१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
जनार्दन बराल काठमाडौं
२०७७ असार १९ शुक्रबार ०४:०१:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपाल निम्नमध्यम आय वर्गमा उक्लियो

Read Time : > 1 मिनेट
जनार्दन बराल, काठमाडौं
२०७७ असार १९ शुक्रबार ०४:०१:००

दक्षिण एसियामा माल्दिभ्सको प्रतिव्यक्ति आय सबैभन्दा उच्च, श्रीलंका खस्कियो

नेपाल न्यून आय भएको मुलुकबाट इतिहासमै पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा उक्लिएको छ । विश्वबैंकले विहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल सन् २०१९ मा निम्नमध्यम आय वर्गको मुलुकमा स्तरोन्नति भएको हो । सन् २०१९ मा १०३६ देखि ४ हजार ४५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आम्दानी (प्रतिव्यक्ति कुल राष्ट्रिय आय)  भएका मुलुकहरू न्यूनमध्यम आय वर्गमा पर्छन् । सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्वबैंकको तथ्यांक छ ।

विश्वबैंकले १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने मुलुकलाई न्यून आयवर्गमा राख्दै आएको छ । गत साल नौ सय ७० डलर आय भएको नेपाल यही वर्गमा थियो । सन् २०१९ मा नेपालको आयस्तर बढेपछि मध्यम आयवर्गमा उक्लिएको हो । नेपालमा विगत तीन आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर (आर्थिक वृद्धि) क्रमशः ८ दशमलव २, ६ दशमलव ७ र ७ प्रतिशत हासिल भएपछि प्रतिव्यक्ति आम्दानी पनि सोही अनुपातमा बढेको छ । मुलुकको कुल राष्ट्रिय आयलाई जनसंख्याले भाग गर्दा आउने अंक नै प्रतिव्यक्ति आय (प्रतिव्यक्ति कुल राष्ट्रिय आय) हो । कुल गार्हस्थ्य उत्पादनमा विदेशबाट आउने रकम जोडेपछि कुल राष्ट्रिय आय निस्कन्छ ।

दक्षिण एशियामा माल्दिभ्सको प्रतिव्यक्ति आय सबैभन्दा उच्च, श्रीलंका खस्कियो

दक्षिण एशियाली मुलुकहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको मुलुक माल्दिभ्स हो । सन् २०१९ मा माल्दिभ्सको प्रतिव्यक्ति आम्दानी ९ हजार ६ सय ५० अमेरिकी डलर छ । माल्दिभ्स उच्च मध्यम आय वर्गमा भएको दक्षिण एशियाको एकमात्रै मुलुक हो । यसअघि श्रीलंका पनि सोही आयवर्गमा रहेकोमा यस वर्ष उसको प्रतिव्यक्ति आय खस्किएर निम्नमध्यम आय भएको मुलुकमा झरेको छ । गत वर्ष श्रीलंकाको प्रतिव्यक्ति आय ४ हजार ६० अमेरिकी डलर थियो, यो वर्ष ४ हजार २० डलरमा खुम्चेको छ । दक्षिण एशियाली मुलुकमध्ये अब अफगानिस्तान मात्रै न्यून आयवर्गमा छ, जसको प्रतिव्यक्ति आय ५ सय ४० अमेरिकी डलरमात्रै छ । 

विश्वबैंकले उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न गरी संसारभरिका मुलुकलाई चार आय वर्गमा वर्गीकरण गर्दै आएको छ । १ हजार ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकहरू न्यून आयवर्गमा पर्छन् । त्यसभन्दा माथि ४ हजार ४५ अमेरिकी डलरसम्म आम्दानी हुनेलाई निम्नमध्यम आयवर्गमा राखिएको छ । ४ हजार ४६ देखि १२ हजार तीनसय ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय हुनेलाई उच्च मध्यम वर्ग र त्यसमाथि जति पनि आय हुनेलाई उच्च आय वर्गमा राखिएको छ । १ जुलाई २०२० को तथ्यांकमा आधारमा विश्वबैंकले विश्वभरका मुलुकहरूको आयस्तर गणना गरेको हो । 

विश्वका २९ मुलुक न्यून आयवर्गमा रहेको विश्वबैंकले जनाएको छ । त्यस्तै, नेपालसहित ५० मुलुक निम्नमध्यम वर्ग, ५६ मुलुक उच्च मध्यम वर्ग र ८३ मुलुकहरू उच्च आयवर्गमा पर्छन् ।