१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असार १८ बिहीबार १०:५४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१६ वर्षको उमेरमै कोका गोफको तहल्का

Read Time : > 2 मिनेट
२०७७ असार १८ बिहीबार १०:५४:००

गत वर्ष विम्बल्डन ग्रान्डस्लाम टेनिस प्रतियोगितामा एउटा स्तब्धकारी नतिजा निस्कियो । त्यो नतिजा धेरैले पत्याउनै सकेनन्  । सेन्टर कोर्टमा कसले के गर्‍यो भनी प्रश्न गर्न थाले ।

१५ वर्षीया कोका गोफले पहिलो चरणमै पाँचपटककी विजेता भेनस विलियम्सलाई २–१ को सोझो सेटमा स्तब्ध पारेकी थिइन् । वाइल्ड कार्डमार्फत ग्रान्डस्लाम खेल्न अवसर पाएकी गोफको पहिलो खेल नै भेनससँग परेको थियो ।

गोफको विम्बल्डन यात्रा पहिलो चरणसम्म हुने पूर्वअनुमान थियो । घाँसे कोर्टकै शक्तिशाली खेलाडी भेनससँग भिड्दा जोकोही पनि निरीह हुने गर्छन् । यसले वाइल्ड कार्ड खेलाडीमाथि भेनसले सहजै जित निकाल्ने अनुमान थियो । तर, नतिजा सोचेभन्दा बिलकुल फरक रह्याे । गोफसँग ६–४ र ६–४ को सेटमा पराजित भेनस निराश हुँदै बाहिरिन् । यससँगै टेनिसमा एक अमेरिकन स्टार महिला खेलाडीको उदय भएको आभाष सबैले गरे । 

गत वर्ष विम्बल्डनमा गोफ ‘हटकेक’ बनिन् । चौथो चरणमा च्याम्पियन सिमोना हालेपसँग पराजित हुँदै बाहिरिँदा गोफले दर्शकबाट सम्मान पाइन् । गोफ यस दिनलाई भुल्न नसकिने दिनका रूपमा लिने गर्छिन् । ‘हजारौँ दर्शकले मलाई स्ट्यान्डिङ अवेसन’ दिँदा म आत्तिएँ,’ एक वर्षअघिको घटना सम्झँदै गोफले भनिन्, ‘भित्री रूपमै म कामिरहेँ, मैले भेसनजस्तो खेलाडीलाई हराउँछु भनी कल्पना पनि गरेकी थिइन् ।’ 

 

कोर्टमा आमाबुबाको उपस्थितिले फरक किसिमको ऊर्जा मिल्ने गरेको उनी बताउँछिन् । भन्छिन्, ‘जब भिआइपी दर्शक बक्समा आमा वा बाबुलाई पाउँछु, त्यसवेला ममा फरक आत्मविश्वास आउँछ, मेरो अभिभावकले सधैँ फरक उचाइका लागि प्रयास गर्नुपर्ने बताउनुहुन्छ ।’

सन् १९६१ देखि टेनिसमा ‘ओपन एरा’ सुरु भएपछि कम उमेरमै विम्बल्डनमा डेब्यु गर्ने इतिहास उनले गत वर्ष नै रचिन् । कलियो उमेरमै गोफ शक्तिशाली सर्भिस र ब्याकह्यान्ड गर्न माहिर छिन् । यसै शक्तिको भरमा उनले एक वर्षभित्र शीर्ष चार खेलाडीलाई माथ दिइसकेकी छिन् । गत १६ मार्चमा गोफले जीवनको १६औँ जन्मदिन मनाइन् । 

यसै वर्षको कुरा गर्ने हो भने उनले अस्ट्रेलियन ओपनकी साबिक विजेता नाओमी ओसाकासँग पनि सीधा सेटमै सनसनीपूर्ण जित  निकाल्न सफल भइन् । ओसाकालाई हराएलगत्तै उनी महिला एटिपी वरीयताको ५०औँ स्थानमा पुगिन् । टेनिस कोर्टमा उत्रँदा उनमा गज्जबको ऊर्जा उत्पन्न हुन्छ । धेरैले उनलाई आत्मविश्वास र दबाबरहित प्रतिस्पर्धा गर्न रुचाउने खेलाडीका रूपमा विश्लेषण गरेका छन् । यस कारण नै नाम चलेका खेलाडीलाई हराउन गोफ धेरै शक्ति लगाउँदिनन् । 

टेनिस जगतमा गोफ नयाँ भए पनि कोर्टमा कस्तो नतिजा निकाल्न सक्छिन् भन्ने द्विविधा छैन । धेरै समर्थकले गाउफ वा गोफमध्ये कुन सही नाम भन्ने छुट्याउन सकिरहेका छैनन् । तर, उनी गोफ नै भन्न र लेख्न रुचाउँछिन् । भेनस र ओसाकालाई हराएपछि सामाजिक सञ्जालमा उनको फलोअर्स ह्वात्तै बढेको छ । 

 

 

अहिले सामाजिक सञ्जालमा उनको पाँच लाख फलोअर्स पुगेको छ । यसअघि ३० हजार मात्र फलोअर्स थियो । यद्यपि सामाजिक सञ्जालमा त्यति धेरै सक्रिय नरहने गोफ आफ्नो फलोअर्स बढ्दा आश्चर्य रूपमा लिने गर्छिन् । गोफ भन्छिन्, ‘म त्यति धेरै ट्विटर चलाउँदिनँ, तर यति धेरै फलोअर्स बढ्छ भनी सोचेकी पनि थिइनँ ।’ 

गोफको परिवारमा तीनजना मात्र छन् । सबै फरक खेलका खेलाडी । गोफ टेनिस खेल्छिन्, उनका बुबा कलेजस्तरका बास्केटबल खेलाडी तथा आमा कलेजकी धाबिका हुन् । खेलकुदमयी वातावरणले भरिएको घरमा गोफले खेलमा भविष्य  कोर्न त्यति धेरै संघर्ष गर्नुपरेन । 

प्रतियोगितामा सहभागी हुनुअघि उनी सबैसँग सोध्ने गर्छिन्, ‘तपाईंहरूले मबाट कस्तो नतिजा आशा गर्नुभएको छ ।’ गोफका बुबा केवल नतिजाभन्दा उत्कृष्ट खेल्न सुझाब दिन्छन् । प्रतियोतिगाबाट जितेको रकम उनी आमालाई दिन्छिन् । यसै वर्ष अस्ट्रेलियन ओपनको चोथो चरणसम्म पुग्दा उनले १७ हजार पाउन्ड हात पारिन् । त्यो सबै रकम उनले आमालाई दिइन् ।

आमाले छोरीको आवश्यकताअनुसार रकम दिने गर्छिन् । गोफ भन्छिन्, ‘अहिले १६ वर्षकी मात्र भएँ, मलाई हिसाब राख्न आउँदैन, यसैकारण जितेको रुपैयाँ आमालाई दिने गर्छु ।’ सन् २००४ मा जन्मेकी गोफले आफ्नो ब्रेड रुममा भेनस विलियम्सको फोटो राखेकी छिन् । अथुर एस रंगशालामा भेनसले भली प्रहार गरेको तस्बिर हेर्दै हुर्किएको गोफ बताउँछिन् । 

भन्छिन्, ‘त्यो फोटो हेर्दै मलाई टेनिस खेल्न मन लाग्यो, मैले जीवनमा भेनसलाई हराउँछु भनी कल्पना पनि गरेकी थिइनँ ।’ गोफलाई क्यामेरा फेस गर्न मन लाग्दैन । क्यामेरामा बोल्दा आत्तिने र शरीरमा हलचल आउने उनको भनाइ छ । ‘म आफूमा विश्वास राख्छु, तर क्यामेराअगाडि सबै आत्मविश्वास हराउँछ,’ उनी भन्छिन् । 

गोफले दुईवटा सपना बुनेकी छिन् । त्यो पनि अचम्मकै छ । पुरुषतर्फ सर्वाधिक २० पटक ग्रान्डस्लाम जितेका रोजर फेडेररसँग खेल्ने । यद्यपि उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यो खुलासा नगरे पनि साथीहरूसँग फेडेररसँग प्रतिस्पर्धा गर्ने र हराउने इच्छा भएको उनी बताउने गर्छिन् । 

गत नोभेम्बरमा उनले ड्राइभिङ लाइसेन्स लिइन् । उनको दोस्रो सपना भनेको महँगो कार किन्ने हो । परिवारमा आर्थिक भार पर्न नदिन पुरस्कार रकमबाट कार किन्ने योजना उनको छ । ‘भविष्यमा ग्रान्डस्लाम र एटिपी प्रतियोगिता जित्दै थुप्रै रुपैयाँ कमाउँछु, त्यसपछि म एउटा महँगा कार किन्छु,’ गोफ भन्छिन । 

(एजेन्सीहरूको सहयोगमा)