मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १८ बिहीबार ०६:४१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

बालुवाटारमा मन्त्री र नेताहरूसँग ओलीले भने- मलाई घेराबन्दी भयो, सुझाब दिनुस्, सहयोग गर्नुस्

निर्णायक प्रतिरक्षामा उत्रेका प्रधानमन्त्री ओली राजनीतिक भेट र परामर्शमा व्यस्त

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १८ बिहीबार ०६:४१:००

पार्टीभित्र सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले राजीनामा मागेपछि निर्णायक प्रतिरक्षामा उत्रेका प्रधानमन्त्री केपी ओलीले राजनीतिक भेट र परामर्श तीव्र पारेका छन् । प्रधानमन्त्री ओलीले बुधबार पूर्वएमाले मात्र होइन, पूर्वमाओवादी नेताहरूसँग समेत सहयोग मागेका छन् । तर, धेरैजसो नेताले निसर्त सहयोग गर्न सक्ने अवस्था नभएको जानकारी गराएका छन् । 

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहले सरकार र पार्टी सञ्चालनमा ओली असफल भएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा माग्दै यो एजेन्डालाई निर्णायक चरणमा पुर्‍याएका छन् । आफूलाई घेराबन्दी गरेर हटाउन खोजिएको भन्दै ओलीले सहमति खोज्ने रणनीति पनि अघि बढाएका छन् । 

मंगलबारको स्थायी कमिटीमा बोल्ने १७ सदस्यले राजीनामा मागेपछि ओलीले बुधबार बालुवाटारमा बिहान मन्त्रीहरूसँग छलफल गरेका थिए । छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखेरल, गृहमन्त्री रामबहादुर थापा बादल, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योगमन्त्री लेखराज भट्ट, पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए । यस्तै, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र मणि थापा पनि छलफलमा थिए । 

छलफलको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्र असहज परिस्थिति उत्पन्न भएकाले संकट समाधानका लागि उपयुक्त सुझाब दिन मन्त्रीहरूलाई आग्रह गरेका थिए । ‘पार्टीबाट नै मलाई अप्ठ्यारोमा पारिएको छ, अहिलेको संकट समाधानबारे तपाईंहरूका के सुझाब छन् भनेर बोलाएको हुँ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘आफूलाई लागेका कुरा खुलस्त राख्नुहोला, अरू साथीहरूलाई पनि यसैगरी चरणचरणमा बोलाएर सुझाब लिने सोच बनाएको छु ।’ प्रधानमन्त्रीको आग्रहपछि मन्त्रीहरूले पालैपालो आफ्ना सुझाब राखेका थिए ।

छलफलमा मन्त्री भुसालले पार्टी निर्णय स्वीकार गरेर अघि बढेको अवस्थामा मात्र प्रधानमन्त्री ओलीलाई आफ्नो साथ रहने स्पष्ट पार्दै कमी–कमजोरी सुधार गर्न आग्रह गरेका थिए । ‘तपाईंले पार्टीले गर्ने निर्णय स्वीकार गर्नुपर्छ, त्यस्तो गर्नुभयो भने मात्र तपाईंलाई मेरो साथ रहन्छ, अन्यथा म तपाईंलाई साथ दिन सक्दिनँ भनेर मैले आफ्ना सुझाब स्पष्ट रूपमा राखेको छु,’ छलफलमा आफूले राखेको धारणा उल्लेख गर्दै मन्त्री भुसालले नयाँ पत्रिकासँग भने, ‘बुधबारबाट सुरु भएको परामर्शपछि पार्टी एकता जोगिन्छ र शीर्ष नेताहरूबीच सहमति हुनेमा म विश्वस्त छु ।’ 

‘धर्मो रक्षति रक्षत : अर्थात् धर्मको रक्षा गरियो भने मात्र धर्मले पनि रक्षा गर्छ भनेजस्तै विधिसम्मत ढंगले सञ्चालन गरेर पार्टी एकतालाई बचाएर लैजान सके मात्र प्रधानमन्त्री, मुलुकको नेतृत्व गरिरहेको पार्टी र तमाम नेता तथा कार्यकर्ताको पनि हित रक्षा हुन्छ,’ भुसालले जोड दिँदै ध्यानाकर्षण गराएका थिए ।

मन्त्री भट्टराईले पार्टी एकता बचाउन आफू मन्त्री पद त्याग्नसमेत तयार भएको बताएका थिए । ‘पार्टी एकताका मूल्यमा यदि तपाईंहरूलाई अप्ठ्यारो भएको हो भने मन्त्री र मुख्यमन्त्रीहरू फेर्नुस्, हामी मन्त्री छोड्न तयार छौँ । तपाईंहरू दुईजना अध्यक्षले नै हामी जम्बो नेकपाको पाइलट हौँ भन्नुभएको हो । संकटमा जहाज हाँक्न नसक्ने हुनुभएको हो भने आ–आफ्नो बाटो लाग्नुस्,’ भट्टराईको भनाइ थियो ।

संवादका माध्यमबाट अविश्वासका विषय खुलस्त राखेर समाधान पहिल्याउने विधि अपनाउन सुझाब राख्दै भट्टराईले भनेका थिए, ‘केपी कमरेडले प्रचण्ड कमरेडको जुत्ता, प्रचण्ड कमरेडले केपी कमरेडको र माधव कमरेडले अरू नेताको जुत्ता लगाएर अनुभव गर्ने हो भने आ–आफ्ना पीडा र समस्या मात्रै होइन, अरूको पीडा पनि अनुभूति गर्न सक्नुहुन्छ, त्यसरी भए पनि यो पार्टी एकतालाई बचाउनुस् ।’

परराष्ट्रमन्त्री ज्ञवालीले मदनजयन्तीका अवसरमा भारतले आफूलाई हटाउन षड्यन्त्र गरिरहेको अभिव्यक्ति दिने विषयमा केही कमजोरी भएकाले त्यसलाई स्वीकार गरेर नेताहरूबीच बढेको अविश्वास हटाउने गरी समाधान खोज्नुपर्नेमा जोड दिएका थिए । ‘प्रधानमन्त्रीको जिम्मेवारीमा हुनुभएकाले तपाईंको तहबाटै त्यसरी कुरा नआएको भए हुन्थ्यो भन्ने मलाई पनि लागेको छ, त्यसैले केही न केही कमजोरी भएकै छ, तपाईंको अभिव्यक्तिले भारतसँगको कूटनीतिक सम्बन्धमा असर पर्न सक्छ भन्ने कुरालाई महसुस गर्नुपर्छ, त्यस्तो कुनै आशय होइन भन्ने कुरा पनि आइसकेकाले त्यसअनुसार नेताहरूसँगको संवादमा प्रस्ट्याएर अघि बढ्नु उपयुक्त हुन्छ,’ ज्ञवालीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।