१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अमेरिकी म्यागेजिन फोर्ब्सका प्रमुख कार्यकारी माइक पेर्लिस उद्योगपति विनोद चौधरीसँग ट्रेकिङमा।
नवीन अर्याल काठमाडाैं
२०७७ असार १९ शुक्रबार ०६:१७:००
Read Time : > 4 मिनेट
पर्यटन

सम्भावना हाइप्रोफाइल पर्यटनको  

कोभिड-१९ पछिको पर्यटन

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ असार १९ शुक्रबार ०६:१७:००

याक एन्ड यती होटेलका सञ्चालक अरुण सर्राफकी छोरी नतिशा र भारतीय उद्योगी विवेक सरावगीका छोरा करण फागुन ०७० मा विवाहबन्धनमा बाँधिए । सर्राफ परिवारकै मुख्य लगानी रहेको काठमाडौंस्थित होटेल हायातमा विवाह समारोह आयोजना गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार समारोहमा सहभागी हुन करिब एक दर्जन जहाज चार्टर्ड गरेर भारतका हाइप्रोफाइल उद्योगपतिहरू काठमाडौं उत्रेका थिए ।

गुपचुप नेपाल आएर यहाँको प्राकृतिक दृश्यावलोकनमा रमाउने विदेशी सेलेब्रिटी प्रशस्त हुने गर्छन् । तीमध्ये कसैले नेपालमै छँदा आफ्नो यात्राबारे सार्वजनिक गर्छन्, कतिपयले स्वदेश फर्केर मात्र जानकारी दिन्छन्।

भारतका पहिलो र विश्वका ११औँ धनाढ्य मुकेश अम्बानी, स्टिल जायन्ट एवं भारतका नवौँ धनी (त्यतिवेला दोस्रो) लक्ष्मी मित्तल, भारतकै ३८औँ (त्यतिवेला १७औँ) धनी अनिल अग्रवाललगायत उद्योगपति र उनीहरूका परिवार जन्ती आएका थिए । विवाहकै लागि करिब दुई साता होटेल याक एन्ड यतीले अन्य बुकिङ लिएन । निकै तामझामसहितको यो विवाहले त्यतिवेला नेपाल र भारतका सञ्चारमाध्यममा चर्चा पायो ।
 ...

१२ वैशाख ०७२ को भूकम्पपछिको पुनर्निर्माणमा साथ दिन बेलायतका तत्कालीन राजकुमार ह्यारी सोही वर्ष चैतमा नेपाल आए । करिब ११ दिने बसाइमा उनले काठमाडौं उपत्यका र गोरखाका भूकम्प पीडितलाई मात्र भेटेनन्, विद्यालय र सम्पदास्थलको पुनर्निर्माणमा सहभागी भएर नेपाल र बेलायतको दुई सय वर्ष पुरानो सम्बन्धलाई ताजा बनाए ।

हलिउड अभिनेत्री डेमी मुरले १–७ अप्रिल २०११ मा नेपाल भ्रमण गरेकी थिइन् । उनीसँग सिएनएनका नौजना पत्रकारको टोली पनि थियो । सन् २०१० की सिएनएन हिरो अनुराधा कोइरालाको कामबारे एक घन्टाको वृत्तचित्र बनायो, अभिनेत्री मुरसहितको टोलीले । ४ अप्रिलमा भैरहवा पुगेर मुरले नेपाली चेली भारतमा कसरी बेचिन्छन् भन्ने जानकारी लिइन् । त्यसपछि रसुवाको राम्चेसम्म पुगेर नेपालको प्राकृतिक छटामा रमाइन् ।

अमेरिकी गायिका मेन्डी मुरले मे २०१९ मा सगरमाथा आधार शिविरसम्म ट्रेकिङ गरिन् । काठमाडौंमा केही समय बिताएर उनी जहाजमार्फत लुक्ला पुगिन् । र, १७ हजार पाँच सय ९८ फिटको उचाइमा रहेको आधारशिविर पुगेर फर्किइन् । उनले अमेरिका फर्केर मात्र आफ्नो यात्राका तस्बिर सार्वजनिक गरेकी थिइन् । लगत्तै अमेरिकी सञ्चारमाध्यमहरूको तस्बिरसहित उनको यात्राबारे समाचार प्रकाशित गरे ।

हलिउड अभिनेत्री डेमी मुर काठमाडौंस्थित माइती नेपालमा अध्यक्ष अनुराधा कोइराला र आश्रित चेलीबेटीसँग ।

नेपाल पर्यटन बोर्डका पूर्वमिडिया कन्सल्ट्यान्ट शरद प्रधानका अनुसार यसरी गुपचुप नेपाल आएर यहाँको प्राकृतिक दृश्यावलोकनमा रमाउने विदेशी सेलेब्रिटी प्रशस्त हुने गर्छन् । तीमध्ये कसैले नेपालमै छँदा आफ्नो यात्राबारे सार्वजनिक गर्छन्, कतिपयले स्वदेश फर्केर मात्र जानकारी दिन्छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र रिसोर्ट सञ्चालनमा छँदा बेलायती राजपरिवारका सदस्यहरू पटक–पटक आएका थिए । रिसोर्ट बन्द भएपछि उनीहरू पनि आउन छाडेको प्रधान बताउँछन् ।

‘भारतीयहरू धर्मकर्ममा बढी विश्वास राख्छन्,’ उनी भन्छन्, ‘गुपचुप चार्टर्ड विमानबाट आई पशुपतिनाथ आएर पूजा गरेर फर्किने भारतीय राजनीतिज्ञ, उद्योगी, व्यवसायी र सेलेब्रिटी धेरै हुन्छन् ।’ बलिउड अभिनेत्री ऐश्वर्या रायले अभिषेक बच्चनसँग विवाहबन्धनमा बाँधिनुअघि पशुपतिनाथमा आएर मांगलिक दोष कटाउने पूजा गरेकी थिइन् । कोभिड–१९ संकटपछि नेपाली पर्यटन उद्योगलाई उकास्न आन्तरिकसँगै विदेशी हाइप्रोफाइल पर्यटक पनि सहयोगी बन्न सक्ने जानकारहरू बताउँछन् ।
 ...

नेपालको साहसिक पर्यटन विश्वमै अब्बल मानिन्छ । चितवनको जंगलमा हात्ती चढेर एकसिंगे गैँडा र पाटेबाघ हेर्नेदेखि सगरमाथा र अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ गर्न विश्वका धनाढ्य पर्यटक आइरहेका हुन्छन् । यहाँका पर्यटकीय प्रडक्टको तुलनामा विश्वभरका खर्चालु पर्यटक भित्र्याउन भने नसकिएको पर्यटन व्यवसायी बताउँछन् । ‘चितवन राष्ट्रिय निकुञ्जभित्रका रिसोर्ट बन्द गरेर हामीले खर्चालु पर्यटक आकर्षित गर्ने गतिलो प्रडक्ट गुमायौँ,’ पर्यटन व्यवसायी वसन्त मिश्र भन्छन् ।

वाइल्डलाइफमा रमाउने पर्यटक सौखिन र धनाढ्य हुन्छन् । उनीहरू घुमफिरमा प्रशस्त खर्च गर्छन् । चितवन निकुञ्जका रिसोर्टमा एउटै कोठामा दैनिक एक सय डलर मूल्य थियो, त्यो पनि करबाहेक । अहिले काठमाडौंका पाँचतारे होटेलमा कोठाको औसत मूल्य दैनिक सय डलरभन्दा कम छ । 

ढोरपाटन सिकार आरक्षमा आउने विदेशी पर्यटकले एकपटकमा १० देखि १५ हजार डलर खर्च गर्छन् । गन्तव्यमा पुग्न हेलिकोप्टर चार्टर्ड गर्छन् । ‘वाइल्डलाइफ महँगो पर्यटन हो,’ मिश्र भन्छन्, ‘तर, ४० वर्ष लगाएर सिर्जना गरेको प्रडक्ट एकै झड्कामा सकिन्छ, नेपालमा ।’ चितवन राष्ट्रिय निकुञ्जभित्रका टाइगर टप्स र टेम्पल टाइगरलगायत रिसोर्ट नेपालको जंगल पर्यटनका पायोनियर मानिन्छन् ।

टाइगर टप्समा बेलायती शाही परिवारका धेरै सदस्य आएका थिए । बेलायतका तत्कालीन राजकुमार फिलिप, राजकुमारी एन्ने, राजकुमारी अलेक्जेन्ड्रा, राजकुमार ह्यारी र राजकुमार फिलिप चितवनको जंगलभित्र रमाइसकेका छन् । राजकुमार फिलिपले फेब्रुअरी १९८६ र राजकुमारी अलेक्जेन्ड्राले मार्च १९८९ मा चितवनमा जंगल सफारीको मजा लिए । राजकुमार चाल्र्सले पनि चितवनमा जंगल सफारी र कास्कीमा ट्रेकिङ गरे ।

हलिउड अभिनेत्री पामेला र निक ह्विलरले त टाइगर टप्समै नेपाली परम्पराअनुसार विवाह गरेका थिए । बिहेको चाँजोपाँजो टाइगर टप्सका सञ्चालक जिम एडवार्डस्ले मिलाएका थिए । उनीहरूले दुलाहा–दुलहीको पहिरनमा सजिएर हात्ती सफारी गरेका थिए ।

अमेरिकी कलाकार क्यारी फिसर (१९८५), अमेरिकी कूटनीतिज्ञ हेनेरी किसिन्जर (१९८५), इटालियन फिल्म निर्देशक बर्नान्डो बेर्टोलुसी, गायक मिक जग्गर (१९९०), अंग्रेजी संगीतकार तथा गायक रिंगो स्टार (१९८५), अमेरिकी कलाकार रोबोर्ट रेडफोर्ड (१९८२)ले पनि चितवनमा जंगल सफारी गरिसकेका छन् । सन् १९९० को दशकसम्ममा चितवनका जंगल रिसोर्टमा अमेरिकी र बेलायती हाइप्रोफाइल पर्यटकको भीड रहन्थ्यो । ती रिसोर्ट बन्द भएसँगै जंगल सफारीमा रमाउने हाइप्रोफाइल पर्यटकको आगमन पनि घटेको छ । ‘हामीसँग खर्चालु पर्यटक भिœयाउने अवसर हुँदा पनि क्यास गर्न सकिएन,’ नेपाल होटेल संघ (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्छन् ।

 ...

हालसम्म दर्जनौँ बलिउड फिल्म नेपालमा सुट भएका छन् । नेपाललाई फिल्म सुटिङ गन्तव्यका रूपमा बलिउड अभिनेता देव आनन्दले बढी चिनाएका हुन् । उनले आफू निर्देशित फिल्म ‘इस्क इस्क इस्क’को सुटिङ नेपालमै गरेका थिए । उनले आफ्नो फिल्म ‘हरे रामा हरे कृष्णा’को सुटिङ पनि यहीँ गरेका थिए । यस्तै, निर्देशक यश चोपडाले फिल्म ‘जोसिला’को छायांकन नेपालमै गरे । दीपक मल्होत्रा र श्रीदेवी अभिनीत फिल्म ‘लम्हे’को सुटिङ पोखरामा भएको थियो । निर्देशक राजीव रायको फिल्म ‘युद्ध’का केही दृश्य पनि नेपालका थिए ।

अमेरिकी गायिका मेन्डी मुर सगरमाथा आधारशिविरको ट्रेकिङमा।

अमिताभ बच्चन अभिनीत फिल्म ‘खुदा गवाह’को सुटिङ मुस्ताङमा गरिएको थियो । बच्चनकै फिल्म ‘महान्’ पनि नेपालमा सुट भएको थियो । गोविन्दा अभिनीत ‘वनारसी बाबु’ र अनिल कपुर अभिनीत ‘घरवाली बाहरवाली’ पनि काठमाडौंमा सुट भएका थिए । ०४० को दशकमा ऋषि कपुर, नसिरुद्दिन शाह, डेनी डेन्जोङ्पा अभिनीत फिल्म ‘खोज’मा काठमाडौं र धुलिखेलका दृश्य थिए ।

नेपालमा ससुराली बनाएका बलिउड अभिनेता गोविन्दा काठमाडौं आइरहने सेलेब्रिटी हुन् । हलिउड अभिनेता रिचर्ड गेर पनि नेपाल आइरहने विदेशी सेलेब्रिटीमध्ये पर्छन् । हानका उपाध्यक्ष शाहका अनुसार उनी बौद्ध गुम्बाका धर्मगुरुका भक्त हुन् । हरेकपटक नेपाल आउँदा उनी ठूलो धनराशि खर्च गरेर फर्किन्छन् ।

१२ वैशाख ०७२ को भूकम्पपछि चिनियाँ कलाकार ज्याकी च्याङ नेपाल आए । हलिउड कलाकार मिसेल हुवा र गायिका सेलेना गोमेजले पनि नेपालको फेरो मारिसकेका छन् । अमेरिकी म्यागेजिन फोब्र्सका प्रमुख कार्यकारी माइक पेर्लिस र उनकी श्रीमती मिसीले त नेपाली अर्बपति व्यवसायी विनोद चौधरीसँग रारादेखि फोक्सुन्डो तालसम्म यात्रा गरेका थिए ।

पछिल्लो समय काठमाडौं, सौराहा र बुटवलमा विवाह गर्न आउने भारतीय बढेका छन् । पर्यटन व्यवसायीका अनुसार विवाहका क्रममा पूरै होटेल बुक गर्छन् । ठूलो समूह विवाहमा सहभागी हुने भएकाले प्रशस्त खर्च पनि गर्छन् । यी सबै हाइप्रोफाइल पर्यटकीय गतिविधिमा ध्यान दिन सके कोभिड–१९ संकटपछि नेपाली पर्यटन उद्योगलाई लयमा फर्काउन कुनै समस्या नहुने व्यवसायीहरू बताउँछन् ।