१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रुवा शाह
२०७७ असार १८ बिहीबार ०७:३६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

यो महामारीमा मेरा बुबा तिहाड जेलमा हुनुहुन्छ

कस्मिरबाहिरका जेलमा पनि अहिले धेरै कस्मिरी आस्थाका बन्दी छन्, जसको हालखबर जेलबाहिर बिरलै आउने गर्छ 

Read Time : > 2 मिनेट
रुवा शाह
२०७७ असार १८ बिहीबार ०७:३६:००

अरू हजारौँ युवाले झैँ यो महामारीमा म पनि मेरा बा–आमालाई सम्झन्छु । अझ म दक्षिण एसियाकै ठूलो र कठोर नयाँदिल्लीस्थित तिहाड जेलमा थुनिएका मेरो बुबालाई बढी सम्झन्छु । मेरा ६३ वर्षीय बुबा सुगर र हाइपर्टेन्सनको बिरामी हुनुहुन्छ । कोरोना भाइरस संक्रमण भइहाले उहाँको ज्यान एकदमै जोखिममा छ । उहाँलाई २०१७ जुलाईमा पक्रिइएको हो, आपराधिक गतिविधिमा होइन, कस्मिरको स्वनिर्णयको अधिकारको पक्षधर भएकाले राजनीतिक आस्थाका आधारमा समातेर थुनिएको हो । विश्वकै ठूलो प्रजातान्त्रिक भनिएको मुलुकले उहाँलाई राज्यद्रोहको मुद्दा लगाएको छ ।

बुबा पहिलोपटक जेल पर्नुभएको होइन, मेरा हजुरबुबा सायद अली शाह गिलानीले खोलेको कस्मिरको हुरियत कन्फरेन्स पार्टीको सदस्य भएयता कस्मिरमा उहाँ पटक–पटक गिरफ्तारीमा पर्नुभएको छ । तिहाडमा १७ हजार कैदीबन्दी छन् भने कस्मिरी आन्दोलनका कैदीलाई कथित उच्च चुनौतीका कैदीको रूपमा लिइन्छ । तिनलाई परिवारजनले भेट्न पनि विशेष प्रावधान चाहिन्छ ।

२०१७–०१८ मा मैले बुबालाई तिहाड जेलमा भेटेदेखि विशेष आत्मीयता बढ्दै गएको छ । ती भेटहरू पीडा, थकान, डर र त्राषदीपूर्ण हुने गर्थे । मैले उहाँलाई भेट्न हरेक शुक्रबार डरैडरमा तीन घन्टाभन्दा बढी कुर्नुपथ्र्याे । त्यो प्रतीक्षाहलमा कैदी भेट्न जानेले डर–त्रासका अलावा अरू केही लान पाइँदैन थियो । प्रचण्ड गर्मीमा एक गिलास पानी पिउनसमेत पाइँदैन थियो । यो परिस्थितिबाटै थाहा हुन्छ कि त्यहाँ भित्र कैदीले बिताउने परिवेश कस्तो छ भनेर । 

यो जेल त्यही हो, जहाँ अफजल गुरु र मोहम्मद मकबुल भटलाई झुन्ड्याइएको र गाडिएको छ, जसका परिवारजनले तिनको शव पनि पाएनन्, यी दुवै कस्मिरी हुन् 

भित्रको अवस्थाबारे सोध्दा बुबाले सब ठीकठाक छ त भन्नुहुन्थ्यो, तर उहाँको शरीर र अवस्थाले नै सबै छर्लंग पारिदिन्थ्यो । उहाँ दिन–प्रतिदिन गल्दै जानुभएको थियो, दाह्री–कपाल सेताम्मे भइसकेका थिए । एक दिन रिसैरिसमा आफू र आफ्नो परिवारजनको बिजोग बनाएर यो सब किन गरिरहनुभएको छ भनी मैले सोधेकी थिएँ । ‘तिमी भाग्यमानी छौ, किनकि तिमीले मलाई भेट्न पाइरहेकी छौ । यो त्यही जेल हो, जहाँ अफजल गुरु र मोहम्मद मकबुल भटलाई झुन्ड्याइएको र गाडिएको छ । तिनका परिवारजनले तिनको शव पनि पाएनन्, उनीहरूले मोक्ष पाइसकेका छन्,’ बुबाले भन्नुभएको थियो । भट र गुरु दुवै कस्मिरी हुन् र दुवैलाई राज्यद्रोहको आरोपमा समातिएको थियो । भाटलाई १९८४ र गुरुलाई २०१३ मा तिहाड जेलभित्र मारिएको थियो । 

अबुले सधैँ मभित्र साहस जगाउने कोसिस गर्नुहुन्छ, पछिल्लोपटक मैले गत फेब्रुअरी २१ मा उहाँलाई भेटेको थिएँ । एक महिनापछि मुलुकभर लकडाउन भयो र कैदी–बन्दी भेट्न बन्देज लाग्यो । भारतमा कैदीबन्दीले नियमित आवश्यक स्वास्थ्य जाँचको सुविधा पाउँदैनन्, यही चिन्ता मलाई बारम्बार लागिरहन्छ । कस्मिरी कैदीको स्वास्थ्यको बेवास्ता गरिएका समाचार आइरहेका छन् । ५४ वर्षीय कस्मिरी नेता पिर सैफुल्लाहको २०१७ मा पक्राउ पर्नु केहीअघि मात्र ब्रेन ट्युमरको अप्रेसन भएको थियो ।

जेलभित्र आवश्यक औषधीको व्यवस्था नहुँदा उनी पटक–पटक बेहोस हुने गर्छन् । ‘आफू जुनसुकै वेला मर्न सक्ने’ उनले मलाई बताएका छन् । गत वर्षको डिसेम्बरमा ६५ वर्षीय कस्मिरी नेता गुलाम मोहमद भट उत्तर प्रदेशको जेलभित्र मरेका थिए । कस्मिरबाहिरका जेलमा पनि अहिले धेरै कस्मिरी छन्, जसको हालखबर जेलबाहिर बिरलै आउने गर्छ । त्यसमाथि भारतभरि फैलँदो कोरोना भाइरस संक्रमणका कारण कस्मिरी राजनीतिक बन्दीका परिवारजनमा अर्को ठूलो त्रास थपिएको छ । फेरि हाम्रा प्रियजनलाई देख्न पाइएला–नपाइएला भन्ने चिन्ता बढेको छ । भारतमा अहिले पाँच लाखभन्दा बढी कोरोना संक्रमित छन् भने कम्तीमा १६ हजार मारिइसकेका छन् । तिहाड जेलमा मे अन्तिमतिरै कोरोना संक्रमित पुष्टि भएको थियो भने त्यहाँ संक्रमण फैलिएको हल्ला चलिरहेको छ । 

मार्चमा नै सर्वोच्चले जेलभित्रको चाप कम गराउन कैदी छुटाउने आदेश दियो । अप्रिलमा कस्मिरका पूर्वमुख्यमन्त्री मेहबुबा मुफ्तीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो, सँगै जम्बु–कस्मिरका अन्य ६५ कैदी पनि छुटे । तर, मेरो बुबा र उहाँका समकक्षीहरू अझै जेलमै छन् । जबकि कुनै पनि अदालतले अहिलेसम्म उहाँविरुद्ध लगाइएको राजद्रोहको अभियोग पुष्टि हुने प्रमाण जुटाएको छैन । मेरी आमा पनि बिरामी हुनुहुन्छ, फोन गरेर दिनहुँ अबुको बारेमा केही खबर पाईयो कि पाइएन भनेर सोध्नुहुन्छ । गत महिना नै बुबाको स्वास्थ्य जाँचका लागि अदालतले आदेश जारी गरिदिएको थियो । तर, जेल प्रशासनले अहिलेसम्म त्यसो गरेको छैन । अहिले दिनानुदिन भाइरस संक्रमण बढ्दो छ, हामी चाहन्छौँ कि हाम्रा आफन्त स्वतन्त्र, जीवित र स्वस्थ्य हुन् । 

(पूर्वपत्रकार शाह अहिले टर्कीमा सिनेमा र टेलिभिजन अध्यनरत छिन्)
अल जजिराबाट