मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ असार १८ बिहीबार ०८:५६:००
Read Time : > 1 मिनेट
अर्थ

लकडाउनमा पौने ५ अर्बको औषधि आयात

Read Time : > 1 मिनेट
२०७७ असार १८ बिहीबार ०८:५६:००

देशकै प्रमुख भन्सार नाका वीरगन्जको लकडाउन अवधिमा राजस्व असुली प्रभावित भए पनि पौने ५ अर्बको अत्यावश्यक औषधि आयात भएको छ । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि गरेको लकडाउनमा अत्यावश्यकबाहेकका अन्य सामग्रीको आयातमा कमी आए पनि औषधि आयातमा भने वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

फागुन महिनाको तुलनामा चैतदेखि विभिन्न किसिमका थप औषधि आयात भएको भन्सार कार्यालयको तथ्यांक छ । नेपाल औषधि उत्पादक संघका अनुसार चीनबाट २५ प्रतिशत, भारतबाट ७० प्रतिशत र अन्य देशहरूबाट ५ प्रतिशत औषधिको आयात हुने गरेको छ ।

औषधि आपूर्तिमा समस्या छैन

विश्वभरमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले नेपालका औषधि उद्योगमा पनि प्रभाव परेको नेपाल औषधि उत्पादक संघले जनाएको छ । नेपालले सबैभन्दा धेरै भारत र चीनबाट औषधिको कच्चा पदार्थको आयात गर्दै आएको नेपाल औषधि उत्पादक संघले जनाएको छ ।

संघका अनुसार नेपालमा ६२ वटा औषधि उद्योग रहेकामा अहिले ४२ वटा मात्र सञ्चालनमा रहेका छन् । पछिल्लो समय नेपालमा पनि कोभिड-१९ को संक्रमणको जोखिम बढेको र सरकारले लगाएको लकडाउनमा औषधि उद्योग पूर्ण रूपमा सञ्चालन नभएको नेपाल औषधि उत्पादक संघका केन्द्रीय कोषाध्यक्ष प्रभात रुंगटाले बताए । 

लकडाउन सुरु भएको समयदेखि भारतबाट औषधि आयातमा कुनै पनि किसिमको रोकावट वा असर नपरेको रुंगटाले बताए । वीरगन्जको बहुबरीमा रहेको मारुती फर्मा उद्योगका सञ्चालकसमेत रहेका रुंगटाले लकडाउनको सुरुको समयमा भारतको सीमानाकामा केही रोकावट भएको थियो ।

तर, अहिले कुनै पनि किसिमको औषधि आयातमा कहीँकतैबाट रोकावट नभएर सहज रूपमा आयात भइरहेको उनले बताए । औषधि उत्पादन कम्पनीले करिब एक महिनासम्मको औषधिका लागि आवश्यक पर्ने कच्चा पदार्थ तत्कालका लागि जगेडामा रहेको बताए ।

पौने ५ अर्बको औषधि आयात

लकडाउन सुरु भएको समयदेखि नेपालको औषधि उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ अथवा अन्य औषधि आयातमा वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार लकडाउन सुरु हुनुभन्दा अगाडि १ फागुनदेखि १० चैतसम्म १ अर्ब ६१ करोड १७ लाख ८८ हजारबराबर रकमको ११ हजार ८ सय ९८ टन औषधि आयात भएको छ ।

लकडाउन सुरु भएको ११ चैतदेखि अहिलेसम्म ४ अर्ब ८३ करोड ३९ लाख ४९ हजार ३ सय ९२ रुपैयाँको २२ लाख ८३ हजार ६ सय १७ किलो औषधि आयात भएको उनले जानकारी दिए ।

 कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा देखापरेकाले आवश्यक पर्ने औषधि प्रयोगका साथै जगेडा गरिएकाले औषधि आयातमा वृद्धि भएको भन्सारका अधिकृत रमेश सुकमणिले बताए । गत सालको फागुन महिनाभन्दा लकडाउनको समयमा औषधि आयातमा वृद्धि भएको उनले बताए ।

कति संकलन भयो राजस्व ?

वीरगन्ज भन्सार भएर २२ लाख ८३ हजार ६ सय १७ किलो औषधि आयात हुँदा २१ करोड ३ लाख ६९ हजार ५ सय २७ रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको ११ महिनामा १७ अर्ब २९ करोड ९१ लाख रुपैयाँको १ करोड ९ लाख ६१ हजार किलो औषधि आयात भएको छ । 

यसबाट ९३ करोड ६७ लाख ८३ हजार राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयका अधिकृत सुकमणिले बताए । कोरोना महामारीका कारण औषधि निर्यात गर्ने मुलुकले नै निर्यातमा कडाइ गरेकाले औषधि, कच्चा पदार्थ तथा केमिकल आयातमा गिरावट आएको बताए ।