । पछि उपयुक्त समयमा परीक्षा दिने वा पछिल्लो दुइटा परीक्षाको मूल्यांकनलाई आधार बनाउने भन्ने विकल्पसमेत विद्यार्थीलाइ नै दिइएको छ । परीक्षा प्रणाली बदल्नका निम्ति कोरोना एउटा अवसर बनेर आएको छ । अब हामीले परीक्षा प्रणालीलाई बदलेर नयाँ मूल्यांकन विधि अपनाउन जरुरी छ । तर फेरि, परीक्षा प्रणाली मात्र बदलेर हुँदैन । त्यहीअनुरूपको पाठ्यक्रम अनि पढाउने विधि पनि बदल्न जरुरी छ । 

मूल्यांकन सिकाइको महत्वपूर्ण पाटो हो । परीक्षाले तीनवटा काम गर्न सक्नुपर्छ । पहिलो, विद्यार्थीको बुझाइको गहिराइ मापन गर्न सक्नुपर्छ । दोस्रो, मूल्यांकनले विद्यार्थीको उपलब्धि अनि प्रगति देखाउन सक्नुपर्छ । तेस्रो, परीक्षाले विद्यार्थीको लक्ष्य प्राप्तिमा सहयोग गर्न जरुरी छ । यी तिन काम परीक्षाले गर्न सक्दैन भने परीक्षाको औचित्य रह“दैन ।

आज परीक्षा सिकाइको अन्त्य बनेको छ । परीक्षा शिक्षाको अन्त्य होइन, सिकाइकै अभिन्न पाटो बन्न सक्नुपर्छ । गत वर्ष एसइईको नतिजा आएको भोलिपल्ट ‘ए मात्र आएको, ए प्लस नआए’ कोमा काठमाडौं बलम्बुकी सदीक्षा बहिनीले आत्महत्या गरेको समाचार ताजा नै छ । सदीक्षाहरूजस्ता सम्भावना बोकेका भाइबहिनीलाई मर्नसमेत बाध्य बनाउँदै गरेको यो परीक्षा हामी कसका लागि लिँदै छौँ ? के हाम्रा लागि सदीक्षाहरूको जीवनभन्दा यी परीक्षा ठूला हुन् ?

(लेखक विवेकशील नेपाली दलका अध्यक्ष हुन् ।)