मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अजित अधिकारी काठमाडौं
२०७७ असार १८ बिहीबार ०५:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नेपाल पसेका सलह किरामध्ये आधा तितर–बितर : ५२ जिल्लामा देखियो, २७ जिल्लामा प्रकोप बढी

अझै ठूलो झुन्ड भित्रिन सक्ने सम्भावना

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ असार १८ बिहीबार ०५:२४:००

कृषिउपजका लागि निकै खतरनाक मानिएको सलह किरा नेपाल प्रवेश गर्ने क्रम बढेको छ । बुधबार साँझसम्म देशभर ७०–८० लाख सलह किरा भित्रिसकेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए । ठूलो संख्यामा भित्रिएका सलहले किसानको बालीमा ठूलो क्षति गरेका छैनन् । 

‘धेरै संख्याको झुन्डमा भएका कतिपय सलह आपसमा जुधेर र बालीमा बसेर टुक्रिएर नष्ट भएका छन्,’ सुवेदीले भने, ‘ठूलो संख्याको सलह हावाको बेगमा परी छुट्टिएर जंगलतिर पसेका छन् । तिनीहरूले क्षति पुर्‍याउने सम्भावना कम हुन्छ ।’ नेपाल भित्रिएको सलहमा वयस्कको संख्या कम भएकाले पनि क्षति धेरै हुन नसक्ने सरकारको दाबी छ । सुवेदीका अनुसार नेपाल भित्रिएकामध्ये करिब ३५ लाख सलह मात्र कृषिउपज नष्ट गर्न सक्रिय छन् । अरू सलह टुक्रिएर नाश भएको र केही जंगलतिर पुगेर हराउन थालेका छन् ।

‘अहिले ५२ जिल्लामा सलह देखिएका छन् । त्यसमध्ये रुकुम र रोल्पासमेत गरी २७ वटा जिल्लामा सलहको प्रकोप बढी छ,’ सुवेदीले भने । पहिले सानो संख्यामा भित्रिएका सलहमध्ये टुक्रिएर अलगअलग झुन्ड भएको र नाश हुँदै गएको उनले बताए । ‘सानोमा २–४ हजार र ठूलोमा ५० हजारसम्मको झुन्डहरू टुक्रिएर नाश भएका छन्,’ उनले भने । 

गर्मी मौसम चाहिने सलह नेपालमा पानी परेको वेला प्रवेश गरेकाले पनि लामो समय बाँच्न नसक्ने सरकारी अधिकारीको भनाइ छ । त्यस्तै, नेपाल प्रवेश गरेको सलहको प्रजनन क्षमता नरहेकाले संख्या वृद्धि नगर्ने रोग, किराविज्ञ डा. डिल्लीराम शर्माले बताए । सलहको एउटै झुन्ड तीन–चार करोडको संख्यामा रहने र एक वर्ग किलोमिटरसम्म झुन्डमा बसेर एक घन्टामै बाली सखाप पार्ने क्षमता राख्छन् । झुन्डमै एक दिनमा डेढ सय किलोमिटरसम्मको यात्रा गरेर ३५ हजार मानिसले बिहान–बेलुका खाने अन्न नष्ट गर्ने यो किरा अहिलेसम्मकै खतरनाक मानिएको छ । ‘यस्तो किरा अहिलेसम्म संसारमा देखिएको थिएन । त्यसैले नेपाल प्रवेश गरेको सलहलाई जतिसक्दो छिटो विषादी छर्केर मार्नुपर्छ । नत्र ठूलो समस्या ल्याउन सक्छ,’ शर्माले भने ।

अझै ठूलो झुन्ड भित्रिन सक्ने सम्भावना
सलहको ठूलो झुन्ड नेपाल प्रवेश गर्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार भारतको राजस्थानबाट ठूलो झुन्ड (करिब ३–४ करोड संख्या) पूर्वतिर आइरहेको छ । सो झुन्ड अहिले दिल्ली र हरियाणा क्षेत्रमा छ । पूर्व–उत्तरको हावा चलिरहेका कारण नेपाल प्रवेश गर्ने खतरा रहेको सरकारी अधिकारीले दाबी गरिरहेका छन् । १३ असारमा भैरहवा क्षेत्रबाट प्रवेश गरेको सलहको झुन्ड भने सीमा क्षेत्रबाट हराएको छ । डडेल्धुराबाट थोरै संख्यामा प्रवेश गरेपछि भारततिरै गएर सो झुण्ड हराएको सरकारी भनाइ छ ।

दाङ, प्युठान र मकवानपुरमा सामान्य क्षति
१३ असार बिहान ७–८ बजेबाट नेपाल भित्रिन थालेको सहलले दाङ, मकवानपुर र अर्घाखाँचीमा सामान्य क्षति गरेको सरकारी निकायको दाबी छ । अन्यत्र सलहले कुनै क्षति नगरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी सुवेदीले बताए । दाङमा २–४ लाख, मकवानपुरमा १० लाख र प्युठानमा २–४ लाखको संख्यामा सलह पुगेका छन् । ‘दाङमा मकै र तरकारीमा सामान्य क्षति गरेको रिपोर्ट आएको छ,’ सुवेदीले भने, ‘प्युठानमा मकै र फलफूल (आँप, लिची) र मकवानपुरको करिब एक सय हेक्टरमा लगाइएको मकैमा क्षति गरेको जानकारीमा आएको छ ।’