मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७७ असार १७ बुधबार १९:१५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा सलहको झुन्ड विखण्डन, थपिने सम्भावना कायमै

Read Time : > 3 मिनेट
रासस
२०७७ असार १७ बुधबार १९:१५:००

अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने किरा (सलह) नेपालका धेरै जिल्लामा फैलिसकेको छ । 

झन्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुन्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ । हावाको गतिमा आएको परिवर्तनले गत शनिबार सलह भारतबाट निजगढ हुँदै नेपाल प्रवेश गरेको थियो । सलह आजसम्म ५२ जिल्लामा पुगेको बताइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सलह अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य तथा कीटविज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलह विभाजन हुँदै गएकाले ठूलो क्षति निम्त्याउने खतरा नदेखिएको बताए । उनले भारतबाट नेपालको सीमानजिक अन्य झुन्डहरू आउँदै गरेकाले थप झुन्ड प्रवेश गर्न सक्ने सम्भावना कायमै रहेकोसमेत बताए । सलहलाई फुल पार्नका लागि मरुभूमि नै चाहिने भएकाले नेपालमा बसेर फुल पार्छ भन्ने कुरा सत्य नभएको उनको भनाइ छ । 

‘कि त जहाँबाट आएको छ, त्यहीँ फर्कनुपर्छ, होइन भने मरेर जान्छ, नेपालमा यसले फुल पार्ने सम्भावना न्यून छ’, जोशीले भने । 

कृषि मन्त्रालयका अनुसार सलहले मुलुकका केही जिल्लामा देखिने गरी क्षति पुऱ्याएको छ । बारामा मकै तथा तरकारी बालीमा क्षति पुऱ्याएको छ । हेटौँडामा झन्डै १०० हेक्टरमा नै क्षति पुऱ्याएको विवरण आएको छ । अन्य जिल्लामा पनि क्षति पुऱ्याएको, तर क्षतिको विवरण संकलनको क्रममा रहेको जनाइएको छ । 

प्राप्त विवरणअनुसार यो किरा अफ्रिकी मुलुकमा देखिएको थियो । कीटविज्ञ जोशीले यो किरा त्यहाँको रैथाने भएको बताए । त्यहाँबाट अन्य मुलुकमा फैलिँदै जाँदा नेपालमा पनि आइपुगेको हो । नेपालमा विभिन्न जिल्लामा बालीनालीमा देखिए पनि धेरैजसो सलह जंगलमै रहेको विज्ञले बताएका छन् । 

सलहबारे कृषि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले हेरिरहेको छ । केन्द्रका निर्देशक सहदेवप्रसाद हुमागाईंको नेतृत्वमा अध्ययनका लागि प्राविधिक कार्यदल छ । त्यसले अहिले अध्ययन विश्लेषणको काम गरिरहेको छ । केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले नेपालमा अहिलेसम्म भयावह रूपमा सलह नरहेको बताए । उनले भने, ‘हावाको वेगका कारण केही झुन्ड उछिट्टिएर नेपाल आएको हो, अहिले नेपालमा धेरै विखण्डन भइसक्यो, सानासाना झुन्डमा छ, तर थप प्रवेश गर्ने सम्भावना अझै छ ।’ कृषिविज्ञका अनुसार नेपाल छिरेको सबैभन्दा ठूलो झुन्ड सातदेखि नौ लाखको रहेको अनुमान छ । सुवेदीले घुमिराखेको झुन्डको सङ्ख्या घट्दो क्रममा रहेकोसमेत जानकारी दिए । पहाडी क्षेत्रमा जाँदा झुन्ड टुक्रिएको र केही त्यतै बसेको, केही घुमिरहेको छ । आजको दिन भने दाङ, अर्घाखाँची र प्युठानमा धेरै छ । अन्य जिल्लामा समेत सलह पुगेको छ । 

केन्द्रका अनुसार बुधबार सलहको एक झुन्ड भारतको भागलपुर तथा मोतिहारीमा रहेको र अर्को झुन्ड कुशिनगरबाट चम्पारण जिल्लातर्फ उडेको छ । उक्त सलह दार्जिलिङ र सिलिगुढीसम्म पुग्ने अनुमान गरिएको छ । त्यो सलह नेपालमा प्रवेश गर्ने सम्भावना पनि छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा विगत चार दिनदेखि मनसुन अरेबियन सागरबाट हावा पश्चिम तथा दक्षिण–पश्चिममा प्रभाव रहेकोमा हाल पूर्व तथा दक्षिण–पूर्वी क्षेत्रमा हावाको प्रभाव रहेको छ । यो क्रम तीन दिन नै कायम हुने जनाइएको छ । त्यसकारण भारतीय सीमावर्ती क्षेत्रमा रहेको सलहको झुन्ड हावाको बेगसँगै पूर्वबाट पश्चिमतर्फ आउन सक्ने सम्भावना रहेको छ । तराई, भित्रीमधेस तथा तल्लोपहाडी क्षेत्रमा सजक रहन पनि विज्ञहरूले आग्रह गरेका छन् । 


मंगलबार पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सरेको अनुमान गरिएको छ । सलह फट्याङ्ग्रा प्रजातिको एक झुन्डमा (चारदेखि आठ करोड सङ्ख्यामा) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्न सक्ने किरा हो । यो किराले हरियो वनस्पतिको पातसहित डाँठसमेत खाइदिन्छ । प्रत्येक किराले प्रत्येक दिन आफ्नो तौलबराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पुऱ्याउँछ । यो किरा झुन्माड हुने भएकाले क्षतिको प्रतिशत बढी हुन्छ ।
 
काठमाडौंको सलह नुवाकोट पुग्यो 
शनिबार नेपाल छिरेको सलह सोही दिन बारा, पर्सा, सर्लाही, सिन्धुली र रुपन्देहीमा देखिएको थियो । आइतबार धेरै जिल्लामा फैलिएको सलह मंगलबार काठमाडौंमा समेत देखियो ।

केन्द्रका सूचना अधिकारी सुवेदीले काठमाडौं उपत्यकामा आएको सलह केही यहाँ खसेको र बाँकी झुन्ड भने आज नुवाकोट पुगेको बताए ।  सलहको काठमाडौं आएको हुल सिन्धुली र काभ्रेपलाञ्चोकतिरबाट आएको अनुमान छ । हावाको गतिसँगै जाने भएकाले जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा रही किराकोे सम्बन्धमा कृषि मन्त्रालय र मातहतका निकायले अनुगमन गरिरहेको छ । 

सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएको थियो । नेपालमा पनि सम्भावित प्रवेशलाई दृष्टिगत गर्दै त्यसको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो । कार्यदलले अध्ययन गरी आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार पारिसकेको छ । 

मन्त्रालयले उक्त प्रतिवेदनका आधारमा सबै सम्बद्ध निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ । यसबीचमा विश्व खाद्य तथा कृषि संगठनका विज्ञसँगको परामर्श गरी सलहका सम्बन्धमा प्राविधिक जानकारी लिएर सावधानीका उपायसमेत अवलम्बन गरिएको छ ।  

सलह किराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आकलनलगायतको विषयमा जानकारी लिन संघीय निकाय र प्रदेशअन्तर्गतका प्राविधिकहरू परिचालन गरिएको छ । प्राविधिकको सम्पर्क र समन्वयमा यस किराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई अनुरोध गरेको छ । 

सलह देखिएमा के गर्ने ?
सलह देखिएमा तत्कालै स्थानीय पालिका, प्रहरी र कृषि ज्ञान केन्द्रमा खबर गर्न सरकारले नागरिकलाई अनुरोध गरेको छ । कुनै स्थानबाट सलह उडेको देखेमा कुन दिशामा गइरहेको छ, त्यसको आकारलगायत आवश्यक सूचना सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ । 

कतैबाट सलह आउने सूचना प्राप्त भएमा पनि आवश्यक सावधानी अपनाउने र समुदायलाई जानकारी गराउनसमेत कृषि मन्त्रालयले आग्रह गरेको छ । आफ्नो क्षेत्रमा बस्ने सम्भावना देखिएमा भाँडाकुँडा, बाजागाजा र साइलेन्सर हटाएको मोटरसाइकलको हर्न बजाउने, लाउड स्पिकरमा आवाज दिने, धुँवालगाउने वा कुनै माध्यमबाट बाधा पुऱ्याई झुन्डलाई अन्यत्रै मोड्न सकिने जनाइएको छ । 

नर्सरी तथा करेसाबारीजस्ता साना क्षेत्रमा हुने खेतीमा झुल तथा जाली लगाएर छोपेर पनि जोगाउन सकिने जनाइएको छ । धानखेतमा पानी जम्मा गर्न सकेमा नोक्सानी कम हुनेछ । टनेलभित्रको बालीलाई किरा छेक्न सक्ने गरी बेरेर राख्नसमेत विज्ञहरूले आग्रह गरेका छन् ।