मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १८ बिहीबार ०७:२३:००
Read Time : > 1 मिनेट
साहित्य

धमाधम आउँदै नयाँ कृति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १८ बिहीबार ०७:२३:००

चैत र वैशाख नयाँ कृति बजारमा आउने मौसम मानिन्छ । यसपटक कोरोना संकटले त्यो मौसमको सदुपयोग हुन पाएन । लकडाउन खुकुलो बन्दै जाँदा प्रकाशन गृहहरू रोकिएका पुस्तक बजारमा ल्याउने तयारीमा जुटेका छन् ।

फाइनप्रिन्टका अजित बरालका अनुसार अब नयाँ पुस्तक लगातार सार्वजनिक हुँदै छन् । ‘चैत, वैशाखलाई लक्षित गरिएका पुस्तक ल्याउने तयारीमा छौँ । तर, विमोचन गर्ने अवस्था छैन,’ उनी भन्छन्, ‘भर्चुअल विमोचनबारे निर्णयमा पुगिसकेका छैनौँ । तर, पुस्तक जसरी पनि बजार पठाउनेछौँ ।’

फाइनप्रिन्टबाट मनीषा कोइरालाको पुस्तक ‘जिजीविषा : क्यान्सरले दिएको नयाँ जीवन’ आउँदै छ । करिब २० महिनाअघि पेन्गुइन इन्डियाले प्रकाशित गरेको ‘हिल्ड : हाउ क्यान्सर गिभ मी अ न्यु लाइफ’को नेपाली अनुवाद हो, यो । यस्तै, फाइनप्रिन्टबाटै डा. विश्वम्भर प्याकुरेलको आत्मकथा ‘आफैँलाई खोज्दा : केही छोपिएका केही उघारिएका’, राजु अधिकारीको मोटिभेसनल किताब ‘आखिर रोज्ने के’, जीवा लामिछानेको नियात्रा ‘देश देशावर’, सुरेश बडालको कथासंग्रह ‘रहर’ र राजीव उपाध्यायको अर्थराजनीतिसम्बन्धी पुस्तक ‘कबाल्स एन्ड कार्टेल्स’ पनि आउँदै छन् ।

यस्तै, फिनिक्स पब्लिकेसन पनि बिना थिङको कथासंग्रह ‘याम्बुनेर’, तुलसी आचार्यको शीर्षक फाइनल नभइसकेको उपन्यास र श्याम शाहको कथासंग्रह लकडाउन खुल्नासाथ सार्वजनिक गर्ने तयारीमा छ । ‘अरू पनि केही किताब पाइपलाइनमा छन्,’ फिनिक्सका गणेश सुवेदी भन्छन् ।

बुकहिल पब्लिकेसनले लकडाउनका कारण रोकिएका पुस्तक साउन पहिलो सातादेखि बजारमा ल्याउँदै छ । नारायण ढकालको कथासंग्रह ‘तमस’, डा. तीर्थबहादुर श्रेष्ठको सचित्र रंगीन पुस्तक ‘नखुलेका पाटाहरू’, स्व. पिटर जे कार्थकको पुरानो उपन्यास ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’को पुनर्मुद्रण, सौरभको ‘असहमति–१’ र जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’को पुनर्मुद्रण बुकहिलले ल्याउन लागेको हो । बुकहिलका भूपेन्द्र खड्का भन्छन्, ‘अहिले पनि परिस्थिति सामान्य बनेको छैन, तर बजारमा नयाँ पुस्तकको अभाव देखेर ल्याउन लागेका हौँ ।’

नेपालयले लकडाउनको बीचमै सुजीव शाक्यको अर्थराजनीतिसम्बन्धी पुस्तक ‘अर्थात् परिवर्तन’को ई–बुक सार्वजनिक गर्‍यो । ई–बुकको अभ्यास नेपालमा यसअघि पनि थियो । तर, प्राविधिक र भुक्तानीको समस्याका कारण आम प्रयोगमा आउन सकेको थिएन । कोरोना संकटले विद्युतीय भुक्तानीमा पाठकलाई अभ्यस्त गराउँदै गएकाले नेपालयले ई–बुकमा फड्को मारेको हो । नेपालयले आफ्ना किताब अमेजन र वार्न्स एन्ड नोभललगायत साइटमा पनि राखेको छ ।

लकडाउनयता नेपालयले घरघरमा पुस्तक डेलिभरी पनि गर्‍यो । एक हजारभन्दा बढी पुस्तक लकडाउनमा बिक्री पनि भए । त्यसबाट हौसिएको यो पब्लिकेसन क्रमशः नयाँ पुस्तक बजारमा ल्याउन जुटेको छ ।