१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
किरण दहाल काठमाडाैं
२०७७ असार १८ बिहीबार ०३:५९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले दर्तामा पूर्वएमाले नेतानिकट व्यक्ति, महासचिव भन्छन्– एमालेमा आस्था राख्ने व्यक्ति हौँ

Read Time : > 2 मिनेट
किरण दहाल, काठमाडाैं
२०७७ असार १८ बिहीबार ०३:५९:००

पूर्वएमाले नेताहरूसँग निकट व्यक्तिहरूले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेको पाइएको छ । मंगलबार नेकपा स्थायी कमिटी बैठकमा पनि उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीकै इसारामा एमाले दर्ता गरिएको आफूसँग प्रमाण भएको दाबी गरेका थिए । 

दुई वर्षअघि नेकपा गठन भएसँगै नेकपा एमाले र माओवादी पार्टी भंग भएका थिए । अहिले पूर्वएमाले नेताहरूनिकट व्यक्तिहरूले नेकपा एमाले पार्टी दर्ताका गराएका हुन् । १४ असारमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन परेको हो । प्रस्तावित एमालेका महासचिव मनीषकुमार उपाध्यायले पार्टी निर्माणको काम चार–पाँच महिनादेखि थालेको बताए । संगठन विस्तारको काम चलिरहेको भए पनि कोरोनाका कारण जिल्ला–जिल्लामा जान नसकेको उनको भनाइ छ । 

महासचिव उपाध्यायले आफूहरूले विगतमा एमालेमा नै आस्था राख्ने गरेको बताए । ‘नेकपा (एमाले)सँग हामी सबैको केही न केही आस्था थियो, तर त्यो पार्टीको सदस्यहरूचाहिँ कोही पनि होइनौँ,’ उनले भने । पुरानो पार्टी भएकाले ब्युँझाउन खोजेको उनको भनाइ छ । ‘नेकपा (एमाले) राम्रो, पुरानो र नाम चलेको पार्टी हो । एउटा ब्रान्ड नाम पनि पाइयो । त्यसलाई स्वीकार नगरेर थन्क्याएर राखेकोजस्तो देखिन्थ्यो,’ महासचिव उपाध्यायले भने, ‘अर्को, हामी मदन भण्डारीको जबज पथबाट प्रेरित भएकाले उहाँको जन्मदिन पारेर दर्ताको प्रक्रिया अघि बढाएका हौँ ।’

यो विषय मंगलबार नेकपा स्थायी कमिटी बैठकमा पनि उठेको थियो । उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीकै निर्देशनमा एमाले दर्ताका लागि निवेदन दिएको ठोकुवा गरेका थिए । गौतमलाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले नयाँ पत्रिकासँग भनेका थिए, ‘नेकपा एमाले दर्तामा केपी शर्मा ओलीको हात छ । मसँग प्रमाण छ, सूचना छ, यदि छानबिन भयो भने म उनीहरूलाई बयान दिन तयार छु ।’ तर, एमाले महासचिव उपाध्यायले यसमा प्रधानमन्त्री ओलीको हात नरहेको जनाएका छन् । ‘सन्दर्भ पनि त्यस्तै वेला भयो । त्यसैले, प्रधानमन्त्रीलाई भन्नु पनि स्वाभाविक नै हो । तर, प्रधानमन्त्री वा कुनै अध्यक्षबाट प्रेरित भएर आएको होइन,’ उनले भने । 

एमाले दर्ताका लागि निर्वाचन आयोगमा परेको निवेदनमा २१ जना पदाधिकारी रहेका छन् । निवेदनमा पार्टीको चुनावचिह्न हिमालमा उदाउँदै गरेको घाम राखिएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अहिले आवेदनको अध्ययन भइरहेको बताए । उनका अनुसार आवेदनमा दलको नाम, कार्यसमितिका पदाधिकारीहरूको नाम, विधान, घोषणापत्र, विनियमावली, झन्डा, चुनावचिह्न, दलमा आबद्ध हुन चाहने पाँच सयजनाको हस्ताक्षर पेस गरिएको छ । ‘यहाँ आएका कागजातहरू अध्ययन गर्दै छौँ । कार्यसमितिमा रहेका पदाधिकारीहरूको विवरण भेरिफिकेसन गर्ने काम हुन्छ । दलको विधानमा उल्लेख भएका प्रावधानहरू नेपालको संविधान, कानुनबमोजिम भए–नभएको अध्ययन गरिन्छ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने । यो सबै पूरा गर्न ४५ दिनको समय रहेको उनले बताए । 

एमाले र माओवादी एकीकरण भएको एक वर्ष नाघिसकेकाले एमाले दल दर्ता गराउन बाटो खुलेको हो । ‘पार्टीको नाम नदोहोरियोस् र कुनै पार्टीको एउटा नाम लिइसकेपछि त्यो नाम अरूले प्रयोग नगरोस् भन्नका लागि एक वर्षको म्याद छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘एकीकरण भएका दलको नाम एक वर्षसम्म कसैले प्रयोग गर्न पाउँदैन, तर एमाले र माओवादी एकीकरण भएको वर्ष दिन नाघिसकेकाले अरूले पनि नेकपा एमाले नामले पार्टी दर्ता गर्न सक्छन् ।’

नेकपा एमालेका पदाधिकारीहरू

१. सन्ध्या तिवारी : अध्यक्ष, विराटनगर–६, मोरङ

२. भगवती खड्का :  उपाध्यक्ष, रामेछाप

३. मनीषकुमार उपाध्याय :  महासचिव, जनकपुर

४. अस्मिता सुनार : सचिव, खोटाङ

५. दावा लामा : सचिव, सर्लाही

६. जयराम राउत :  सचिव, रौतहट

७. खगेन्द्रप्रसाद भुसाल :  सचिव, पर्वत

८. राधा पुरी :  सचिव, अर्घाखाँची

९. हिराबहादुर बोहरा : सचिव, डोल्पा

१०. तारादेवी शाही :  सचिव, बाजुरा

११. पवन विष्ट :  सदस्य, स्युचाटार, काठमाडौं

१२. नीलम पोखरेल : सदस्य, झापा

१३. किरण लामिछाने :  सदस्य, गोठाटार, काठमाडौं

१४. उमेश महतो : सदस्य, सर्लाही

१५. उषाकुमारी झा :  सदस्य, धनुषा

१६. प्रदीपराज गिरी : सदस्य, गोठाटार, काठमाडौं

१७. पूर्णिमा तामाङ :  सदस्य, काभ्रे

१८. निश्चल बस्नेत :  सदस्य, सिराहा

१९. सञ्जीव विष्ट :  सदस्य, गोठाटार, काठमाडौं

२०. विनिता कार्की :  सदस्य, छालिङ, भक्तपुर

२१. विमला विष्ट रोका :  सदस्य, स्युचाटार, काठमाडौं